अपडेट 
२०७९ माघ २६, बिहीबार ०७:५५

भैंसी चोरेको आरोपमा पक्राउ परेका एक जनालाई छुटाउन आएका केही भारतीयहरुले गोली चलाउँदा एक जना नेपाली घाइते भएका छन् ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका—१३ गोबरगाढामा बुधबार साँझ भारतीयहरु प्रवेश गरी गोली प्रहार गर्दा सो नगरपालिकाका महेन्द्र पासवान घाइते भएका छन् । उनको घुँडामा गोलीको छर्रा लागेको छ । भैंसी चोरी गरेको आरोपमा गोबरगाढाका स्थानीयवासीहरुले भारतीय नागरिक मोहम्मद जावेदलाई नियन्त्रणमा लिएको जनाइएको छ । जावेदलाई छुटाउन २५– ३० जनाको समूहमा आएका भारतीय नागरिकले ५/६ राउण्ड गोली फायरिङ गरेको स्थानीयबासीले बताए । सो बस्तीका गाईभैंसी चोरी गरी भारततर्फ लैजाने गरेकोमा पछिल्लो समय स्थानीय बिन्देश्वर रामको भैँसी चोरी भएको घटनामा स्थानीय वासिन्दाहरुले मोहम्मद जावेद भन्ने भारतीय नागरिकलाई नियन्त्रणमा लिइ गोबरगाढामा राखेका थिए । वडा अध्यक्ष कुशेश्वर यादवका अनुसार ती भारतीय नागरिकलाई छुटाउन २५–३० जनाको समूहमा आएका भारतीय नागरिकहरुले बस्तीमा फायरिङ गर्दै केही स्थानीयवासीलाई कुटपिटसमेत गरेका छन् । बन्दुक र घरेलु हातहतियारसहित आएका भारतीय नागरिकहरुले भैँसी चोरेको आरोपमा गोबरगाढावासीले नियन्त्रणमा राखेका व्यक्तिलाई जबर जस्ती छुटाएर लैजान सफल भएको वडाध्यक्ष यादवले जानकारी दिए ।

सशस्त्र प्रहरी बल गण नम्बर ६ राजविराजका गणपति सशस्त्र प्रहरी उपरीक्षक तीर्थराज पौडेलका अनुसार गोबरगाढामा भारतीयहरु आएर गोली प्रहार गरेको सूचना आएपछि त्यसतर्फ नेपाल तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

Comment

Related News