अपडेट 
२०७९ माघ २६, बिहीबार ०८:०३

मधेश कृषि विश्वविद्यालयका कर्मचारीहरुलाई पूर्व सामाजिक विकास मन्त्री नवलकिशोर साहले घरायसी काममा लगाएका छन् ।

पूर्व मन्त्री साहको सप्तरी जिल्ला हनुमाननगर कंकालनी नगरपालिकामा रहेको निजी निवासमा घरायसी काम गर्ने महिला, पुरुषहरुको तलब मधेश कृषि विश्वविद्यालयबाट भुक्तानी हुने गरेको छ । महेश कुमार यादवकी पत्नी र केशव सरबरिया, एकजना ठाकुर थर लगायतका मानिसहरु साहको निजी निवासमा घरेलु कामदार रहेका छन् । तर विश्वविद्यालयले उनीहरुलाई कार्यालय सहयोगीको तलब उपलब्ध गराउँदै आएको छ ।

विश्वविद्यालयका लेखा अधिकृत वीरेन्द्र साहले कार्यालय सहयोगी कर्मचारीहरुको तलब विश्वविद्यालयले दिने गरेको स्वीकारेका छन् । सरबरीयालाई हाल हटाइएको उनले बताए । विश्वविद्यालयले कर्मचारी भर्ना गर्न सकेको छैन् । लेखा अधिकृत साह जनस्वास्थ्य कार्यालयका कर्मचारी हुन् । विश्वविद्यालयको थप जिम्मेवारीमा उनी कार्यरत रहेका छन् । विश्वविद्यालय प्रशासनले घरेलु कामदारलाई तलब दिन नसक्ने बताए पनि दबाब दिएर भुक्तानी गर्न लगाइएको स्रोतले जनाएका छन् ।

विश्वविद्यालयको पठनपाठन अझै प्रारम्भ भइसकेको छैन् । कामगर्न आवश्यक कार्यविधि समेत तयारीको क्रममा रहेको छ । कक्षा सञ्चालन लगायत कयौं कार्यविधि बनाउन बाँकी नै रहेको बताइएको छ । पूर्व मन्त्री पुत्र सुमित साहले सामाजिक विकास मन्त्रालयको बा.१ झ २४१५ नम्बरको टाटा सुमो, मधेश प्रदेश ००१ झ ००१९९ नम्बरको कार र एउटा जिप निजी प्रयोगमा राखेका छन् । गत मंसिर महिनामा नै मन्त्रीबाट राजीनामा गरेका पूर्व सामाजिक विकास मन्त्री साहका छोराले भने अझै सरकारी गाडी फिर्ता गरेका छैनन् । हनुमाननगर कंकालिनी नगरपालिकाका पूर्व मेयर समेत रहेका मन्त्री साहका कान्छा पुत्र शैलेश साहले प्रयोग गर्ने निजी चालकको तलब समेत कृषि विश्वविद्यालयले उपलब्ध गराइ रहेको छ । मन्त्रालय स्रोतका अनुसार गाडी फिर्ता गर्न पटक–पटक मौखिक ताकेता गर्दा पनि फिर्ता गरिएको छैन् । यस सम्बन्धमा मन्त्रीका पुत्र साहसित सम्पर्क गर्न गरिएको प्रयास सफल हुन सकेन् । सामाजिक विकास मन्त्री रहेका नवलकिशोर साह प्रतिनिधिसभामा निर्वाचित भएपछि उनले मन्त्री पदबाट राजीनामा गरेका थिए । आवास उनले खाली गरे पनि अन्य सुविधाहरु अझै प्रयोग गरिरहेका छन् । स्वास्थ्य र शिक्षातर्फ सुमित साहले हालीमुहाली चलाइरहेकै छन् ।

कृषि विश्वविद्यालय कक्षा सञ्चालन गर्ने क्रममा रहेको छ । आफ्नो भवन समेत नरहेको विश्वविद्यालयमा पूर्व मन्त्री साहले अनुचित लाभ लिइरहेको खुलासा भएको छ । पूर्व मन्त्री साहका छोरा सुमित साहले भवन निर्माण र ल्याबका लागि खरिद गर्ने उपकरणहरुको १ अर्ब ४९ करोडको ठेक्कामा चलखेल गर्न थालेका छन् । पिता मन्त्री रहेका बेला उनले सामाजिक विकास मन्त्रालयमा ठेक्का सेटिंग गरे जस्तै विश्वविद्यालयमा पनि सेटिंग गर्न उपकुलपति लगायतका पदाधिकारी र कर्मचारीहरुमाथि दबाब दिन थालेको बताइन्छ । साहको अनधिकृत हस्तक्षेपले विश्वविद्यालयका पदाधिकारी त्रसित छन् । प्रदेशको स्वास्थ्यमा करारमा भर्ना भएका चिकित्साकर्मी, स्वास्थ्यकर्मीसित रकम असुल गरिएको आरोप साहमाथि लाग्दै आएको छ । जनता समाजवादी पार्टी(जसपा)का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशको शिक्षा र स्वास्थ्यमा सुधार गर्न विशेष पहल गरेर सप्तरीको राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना, नर्सिंग कलेज लगायतका शिक्षण संस्था स्थापना गर्ने प्रक्रिया अगाडि बढेको छ ।

Comment


Related News