
घाँस काटेको निहुँमा एक दलित महिलालाई निर्घात कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गर्न आलटाल गरेको भन्दै शुक्रबार सप्तरीको डाक्नेश्वरी नगरपालिकाको पातो बजारमा विरोध प्रदर्शन गरिएको छ ।
दुई दिनअघि आफ्नो जग्गामा रहेको घाँस काटेको आरोपमा डाक्नेश्वरी नगरपालिका– २ का जीवछ यादवले सोही नगरपालिकाको वडा नं. ५ का २८ वर्षीया गीतादेवी सदालाई निर्घात कुटपिट गरेको स्थानीयवासीको आरोप छ । कुटपिटबाट घाइते भएकी सदाको अहिले पनि पातोस्थित युके मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । घटनाको दुई दिन वितिसक्दा पनि कुटपिटमा संलग्नलाई पक्राउ गर्न प्रहरीले सक्रियता नदेखाएको भन्दै पीडित महिलाका आफन्त तथा स्थानीय विरोधमा उत्रेका हुन् । ‘अपराधीलाई पक्राउ गर, पीडितलाई न्याय देउ’लगायतका नारा अंकित प्लेकार्ड बोकेर सडकमा उत्रेका उनीहरुले यसतर्फ अबिलम्ब पहल नगरिए आन्दोलन चर्काउने चेतावनी दिएका छन् । यता ईलाका प्रहरी कार्यालय पातोका सई राजेन्द्र बस्नेतले कुटपिट गर्नेको खोजी कार्यमा कुनै ढिलाई नभएको दाबी गरेका छन् । उनले भने, ‘घटना बारे पीडित पक्षबाट निवेदन आए लगत्तै आरोपित व्यक्तिको खोजी कार्य र घटनाको अनुसन्धानमा हामी लागिपरेका छौं ।’