अपडेट 
२०७९ फाल्गुन १, सोमबार ०६:५९

जनकपुरधाम । माओवादी जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशमा आयोजित कार्यक्रममा सहभागी हुन सोमवार उपराष्ट्रपति नन्दबहादुर पुन जनकपुरधाम आउने भएका छन् ।

उपराष्ट्रपति पुनले जनयुद्धका शहीदहरुलाई मधेश प्रदेश सरकारको तर्फबाट शहीद परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादवले बताइन् । उपराष्ट्रपति पुन सोमबार बिहान साढे १० बजे जनकपुरधाम आइपुग्ने र ११ बजेदेखि मधेश भवनको कवर्ड हलमा आयोजना हुने कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुने मन्त्री यादवले बताइन् । जनयुद्ध दिवसको अवसरमा आयोजना हुन लागेको कार्यक्रममा शहीद परिवारहरुलाई सम्मानका साथै मधेश प्रदेश सरकारले निर्णय गरे अनुसार शहीद परिवारहरुलाई एक÷एक लाखको चेक प्रदान गरिनेछ । पाँच सय भन्दा बढी शहीद परिवारलाई राहत स्वरुप चेक हस्तान्तरण गरिने कार्यक्रम रहेको जनाइएको छ । यस अघिको मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले शहीद परिवारहरुलाई राहत स्वरुप एक÷एक लाख दिने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार राहत तथा सम्मान वितरण गर्ने बताइएको छ । मधेश प्रदेश सरकारले जनयुद्धका शहीदहरुलाई आर्थिक सहायता उपलब्ध गराए पनि अन्य प्रदेशहरुमा यस्तो निर्णय भएको छैन् । जनयुद्ध दिवसमा संघीय सरकारले घोषणा गरेको सार्वजनिक विदाको सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले विरोध गरेको छ । संघीय मन्त्रिपरिषद्को आइतबार बसेको आकस्मिक बैठकले जनयुद्ध दिवसको विदा दिने निर्णय गरेकोप्रति राप्रपाले विमत्ति जनाएको छ । सरकारमा उपप्रधान सहित ४ जना राप्रपाका मन्त्री छन् । गत वर्षदेखि जनयुद्ध दिवस र जनयुद्धका शहीदहरुलाई सम्मान गर्न थालिएको हो । विगतमा सरकारले गरेको निर्णयलाई निरन्तरता दिइएको उद्योग, पर्यटन तथा वन मन्त्री यादवले बताइन्

Comment

Related News

Latest News

Trending News