
धार्मिक तथा सामाजिक सद्भाव खलबल्याउने किसिमका गतिविधि हुन नदिन विभिन्न धर्मका गुरुहरूबीच सद् भाव बैठक सम्पन्न भएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको कार्यकक्षमा विभिन्न धर्मका गुरु तथा संघसंस्था एवं सुरक्षा निकायको सहभागितामा भएको बैठकबाट सद्भाव बिग्रिन नदिनका लागि राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक दीपक खड्काको संयोजकत्वमा टास्क फोर्स गठन गर्ने निर्णय गरिएको छ । विभिन्न चाडपर्व तथा अवसरमा सामाजिक सद्भाव बिगार्ने तत्व सक्रिय हुने भएकाले त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा सूचना संकलनदेखि प्रभावकारी नियन्त्रणका लागि सो टास्क फोर्सले काम गर्ने छ । केही महिना अगाडि महोत्तरीको बगडामा भएको घटनाको विषयमा पनि समीक्षा पनि बैठकमा गरिएको थियो । बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी, नेपाली सेनाका प्रमुख सेनानी सुरेश देवकोटा, प्रहरी उपरीक्षक विश्वराज खड्का, सशस्त्र प्रहरी उपरीक्षक दिनेश मल्ल, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक दीपक खड्कालगायतले सामाजिक सद्भाव कायम राख्न सबैको सहयोग र साथ आवश्यक भएको बताएका थिए ।