अपडेट 
२०७९ माघ २७, शुक्रबार ०७:३९

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधामका कर्मचारीहरु लापरबाहीका कारण सेवाग्राहीहरु समस्या भोग्न बाध्य बनेका छन् ।

अस्पतालको सोधपुछ शाखा, निःशुल्क औषधि वितरण शाखासहितका शाखाका कर्मचारीहरु उपस्थित नहुँदा सेवाग्राहीहरु समस्या भोग्न बाध्य बनेका छन् । अस्पतालको सोधपुछ शाखाका कर्मचारीले कामै नगरी तलब लिने गरेको आरोप अस्पतालकै एक कर्मचारीले लगाए । अस्पतालबारे कुनै जानकारी लिनका लागि सोधपुछ शाखा अत्यन्त महत्वपूर्ण मानिएको भए पनि सो शाखा जत्ति खेर पनि कर्मचारीविहीन देखिने गरेको गुनासो एक कुरुवा रामदेव यादवले पोखे । उनले भने,‘ म करिब आधाघण्टा भन्दा बढी समयदेखि शाखा नजिक बसेको छु तर मैले कुनै कर्मचारीलाई देखिन,को संग सोध्ने ? अन्य कर्मचारीहरुसंग सोध्दा सोधपुछमा गएर सोध्नुस भन्ने जवाफ आउने गरेको छ ।’ विगत सात दिनदेखि अस्पतालमा कुरुवा भएर बस्दै आएका महोत्तरी मटिहानीका रामेश्वर साहले पनि सोधपुछ शाखामा पटक–पटक आउँदा कुनै कर्मचारी नभेटेर फिर्ता जानु परेको बताए । उनले जुनसुकै बेला पनि कर्मचारी नभेट्नु लापरबाही रहेको र सो बेथितिलाई हेर्ने कोही पनि नरहनु दुर्भाग्यपूर्ण रहेको बताए । सोधपुछ शाखाका जिम्मेवारी पाएकी बबिता यादवसंग सम्पर्क गर्न खोज्दा उनीसंग सम्पर्क हुन सकेन । यसबारे अस्पतालका उप–निर्देशक डा.कृष्णदेव दासले सोधपुछ शाखाको कर्मचारीको लापरबाहीबारे कसैले कुनै गुनासो नै नगरेको र कसैले गुनासो गरे कारबाही गर्ने प्रतिक्रिया दिए । कुनै पनि संस्थाको प्रारम्भिक जानकारीको लागि आउने सर्वसाधारणहरुलाई सजिलोका लागि सोधपुछ शाखा स्थापना गरिएको र त्यही शाखामै कर्मचारीहरुले लापरवाही गर्नु पक्कै पनि क्षमा योग्य नहुने बताए ।

त्यसैगरी निःशुल्क औषधि वितरण शाखामा दुई जना कर्मचारी रहेपनि एक जना मात्रै उपस्थित हुने गरेका छन् । शाखामा विभा कर्ण र मनोज सिंह रहेका छन् तर मनोज कार्यालयमा हाजिर भएर आफ्नो काममा व्यस्त हुने गरेका छन् । औषधि लिन बिहीबार शाखामा पुगेका बिरामीका कुरुवा राजकिशोर झाले घण्टौ कुर्नु परेको गुनासो गरे । यता, परिचारिका कर्णले एक्लै भएकोले कुनै कुनै बेला शौचालय लगायतको आकस्मिक कामले बाहिर निस्कनु पर्दा केही बेर सम्म सेवाग्राहीहरुलाई सास्ती खेप्नु परेको स्वीकारिन् । १० बजेदेखि ५ बजे सम्म कार्यालयमा दुबै कर्मचारी अनिवार्य बस्नु पर्ने भए पनि एक जना महिला कर्मचारी मात्रै देखिने गरेको स्रोतले जनाएको छ । त्यति मात्र नभइ औषधि वितरण शाखामा कर्मचारीहरुकै लापरवाहीको कारण बिरामीहरुलाई म्याद गुज्रेको औषधि समेत वितरण हुने गरेको गुनासो पटक–पटक सुनिएको छ ।

Comment


Related News

Latest News

Trending News