अपडेट 
२०७९ माघ २६, बिहीबार ०८:३०

सर्लाही जिल्लाबाट दैनिक करोडो रुपैयाँ बराबरको अवैध सुर्तीजन्य पदार्थ भारतबाट नेपाल भित्रिने गरेको छ । भन्सार छलेर दैनिक रुपमा करोडो रुपैयाँ बराबरको पानपराग, रजनीगन्धा, तुलसी, काँचो सुर्ती तथा विभिन्न ब्राण्डका गुटखा एवम् पान मसालाहरु खुला सीमानाकाहरुबाट चोरीपैठारी गरी नेपाल भित्रिने गरेको स्थानीयहरु बताउँछन् । जिल्लामा रहेका पान पसल, किराना पसलहरुमा पाइने सुर्तीजन्य पदार्थ गुटखा तथा पान मसालाहरुको जिल्लामा कुनै फैक्ट्री छैन । अधिकांश गुटखा तथा पान मसालाहरु भारतबाट नेपाल भित्रिने गरेको छ । सुर्तीजन्य पदार्थबाट बनेको गुटखा तथा पानमसालाहरु सेवन गरेर नेपालमा मृत्यु हुनेको संख्या बढी रहेको तथ्यांकहरु देखाउछन् । सुर्तीजन्य पदार्थको सेवनका कारण हरेक वर्ष २७ हजार भन्दा बढीको मृत्यु हुने गरेको तथ्यांकहरुमा स्पष्ट देखिएको छ ।

भारतबाट भन्सार छलेर ल्याएका गुटखा र सुर्तीजन्य पदार्थको सर्लाही लगायत सदरमुकाम मलंगवामा ठूल–ठूलो गोदाममा राख्ने गरिन्छ । जिल्लामा भित्रिएका यस्ता गुटखाहरुलाई नेपालभरिमा पठाउने काम हुने गरेको उद्योग वाणिज्य संघ मलंगवाका महासचिव संजय यादव (सुजय) ले बताए । महासचिव यादवका अनुसार दैनिक रुपमा भित्र्निे यस्ता गुटखा तथा सुर्तीजन्यले गर्दा नेपाली नागरिकको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ, त्यही दैनिक रुपमा ५० लाख भन्दा बढिको राजस्व छल्ने काम समेत भइरहेको उनी बताउँछन् । भारतबाट नेपाल भित्र्निे यस्ता अवैध गुटखा तथा सुर्तीजन्य पदार्थलाई पूर्ण रुपमा प्रतिवन्ध लगाउनु पर्ने महासचिव यादवले जोड दिए । स्थानीय प्रशासनलाई सबै कुरा थाहा हुँदा पनि भारतीय अवैध सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न कुनै प्रकारको पहल नगरिएको नागरिक समाजका अगुवा उग्रकान्त झाको आरोप छ । राज्यलाई प्रत्यक्ष रुपमा मासिक अर्बै रुपैयाँको राजस्व घाटा भइरहेको छ भने नेपाली जनता भारतीय सुर्तीजन्य पदार्थ सेवन गरेर अकाल मृत्युको मुखमा पुग्ने गरेको उनको भनाइ छ । उनले भने–‘स्थानीय सरकार तथा प्रशासनले यसप्रति ठोस कदम उठाउनु पर्ने देखिन्छ ।’ भारतीय अवैध सुर्तीजन्य पदार्थ गुटखा तथा पान मसालाहरुको सर्लाही जिल्ला ट्रान्जिट प्वाईन्ट बनेको छ । यस्ता अवैध सुर्तीजन्य पदार्थलाई तुरुन्तै नियन्त्रण नगरे सर्लाही जिल्लामा मात्र नभइ नेपालभरिनै यसले ठूलो क्षति गर्ने जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल सिंहले बताए । उनले भारतमा उत्पादन हुने गुटखा तथा सुर्तीजन्य पदार्थको ठूलो बजार नेपाल बन्दै गएको छ । भारत सरकारले गुटखा तथा सुर्ती माथि कडा प्रतिबन्ध लगाएपछि यसको ठूलो बजार नेपाल बनेको छ । खासगरी मधेश प्रदेशका जिल्लाहरुबाट दैनिक ठूलो परिमाणमा गुटखा तथा सुर्तीजन्य पदार्थ नेपाल भित्र्निे गरेको छ । यसलाई पूर्ण रुपमा प्रतिबन्ध लगाउनु पर्ने प्रमुख सिंहको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News