अपडेट 
२०७९ माघ २७, शुक्रबार ०७:५६

मधेश प्रदेश सरकारको शिक्षा विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादवले मधेश प्रदेशलाई पूर्ण साक्षर प्रदेश बनाउन प्रदेश सरकारले अभियान सुरु गर्न लागेको बताएका छन् ।

राजविराज नगरपालिका ६ स्थित श्री आधारभूत विद्यालय थानगाछीको विहीबार स्वर्ण जयन्ती तथा शिक्षक विदाई समारोह कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका छन् । उनले मधेश प्रदेश अशिक्षित प्रदेशको रुपमा परिचित रहेकाले यसलाई पूर्ण साक्षर प्रदेश बनाउन अभियान चलाउन लागेको जानकारी दिए । सरकारको बजेटको ठूलो खर्च भइरहेको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अस्तव्यस्त रहेकाले आवश्यक नीति बनाएर व्यवस्थित गर्ने कार्य अधि बढाएको उल्लेख गर्दै उनले शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्न आवश्यक प्रविधिको विकास गर्न लागिएको बताए । आफ्ना विद्यार्थीहरुलाई नियमित विद्यालय पठाउन अभिभावकहरुलाई आग्रह गर्दै मन्त्री यादवले अब अभियान अन्तर्गत आफ्नो विद्यार्थी पढिरहेको छ वा छैन्, गुणस्तरीय शिक्षा पाइरहेको छ वा छैन् त्यसबारे पनि क्रसचेक समेत गर्न सुझाव दिए ।

विद्यालयहरुको भौतिक संरचनासँगै सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रदेश सरकार तयार रहेको उनको भनाई छ । थानगाछी विद्यालयसम्म पुग्ने बाटो बनाउन तत्काल आफ्नो संसदीय कोषबाट बजेट उपलब्ध गराउने, विद्यालयमा फर्निचर र भौतिक संरचना निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे । राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत प्रवीणले नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको बताइन । नगर क्षेत्रको शैक्षिक अवस्था खस्किदै गएको बताउदै उनले भनिन–‘शैक्षिक गुणस्तरीयता ल्याउन सबै पक्षको सहयोग र सहकार्य आवश्यक छ ।’ शिक्षामा राजनीति गर्न नहुने तर्क गर्दै उनले शिक्षा क्षेत्रको समस्यालाई हल गर्न नगरपालिकाले श्रोत साधानले भ्याए सम्म सहयोग गर्ने बताइन । कार्यक्रममा विद्यालयका प्राधानाध्यपक भोला प्रसाद साहले विद्यालयमा भौतिक पूर्वाधारको अभावका बीच शिक्षण सिकाइ गर्दै जीर्ण रहेको विद्यालय भवनको पुर्ननिर्माण तथा फर्निचरको व्यवस्थापनका लागि सहयोग गर्न प्रदेश सरकारसँग आग्रह गरे । उनले विद्यालय खानेपानीको समस्या झेल्दै आएको जानकारी दिँदै विद्यालयमा छात्राहरुको लागि सेनेटरीप्याड र प्रविधिमैत्री शिक्षाका लागि आवश्यक सामग्री उपलब्ध गराइदिन आग्रह गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम नारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व प्रदेश सभासदस्य नेत्र विक्रम साह, वडा अध्यक्ष शशि चौधरी, शिक्षक अभिभावक संघका राधेश्याम साह, पूर्व शिक्षक सुरेन्द्र चौधरी, स्थानीय सत्रुधन साह, शिक्षक फुलचन्द्र साह, एन प्याब्सन सप्तरीका अध्यक्ष नरेश प्रताप साह, अभिभावक रामकुमार साह, राजविराज नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत निरञ्जन कुमार यादव लगायतले शैक्षिक गुणस्तरका लागि शिक्षक, अभिभावक लगायत सबै सरकोकारवाला मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए । सो अवसरमा अनिवार्य अवकाश प्राप्त गरेका शिक्षिका जया कुमारी दासलाई दोसल्ला ओढाएर मन्त्री यादवले सम्मान गरेका थिए । २०२९ सालमा स्थापित श्री आधार भूत विद्यालय थानगाछीमा हाल ४५० जना विद्यार्थीहरु अध्ययनरत छन् ।

Comment

Related News