अपडेट 
२०७९ माघ २५, बुधबार ०८:५४

संघीयताको मर्म अनुरुप शासन प्रणाली सञ्चालन नभएको कारण अस्थिरता कायमै रहेको धारणा व्यक्त गरिएको छ ।

नेपाल बौद्धिक प्रतिष्ठानद्वारा मंगलबार जनकपुरधाममा आयोजित संघीयता कार्यान्वयनको पाँच वर्ष,अवस्था विश्लेषण गोष्ठीका सहभागीहरुले सो धारणा व्यक्त गरेका छन् । शासन प्रणालीमा राज्यबाट उपेक्षित वर्गको उत्थानका लागि संघीयताको स्थापना भए पनि अधिकार भने अझै पनि केन्द्रमै सीमित रहेको वक्ताहरुले बताए । प्रदेश र स्थानीयतहमा उपेक्षित वर्गको पहुँच सत्तासम्म पु¥याउनका लागि संघीयताको स्थापना भए पनि कार्यान्वयन पक्ष फितलो भएका कारणले संघीयताको उद्देश्य पूरा हुननसकेको सहभागीहरुले विचार व्यक्त गरे । कार्यक्रममा नीति आयोगका पूर्व उपाध्यक्ष हरिवंश झाले अहिले प्रदेश सरकार भन्दा माथि उठेर सिडियो र एसपीहरुले शासन गरिरहेको छ, सिडियो एसपी समक्ष मुख्यमन्त्रीले गिरगिराउनु परेको विडम्बनापूर्ण अवस्था रहेकोले संघीयतामाथि प्रश्न चिन्ह् लागेको बताए ।

विष्णु कुँवरको अध्यक्षतामा भएको सो कार्यक्रममा सेवा निवृत कर्मचारी काशिकान्त झाले संघीयता आए पछि केन्द्रित शासनबाट पीडित रहेको अवस्थामा केही परिवर्तन आए पनि संघीयता संस्थागत भने हुन नसकेको धारणा राखे । संघीयता समर्थक दलहरुले शिशु अवस्थामा रहेको संघीयतालाई पोषण गर्नुको साटो जसले जहाँ पायो त्यहिँबाट लाभ लिनेतर्फ उद्यत हुँदा संघीयताप्रति सर्वसाधारणमा टीकाटिप्पणी हुने गरेको उनले बताए । कार्यक्रममा पूर्व सचिव कुशेश्वर झाले संघीयता आएपछिको संविधानबाट प्राप्त अधिकारकै कारण १० हजार भन्दा बढी मधेशीलगायतका पिछडिएका वर्गबाट नेपाल सरकारमा जागिरे भएको सकारात्मक परिणाम समेत देखिएको बताए । उनले केही सकारात्मक कार्यहरु भएको र संघीयता अपरिहार्य रहेको बताउँदै दलित,जनजातिलगायतका वर्गहरुको जबसम्म सत्ता शासनमा पहुँच हुँदैन तबसम्म संघीयताको अनुभूति गर्न नसकिने प्रस्ट गरे ।

कार्यक्रममा महिला नेतृ विभा ठाकुरले सयौं व्यक्तिको संघर्ष र दर्जनौ व्यक्तिको शहादतले प्राप्त संघीयतालाई जीवन्त राख्नु आवश्यक छ बताइन् । कार्यक्रममा प्राध्यापक कमलेश्वर ठाकुर,वीरेन्द्र लाल कर्ण,कुशेश्वर झा,प्राध्यापक शम्भुनाथ झा,गीतारानी झा,किरण कुमारी साह,अधिवक्ता रेखा झा ,प्राध्यापक कञ्चन झा ,समाजसेवी अरविन्द साहलगायतका वक्ताहरुले आ– आफ्नो मन्तव्य राखेका थिए

Comment

Related News