२०७९ माघ २५, बुधबार ०८:५४

संघीयताको मर्म अनुरुप शासन प्रणाली सञ्चालन नभएको कारण अस्थिरता कायमै रहेको धारणा व्यक्त गरिएको छ ।

नेपाल बौद्धिक प्रतिष्ठानद्वारा मंगलबार जनकपुरधाममा आयोजित संघीयता कार्यान्वयनको पाँच वर्ष,अवस्था विश्लेषण गोष्ठीका सहभागीहरुले सो धारणा व्यक्त गरेका छन् । शासन प्रणालीमा राज्यबाट उपेक्षित वर्गको उत्थानका लागि संघीयताको स्थापना भए पनि अधिकार भने अझै पनि केन्द्रमै सीमित रहेको वक्ताहरुले बताए । प्रदेश र स्थानीयतहमा उपेक्षित वर्गको पहुँच सत्तासम्म पु¥याउनका लागि संघीयताको स्थापना भए पनि कार्यान्वयन पक्ष फितलो भएका कारणले संघीयताको उद्देश्य पूरा हुननसकेको सहभागीहरुले विचार व्यक्त गरे । कार्यक्रममा नीति आयोगका पूर्व उपाध्यक्ष हरिवंश झाले अहिले प्रदेश सरकार भन्दा माथि उठेर सिडियो र एसपीहरुले शासन गरिरहेको छ, सिडियो एसपी समक्ष मुख्यमन्त्रीले गिरगिराउनु परेको विडम्बनापूर्ण अवस्था रहेकोले संघीयतामाथि प्रश्न चिन्ह् लागेको बताए ।

विष्णु कुँवरको अध्यक्षतामा भएको सो कार्यक्रममा सेवा निवृत कर्मचारी काशिकान्त झाले संघीयता आए पछि केन्द्रित शासनबाट पीडित रहेको अवस्थामा केही परिवर्तन आए पनि संघीयता संस्थागत भने हुन नसकेको धारणा राखे । संघीयता समर्थक दलहरुले शिशु अवस्थामा रहेको संघीयतालाई पोषण गर्नुको साटो जसले जहाँ पायो त्यहिँबाट लाभ लिनेतर्फ उद्यत हुँदा संघीयताप्रति सर्वसाधारणमा टीकाटिप्पणी हुने गरेको उनले बताए । कार्यक्रममा पूर्व सचिव कुशेश्वर झाले संघीयता आएपछिको संविधानबाट प्राप्त अधिकारकै कारण १० हजार भन्दा बढी मधेशीलगायतका पिछडिएका वर्गबाट नेपाल सरकारमा जागिरे भएको सकारात्मक परिणाम समेत देखिएको बताए । उनले केही सकारात्मक कार्यहरु भएको र संघीयता अपरिहार्य रहेको बताउँदै दलित,जनजातिलगायतका वर्गहरुको जबसम्म सत्ता शासनमा पहुँच हुँदैन तबसम्म संघीयताको अनुभूति गर्न नसकिने प्रस्ट गरे ।

कार्यक्रममा महिला नेतृ विभा ठाकुरले सयौं व्यक्तिको संघर्ष र दर्जनौ व्यक्तिको शहादतले प्राप्त संघीयतालाई जीवन्त राख्नु आवश्यक छ बताइन् । कार्यक्रममा प्राध्यापक कमलेश्वर ठाकुर,वीरेन्द्र लाल कर्ण,कुशेश्वर झा,प्राध्यापक शम्भुनाथ झा,गीतारानी झा,किरण कुमारी साह,अधिवक्ता रेखा झा ,प्राध्यापक कञ्चन झा ,समाजसेवी अरविन्द साहलगायतका वक्ताहरुले आ– आफ्नो मन्तव्य राखेका थिए

Comment


Related News

Latest News

Trending News