अपडेट 
२०७९ माघ २८, शनिबार ०८:३७

धनुषामा पछिल्लो नौ महिनामा बिना इजाजत वन पैदावार ओसार– पोसार गर्ने सात जनामाथि मुद्दा दर्ता गरिएको छ । डिभिजन वन कार्यालयका अनुसार अवैधरूपमा काठ ओसार–पोसारको आरोपमा आर्थिक वर्ष २०७९/०८० को पुस महिनाको २५ गतेसम्म सात वटा मुद्दामा २ सय ६१ क्युविक फिट काठसहित आरोपिलाई पक्राउ गरी कारबाही अगाडि बढाइएको छ ।

बिना इजाजत निजी आवादीको वन पैदावर ओसार– पोसार,अवैध रुपमा वन पैदावर ओसार–पोसार गरेको सात वटा घटनामा मुद्दा दर्ता गरिएको कार्यालयका सूचना अधिकारी अजय कुमार मिश्रले जानकारी दिए । अवैध ओसार–पोसार गर्दै गरेको अवस्थामा जिल्लाको सबैलाबाट बिना इजाजत निजी वन पैदावरको १७ थान मसाला र सिसौंको गोलिया,पुष्पलपुरबाट अवैध वन पैदावर एक थान सालको गोलिया,पोर्ताहाबाट अवैध वन पैदावर सालको दुई वटा गोलिया सम्बन्धित ईलाका प्रहरी कार्यालयले पक्राउ गरी वन कार्यालयमा बुझाएको छ भने सब डिभिजन वन कार्यालयका अधिकृत रामयुगल साहको नेतृत्वमा खटेको टोलीले सःमिलको पछाडि लुकाएर राखिएको १० थान गोलिया पक्राउ गरेको छ । त्यसैगरी वन अधिकृत मिश्रको नेतृत्वमा गएको टोलीले बिना इजाजत वन पैदावर ओसार–पोसार गरेको भन्दै पोर्ताहाबाटै ५ थान मसालाको गोलिया पक्राउ गरेको छ । ती मुद्दाहरुमा एउटा काँधभरिया तथा अन्य ट्रयाक्टरसहित काठसमेत बरामद गरिएको छ ।

यता मधेश प्रदेशभरिमा भने अवैध काठ चोरी पैठारीमा चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा २ सय ९६ वटा मुद्दा दर्ता गरिएको छ । वन ऐन अनुसार एउटा पालिकाबाट अर्को पालिकामा आफ्नो निजी वन पैदावर ओसार–पोसार गर्न सम्बन्धित वन कार्यालयबाट इजाजत लिनुपर्ने व्यवस्था गरिएको छ । सो नगरिएको फेला परेमा वन ऐन अनुसार नियन्त्रणमा लिइएको सामान जफत गर्नुका साथै बिगो अनुसारको सजाय हुने व्यवस्था रहेको बुझिएको छ ।

Comment

Related News