अपडेट 
२०७९ माघ २८, शनिबार ०८:४०

रौतहटको गौरमा स्थानीय व्यपारीहरुले प्रहरी प्रशासनले ज्यादती गरेको भन्दै दोस्रो दिन पसल बन्द गरेर विरोध जनाएका छन । भारतबाट खाद्यान्न सामग्री ल्याएर बिक्री वितरण गर्ने गरेको भन्दै स्थानीय प्रहरीले लगातार पसलहरुमा छापामारी गर्न थालेपछि गौरको व्यपारीहरुले प्रहरी प्रशासन विरुद्ध आन्दोलित भएका छन् । रौतहट उद्योग वाणिज्य संघको नेतृत्वमा बजार बन्द गरिएको छ ।

प्रहरीको ज्यादती बन्द गर , मुख्य नाका तथा चोर बाटो भएर हुँदै गरेको तस्करी नियन्त्रण गर लगायतका माग गर्दै संघले बाजार बन्दको घोषणा गरेको थियो । जिल्ला भन्सार कार्यालय भएर दिनहुँ हुने गरेको तस्करी नियन्त्रण गर्न नसक्ने प्रहरी प्रशसनले खरिद गरी ल्याएको खाद्य सामग्री चामल ,दाल ,आटा , गहँुको छापामारी गरी व्यापारीलाई मानसिक तनाव दिने गरेको आरोप व्यवसायीहरुको छ । आन्दोलनका कारण गौरमा सञ्चालित किराना पसल ,कपड़ा पसल , हार्डवेयरको पसल , पानपसल पूर्ण रुपमा बन्द रहेको छ । औषधि पसल र होटल खुल्ला भए पनि बजार बन्दका कारण सर्वसाधारणको चहल पहल न्यून देखिएको थियो ।

गत १७ गते गौर नगरपालिका–५ मा सञ्चालनमा रहेको फुलतारा डेरी उद्योगका संचालकले दूध ,दही ,घ्यू ,मिठाई ,केक मा अखाद्य वस्तु मिसावट गरी बिक्री वितरण गरिरहेको सूचनाको आधारमा प्रहरीले छापामारी गरेर ठूलो मात्रामा सडेको तथा किरा लागेको अवस्थामा ड्राममा राखिएको केमिकल बरामद गरेको थियो । बोसो र केमिकल बरामद भएको हल्ला चले पनि बरामद भएको अखाद्य वस्तुको खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय मलंगवा सर्लाहीले नमुना परीक्षण गरी पठाएको प्रतिवेदन रौतहट प्रहरीले सार्वजानिक नगरी अन्य पसल तथा गोदाममा छापामारी गर्ने कार्य गरेकोमा व्यापारीहरु प्रहरीको क्रियाकलापप्रति आक्रोशित भएका छन् । डेरी संचालकसहित पक्राउ परेका ४ जनालाई जोगाउनका लागि आर्थिक चलखेल गरिरहेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीर बहादुर बुढामगरको सरुवा गर्नुपर्ने मागसमेत गरिएको छ । रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पंडित प्रसाद जयसवालले प्रहरीको कारण व्यापारीहरु आतंकित भएको बताए । उनले बैंकको कारण पीडित भएका व्यापारीहरु स्थानीय प्रहरीको क्रियाकलापले थप पीडा भोग्न बाध्य रहेको बताए । भारतको सीमामा अवस्थित रहेको हुँदा गौर भन्सार कार्यालय अपग्रेड गर्नुको साटो राज्यले व्यापारीहरुलाई ऋण तथा करको भारमा मार्न खोजेको आरोप लगाए । बैंकको चर्को ब्याज तिर्न , कर तिर्ने व्यापारी त्यसमाथि प्रहरीको ज्यादतीले आहत भएका व्यपारीको पीडा मर्का राज्यले बुझिदिन आग्रह गरे ।

अध्यक्ष जयसवालले प्रहरी व्यापारीको सुरक्षा दिनुपर्ने बताए । व्यापारीको अवस्था गम्भीर भएकोले आपूर्तिमा ध्यान दिन सरकारलाई आग्रह गरे । भारतीय बजार नजिक भएकोले आम नागरिक बढ़ी भारतमा गएर दैनिक उपभोग्यको सामान खरिद गरी ल्याउने गरेकोले नेपालको व्यापारी घाटामा पर्ने गरेको उनको कथन रहेको छ । सीमामा कडा सुरक्षा गर्नुपर्नेमा सो नगरी स्थानीय प्रहरीले व्यापारी ,उद्योगीलाई दुख दिने गरेको आरोप उनले लगाए । बैंकको ब्याज तथा कर तिर्न नसकेर व्यापारी,उद्योगी आत्महत्या गर्न बाध्य भएको उल्लेख गर्दै अध्यक्ष जयसवालले सहज वातावरण निर्माण गर्नसमेत सरकारसंग माग गरेका छन् ।

Comment


Related News

Latest News

Trending News