
जानकी मन्दिरको उत्तराधिकारी महन्थ बारे केही समयदेखि चलिरहेको विवादलाई कालीगण्डकी नदीको जुगल शिलाले विराम लगाएको छ ।
भारतको अयोध्यामा भगवान रामललाको प्रतिमा निर्माणका लागि शिला हस्तान्तरण पत्रमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र उत्तराधिकारी महन्थमा रामरोशन दास वैष्णवको नाम उल्लेख रहेको छ । रोशन दासलाई गुठी संस्थानले तोकेको उत्तराधिकारी महन्थप्रति मूल महन्थ रामतपेश्वर दासले आपत्ति जनाउँदै आएका थिए । मन्दिरको महन्थले उत्तराधिकारी तोक्ने परम्परा रहीआएको उनको तर्क थियो । हुनत मन्दिरको उत्तराधिकारी महन्थमा गुठी संस्थानबाट मनोज दास वैष्णवले पनि पत्र पाएको दाबी गरिरहेका छन् । जानकी मन्दिरको उत्तराधिकारी महन्थको विवादलाई शिला हस्तान्तरणसँगै अयोध्यामा बुझाइएको पत्रले मत्थर बनाएको छ ।
अयोध्यामा प्रदान गरिएको पत्रको कारण मनोज दास असन्तुष्ट बनेको बताइएको छ । शिला प्रदानमा राजनीतिक नेताहरुको हालीमुहाली रहे पनि जानकी मन्दिरका महन्थ र उत्तराधिकारी महन्थलाई अप्रत्यक्ष रुपमा जोड्ने काम पनि भएको छ । जानकी मन्दिरमा ‘गुरु चेला’ परम्पराको आधारमा उत्तराधिकारी महन्थको चयन जीवनको अन्तिम समयमा महन्थले नै गर्छन् । उत्तराधिकारी कायम भएका चेलोले महन्थको मृत्युपछि स्वतःमहन्थ हुने चलन छ । यद्यपि गुठी संस्थानले महन्थको नियुक्ति गर्छ ।
जानकी मन्दिर छुट गुठी अन्तरगत रहे पनि गुठी संस्थानले महन्थको नियुक्ति गर्दै आएको छ । गुठी संस्थानले उत्तराधिकारी महन्थको नियुक्ति गरिसकेका रामरोशन दासलाई मन्दिरका मूल महन्थ रामतपेश्वर दास वैष्णवले पनि सोही रुपमा स्वीकार गरेका छन् । गुरु महन्थ रामतपेश्वर दासले मलाई उत्तराधिकारी महन्थ नियुक्त गर्नुभएको र गुठीले पनि नियुक्ति दिएको रामरोशन दासले बताए । ‘उत्तराधिकारी महन्थको विषयमा कुनै मतभेद रहेको छैन्’ रोशन दासले भने, गुरुले मलाई लिखित रुपमा नै उत्तराधिकारी बनाउनु भएकाले यसमा विवाद छैन् । ‘हिन्दूहरुको आस्थाको केन्द्र रहेको जानकी मन्दिरमा महन्थ चयन सम्बन्धमा विवाद हुने गरेको छैन् ’ उनले भने, भगवान रामललाको बाल स्वरुप मूर्ति निर्माणका लागि कालीगण्डकी नदीबाट शिला अयोध्या पठाउन सँगसँगै रहेका थियौं ।
जानकी मन्दिरको महन्थका लागि बालब्रम्हचारी हुनुपर्ने मान्यता छ । मन्दिरको सम्पूर्ण पूजापाठ लगायतका विषयमा पूर्णज्ञान रहेका चेलालाई महन्थले जीवनको उत्तराद्र्धमा उत्तराधिकारी घोषणा गर्ने भए पनि त्यस अगावैदेखि उत्तराधिकारीको रुपमा रोशन दास कामकाज गरिरहेका छन् ।