अपडेट 
२०७९ माघ २८, शनिबार ०८:३४

जनकपुरधाम उप–महानगरपालिका–८ दशरथनगरमा पार्किंग स्थलको शिलान्यास गरिएको छ ।

शुक्रबार उप– महानगरपालिकाका नगर प्रमुख मनोजकुमार साह तथा उपप्रमुख किशोरी साहले संयुक्त रुपमा पार्किङ्ग स्थलको शिलान्यास गरेका छन् । उप–महानगरपालिकाको ६० लाखको लागतमा वडा नम्बर– ८ को दशरथ मन्दिर नजिक रहेको करिब १२ कठ्ठा जग्गामा पार्किंग स्थल निर्माण हुने भएको छ । सो जग्गा गुठीको १२ कठ्ठा जग्गा लिजमा लिएर सवारी पार्किङ् स्थल निर्माणकार्य अघि बढाइएको छ । व्यवस्थित पार्किंग स्थलको अभावमा जनकपुरधाम नगरक्षेत्रमा जथाभाबी रुपमा सवारी पार्किंग हुने गर्दा नगर क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यस्त हुने गरेको छ । पार्किंग स्थल निर्माण भएपछि थोरै भए पनि नगर क्षेत्रको सडक तथा ट्राफिक व्यवस्थापनमा सहजता हुने विश्वास गरिएको छ । नगर क्षेत्रका मुख्य सडकदेखि मुख्य बजार क्षेत्रका सडकमा अव्यवस्थित सवारीसाधन पार्किङ्ग गर्नुका कारण नगर क्षेत्र नै कुरुप देखिन थालेपछि तत्काल समस्या समाधानका लागि पार्किंग स्थल निर्माण थालिएको छ। उपमहानगरपालिकाले सडक पेटीमा पसल थापेर व्यापार गर्दै आएका साना व्यापारीहरुको पसल हटाए पनि सडकपेटी र सडक छेउ अहिले सवारीसाधन पार्किङ्ग स्थल बनेको देखिन्छ ।

Comment


Related News