अपडेट 
२०७९ माघ २६, बिहीबार १८:१०

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त हुनुभएको छ । प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि रावल नियुक्त भएको ३० दिनमै पदमुक्त हुनुभएको हो ।

आज बिहीवारको प्रदेश सभामा विश्वासको मतलाई सभामुखले निर्णयार्थ पेस गरेकोमा रावलले बहुमत सांसदको समर्थन नपाएसँगै सरकार ३० दिनमै ढलेको हो । यसअघि गएको पुस २७ गते नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राप्रपा र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा रावल मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

तर पहिले समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग पूरा नभएको भन्दै अहिले साथ नदिएपछि एमालेको तर्फबाट मुख्यमन्त्री बन्नुभएका रावल पदमुक्त हुनुभएको हो । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइलाई बटमलाइन बनाएर अरू माग पनि राख्दै आएको थियो । माग पूरा नहुँदासम्म सरकारलाई विश्वासको मत नदिने अडान लिएको नागरिक उन्मुक्ति पार्टीले अडान नछाड्दा सरकार ढलेको हो ।

नागरिक उन्मुक्ति पार्टीको समर्थन जुटाउन केन्द्रबाटै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहल गरे पनि सफल हुनुभएन । यसअघि हिजो बुधवार नै विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजेलाई बोलाइएको बैठक आज १ बजेसम्मका लागि सरेको थियो तर त्यस बेलासम्म पनि रावलले विश्वासको मत जुटाउन नसकेपछि बैठक ४ बजेलाई सारिएको थियाे ।

Comment


Related News