अपडेट 
२०७९ फाल्गुन १, सोमबार ०६:५५

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले निवर्तमान सरकारलाई सामाजिक विकास मन्त्रालयले बदनाम गराएको आरोप लगाएका छन् ।

सामाजिक विकास मन्त्रालयले आइतबार आयोजना गरेको मधेश प्रदेश स्तरीय समीक्षा बैठकमा उनले भने, सामाजिक विकास मन्त्रालयको क्रियाकलापले विगतको सरकार बदनाम भएको हो । तत्कालीन सामाजिक विकास मन्त्री नवलकिशोर साहका छोरा सुमित साह छायाँ मन्त्री भएर निवासबाट सरकार चलाएको आरोप लागेको हो । कर्मचारी भर्ना, औषधि खरिद, ठेक्का लगायतमा व्यापक भ्रष्टाचार गरेको उनीमाथि आरोप छ । मन्त्रीबाट हटिसकेका साहका छोराले अझै स्वास्थ्य र शिक्षामा व्यापक आर्थिक चलखेल गरिरहेका छन् ।पालिकामा ल्याबका लागि कर्मचारी पठाउन मोटो रकम असुल गरिएको बताइएको छ । ‘मधेश सरकारमा सर्वाधिक बदनाम हुने किसिमको काम सामाजिक विकास मन्त्रालयबाट भएको मुख्यमन्त्री यादवले खरो टिप्पणी गरे । ‘निर्वतमान सरकारलाई बदनाम गर्ने काम पूर्वको सामाजिक विकास मन्त्रालयले गरेको हो’ उनले भने, अनावश्यक रुपमा पालिकाका लागि भर्ती गरिएको कर्मचारीहरुको तलब, सुविधा सरकारले व्यहोर्न सक्दैन् । मुख्यमन्त्री यादवले प्रदेश सरकार मातहत रहेको प्रादेशिक अस्पतालहरुमा औषधिको आपूर्ति पूरा भएपछि मात्र मागको आधारमा पालिकामा औषधि पठाउन निर्देशन दिए । ‘मानवीय संवेदनशीलतासित जोडिएको स्वास्थ्य क्षेत्रको सुधारका लागि सबै पक्षको सहयोग आवश्यक छ ’ उनले भने, प्रदेश सरकारले निर्धारण गरेको मापदण्ड अनुसारको सेवा सबै प्रादेशिक अस्पतालहरुले उपलब्ध गराउनु पर्छ । सरकारी अस्पतालमा उपचार गराउन डराउनुपर्ने चिन्ताजनक अवस्था रहेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले त्यसको तत्काल अन्त्य गर्न निर्देशन दिए ।

‘विगतको सरकारले स्थानीय तहमा पठाएको कर्मचारीको तलब दिने अवस्थामा वर्तमान सरकार रहेको छैन्’ उनले भने, पालिकामा पठाइएका कर्मचारीहरुको तलबको भार प्रदेश सरकारले वहन गर्न सक्दैन् । समीक्षा बैठकमा अर्थमन्त्री सञ्जय कुमार यादवले स्वास्थ्य क्षेत्र जनतासित प्रत्यक्ष जोडिएकाले त्यसमा खेलवाड गर्न नहुने बताए । ‘औचित्यहीन कार्यक्रमका लागि अर्थमन्त्रालयले बजेट दिन सक्ने अवस्था छैन्’ उनले भने, जनतालाई राहत पुग्ने र सरकारी सुविधाको अनुभूति हुने कार्यक्रमका लागि बजेटको अभाव हुनेछैन् । मन्त्री यादवले वित्तीय अनुशासनलाई पूर्ण रुपमा पालना गर्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिए ।‘आर्थिक अनियमितता हुने गरी काम गर्न हुँदैन्’ उनले भने, विगतमा भएका कतिपय कार्यक्रमहरु विवादमा रहेकाले सचेत हुन आवश्यक छ । कार्यक्रममा सामाजिक विकास मन्त्री सुरिता कुमारी साहले कर्मचारी, चिकित्सक र प्राविधिकहरुलाई जनताको सेवा गर्ने समयमा निजी काममा समय खर्च नगर्न आग्रह गरिन् । उनले चिकित्सकहरुप्रति लक्षित गर्दै सरकारी कामको समयमा जनतालाई दत्तचित्त भएर सेवा गर्न निर्देशन दिईन् ।‘स्वास्थ्य क्षेत्रमा व्यापक बेथिति देखिएको छ ’उनले भनिन्, समयमै सुधार गरेर प्रदेश सरकारका अनुभूति सेवाग्राहीलाई गराउनु पर्छ । ‘मन्त्रालयलाई अस्तव्यस्त बनाइएको छ ’ साहले भनिन्, अनावश्यक ठेक्का, औषधि खरिद, कर्मचारी भर्ना लगायतका कामहरु आर्थिक लालचको कारण गरिएको छ ।

निवर्तमान सामाजिक विकास मन्त्री नवलकिशोर साह मधेश प्रदेश सरकारमा पूर्ण कार्यकाल बिताएका हुन् । साह मन्त्री रहे पनि निवासबाट मन्त्रालय चलाउने काम उनका पुत्र सुमित साहले गरेको आरोप छ ।

Comment


Related News

Latest News

Trending News