अपडेट 
२०७९ माघ २२, आईतवार ०७:३८

मधेश प्रदेशसभाले स्थापनाको पाँचौं वार्षिकोत्सवको अवसरमा शनिबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री सरोज कुमार यादवले पूर्णता पाएको सरकारले बुलेटको गतिमा काम अगाडि बढाउने बताएका छन् ।

सभामुख रामचन्द्र मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री यादवले प्रदेश सरकारको काम तीव्र गतिमा अगाडि बढ्ने बताए । यस अघि उनी मधेश प्रदेश सभाको ५ वर्ष सभामुख भएर कामकाज गरेका थिए । उनको सक्रियतामा प्रदेशले पहिचान सहितको मधेश प्रदेश नाम र जनकपुरधाम स्थायी राजधानी घोषणा भएको हो । ‘प्रदेश सरकारले सबै पक्षलाई समेटेर ठोस कार्य योजना बनाउने छ’ उनले भने, प्रदेशको दोस्रो कार्यकालको सरकारले बुलेट ट्रेनको गतिमा काम अगाडि बढाउनेछ । भ्रष्टाचार न्यूनीकरणलाई प्राथमिकतामा राख्दै आगामी सरकारको सकारात्मक कारबाहीलाई निरन्तरता दिने उनले उल्लेख गरे । प्रदेश सरकार विकासको लागि दीर्घकालीन र अल्पकालीन योजना बनाएर काम गर्ने तयारीमा जुटिसकेको मुख्यमन्त्री यादवले बताए । प्रदेश सरकारलाई शुक्रवार पूर्णता दिएका मुख्यमन्त्री यादवले प्रदेशमा भ्रष्टाचार ‘शून्य सहनशीलता’ रहेको दोहो¥याए । सभामुख मण्डलले संघीयतामाथि कुनै खतरा नरहेको बताउँदै यसको विकल्प नभएको बताए ।

प्रदेशसभाको पहिलो कार्यकालमा नीति निर्माण लगायतको काममा महत्वपूर्ण योगदान दिएका सांसदहरुलाई प्रदेश प्रमुख हरिशंकर मिश्र र मुख्यमन्त्री सरोज कुमार यादवले दोसल्ला तथा कदरपत्रले सम्मान गरे । पहिलो कार्यकालको उत्कृष्ट सांसद नेपाली कांग्रेसका शिवचन्द्र चौधरीलाई प्रदेश सभाले सम्मान गरेका छन् । चौधरी भने यस कार्यकालमा सभासद छैनन् । पहिलो कार्यकालको २ सय २८ बैठक मध्ये २ सय ३ बैठकमा उपस्थित रहेका चौधरीले १ सय ४० पटक प्रदेश सभामा आफ्ना धारणा राखेका थिए । प्रदेशसभाको चौथो वर्षको वार्षिकोत्सव हावाहुरीको कारण प्रभावित भएको थियो । चौथाें वर्षको उत्कृष्ट सांसद जनता समाजवादी पार्टी (जसपा) का रामअशिष यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की रानी शर्मा तिवारी भएका थिए ।

पाँच वर्षे कार्यकालमा के–के भयो ?

पहिलो कार्यकालका सांसदहरु ०७४ माघ ७ गते शपथ ग्रहण गरेका थिए । सोही महिनाको २१ गते प्रदेशसभाको पहिलो बैठक बसेर प्रदेशसभाको काम कारबाही सुरु गरिएको थियो । करिब ५ वर्षको कार्यकालमा ९ वटा अधिवेशन सम्पन्न भएको थियो । ती मध्ये २ सय २८ वटा बैठक बसेको थियो । ३ सय ११ घण्टा १८ मिनेट ५६ सेकेण्ड प्रदेशसभा सञ्चालन भएको सचिवालयले जनाएको छ । यस अवधिमा प्रदेशसभाले स्थायी राजधानी तोक्न र प्रदेशको नामकरण गर्न सफल भएकोछ । २ पटक प्रदेशसभामा स्थायी राजधानी र नामकरणको प्रयास भए पनि असफल भएको थियो । त्यसपछि ०७८ माघ ३ गते प्रदेश सभाले २ तिहाई बहुमतले प्रदेशसभाको नाम र राजधानी स्वीकृत गरेको थियो । ८० जना सांसदले मधेश नाम र जनकपुरधाम राजधानीको पक्षमा मतदान गरेका थिए । प्रदेशसभामा ६१ वटा विधेयक दर्ता भएको थियो । दर्ता भएका मध्ये ५५ वटा पारित भइ प्रदेश प्रमुखबाट प्रमाणीकरणसमेत भइसकेका छन् । ६ वटा विधेयक विषयगत समितिमा विचाराधीन रहेका छन् । विषयगत समितिमा विचाराधीन रहेको ६ मध्ये ५ विधेयकको प्रतिवेदन प्रदेशसभामा पेश भइसकेको छ । एउटा विधेयकको प्रतिवेदन बुझाउन बाँकी छ । तर अधिवेशन अन्त्य भएकाले अन्य विधेयकको अन्य काम कारबाही अगाडि बढ्न नसकेको प्रदेश सभाका सचिव रञ्जित यादवले जनाए ।

Comment

Related News