अपडेट 
२०७९ माघ २१, शनिबार १०:१०

मधेश प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार मन्त्रिपरिषद् मा ६ मन्त्री र तीन राज्यमन्त्री थपिएको छ । मधेश भवनमा प्रदेश प्रमुख हरिशंकर मिश्रले ६ मन्त्री र मुख्यमन्त्री सरोज कुमार यादवले तीन राज्यमन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । नेकपा एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ ग्रहण गरेका छन् । एमालेबाट गृह तथा सञ्चार मन्त्रीमा शत्रुधन प्रसाद सिंह, कानून मन्त्रीमा राजकुमार लेखी, महिला बालिकालिका मन्त्रीमा मोहम्मद जयद आलम र गृह तथा सञ्चार राज्यमन्त्रीमा केशव रायले शपथ लिएका छन् ।

यसअघि एमालेबाट सरोज यादवले भौतिक पूर्वाधार तथा विकास मन्त्रीको जिम्मेवारी पाइसकेका छन् । जनता समाजवादी पार्टी (जसपा)बाट दुई मन्त्री र एक राज्यमन्त्रीले शपथ ग्रहण गरेका छन् । जसपाबाट सामाजिक विकास मन्त्रीमा सुरिता साह, खानेपानी तथा उर्जा विकास मन्त्रीमा सिंगासन साह कलवार र सामाजिक विकास राज्यमन्त्रीमा शेख अबुल कलाम मन्त्री बनेका छन् । यसअघि जसपाका संजय यादव अर्थ मन्त्रालयको जिम्मेवारी सम्भालेका छन् । जनमत पार्टीबाट एक मन्त्री र एक राज्यमन्त्रीले शपथ ग्रहण गरेका छन् । संसदीय दलको नेतासमेत रहेका महेशप्रसाद यावदले शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री र भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री पदमा संजय यादवले शपथ लिएका छन् । जनमत पार्टीबाट यसअघि भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रीमा इन्जिनियर वसन्त कुशवाहाले जिम्मेवारी सम्भालिसकेका छन् । शपथ ग्रहण गरेका मन्त्रीहरुको नाम मुख्यमन्त्री यादवले प्रदेश प्रमुख समक्ष मन्त्री पदमा नियुक्त गर्न जिम्मेवारीसहित सिफारिस गरेका थिए ।

संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । मुख्यमन्त्री यादवसँग तीन मन्त्रीले गत पुस २९ गते शपथ ग्रहण गरेका थिए । मधेश प्रदेशमा दश वटा मन्त्रालय छ । जसमध्ये ९ मन्त्रालयको जिम्मेवारी सत्तासाझेदार दलहरुले बाँडफाँट गरिसकेका छन् । अब मुख्यमन्त्री मातहतमा उद्योग पर्यटन तथा वन मन्त्रालय मात्रै बाँकी रहेको छ । केन्द्रीय सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागिता जनाएका छैनन् । सत्ता साझेदार दलहरुबीच भएको छलफलमा आफूले रोजेको मन्त्रालय नपाएपछि असन्तुष्ट बन्दै माओवादी केन्द्र सरकारमा सहभागी नभएको माओवादीका नेताहरुले दाबी गरेका छन् । तर,माओवादी पार्टी भित्र आन्तरिक कलहको कारण सरकारमा सहभागी नभएको स्रोतले जनाएको छ । यद्यपि भरतप्रसाद साहले आफूलगायत एक राज्यमन्त्रीको नाम मुख्यमन्त्री समक्ष पेश गरिसकेको अवस्थामा साहलाई मन्त्री नबनाउन माओवादी केन्द्रको केन्द्रीय समितिबाटै सूचना आएपछि मधेश प्रदेश सरकारमा माओवादी सहभागी नभएको बुझिएको छ ।

Comment


Related News