साढे तीन वर्षमा सम्पन्न गर्ने गरी सम्झौता भए पनि हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुलको काम १२ वर्षपछि सम्पन्न हुँदै थियो । निर्माण कम्पनीले झण्डै ९९ प्रतिशत काम सम्पन्न भइसक्यो भनेपछि नागरिक सहजरुपमा यातायात सेवा सञ्चालन हुने भयो भनेर हर्षित थिए । त्यो भनेको केही समयमै पुलका दुई पिलर भाँसिएपछि नागरिकको खुशी केही समय पनि टिकेन ।
बाह« वर्ष लगाएर निर्माण सम्पन्न हुँदै गरेको पुलका दुई पिलरमध्ये गत वर्ष असार १७ गतेको बाढीले सिरहातर्फको बसपिट्टा भन्ने ठाउँमा र कात्तिक ३ गते धनुषातर्फको तीन नम्बर पिलर केही धक्कामै भाँसिएका थिए । भाँसिएको एक वर्ष बितिसक्दा पनि हुलाकी सडकको मेरुदण्ड र मधेश प्रदेशको लाइफलाइनका रुपमा रहेको यो पुल निर्माण हुन सकेको छैन । वर्षौपछि निर्माण सम्पन्न हुन लागेको पुल बाढीले भाँसिएपछि ‘हात्ति छिर्यो पुच्छर अड्क्यो’ भने जस्तै अवस्था छ । त्यही अवस्था देखेर यस क्षेत्रका नागरिक निरास छन् । सिरहा नवराजपुरका ७२ वर्षीय अशोक यादवले पुल निर्माणपछि वर्षौदेखि सास्तीबाट मुक्ति पाउने अपेक्षामा खुसी भएकामा त्यो पूरा हुन नपाउँदै भाँसिएको र अहिलेसम्म निर्माण सुरु नभएकामा चिन्ता व्यक्त गर्नुभयो । “वर्षौपछि पुल सम्पन्न हुँदैछ भन्ने सुनेर निकै खुसी लागेको थियो, तर पिलर भाँसिएर अवरुद्ध भयो”, यादवले भन्नुभयो, “तीन वर्षमा बन्ने काम १२ वर्ष लाग्यो, पुल भाँसिएको पनि वर्ष दिन भइसक्यो, त्यो बन्न फेरि कति समय लाग्ने हो ?” कमला पुल निर्माण हुँदा सिरहा सदरमुकामबाट छोटो दूरीमै मधेश प्रदेशको राजधानी जनकपुरधाम पुग्न सकिन्थ्यो । अहिले पूर्व–पश्चिम राजमार्ग हुदैँ लामो यात्रा गर्न बाध्य हुनुपरेको छ । सिरहा नगरपालिका– १ का मनिष यादवले अहिले भारतीय बजार जयनगर हुदैँ जनकपुर जानुपर्ने बाध्यता रहेको सुनाउनुभयो । “पुल निर्माणपछि छोटो दूरीमै सिरहाबाट जनकपुरधाम जान पाइएला भनेर हामी खुसी थियौं, तर त्यो पूरा हुन पाएन”, उहाँले भन्नुभयो, “एक वर्षसम्म पनि पिलर बनेन, सरकारी निकायले के हेरिकसेका छन् ? हामीले फेरि कहिलेसम्म सास्ती भोग्नुपर्ने हो ?” पुल भाँसिएपछि बासको भ¥याङ प्रयोग गरी स्थानीयले सकसपूर्ण यात्रा गरिरहेको सिरहा–२२ हकपराका ललित यादवले सुनाउनुभयो । “पुल बन्न फेरि १२ वर्ष पो लाग्ने हो कि”, उहाँले शंसय व्यक्त गर्नुभयो, “एक वर्ष बितिसक्दा पनि प्राविधिक अध्ययन नै नभएको चर्चा छ, यिनै जिज्ञासा लिएर हामीले हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरलाई जानकारी माग ग¥यौँ ।” योजना प्रमुख इन्जिनीयर कृष्णकुमार गोइतले लिखित रुपमा दिनुभएको जानकारीअनुसार पुलको ‘पाइल’ के कति कारणले भाँसिएको हो भन्ने कुरा अहिलेसम्म थाहा भएको छैन । “हाल यो पुलको पाइल के कति कारणले भाँसिएको हो भन्ने कारण पत्ता लगाउन अनुसन्धानको प्रक्रिया चलिरहेको छ”, गोइतले दिएको विवरणपत्रमा उल्लेख छ । प्राप्त जानकारीअनुसार निर्माण कम्पनीले क्षति भएका स्थानको ‘ फाउन्डेशन’ र ‘सुपर स्ट्रक्चर’ को पुनःनिर्माणका लागि नयाँ प्रस्ताव पेश गरी अहिले निर्देशनालयले स्वीकृतिको प्रक्रिया सुरु गरिसकेको छ । हुलाकी सडक निर्देशनालयका आयोजना निर्देशक इन्जििनीयर धर्मेन्द्र झाले तीन दिनअघि निर्माण कम्पनीबाट आवश्यक निर्देशनपछि सुधारसहितको प्रस्ताव प्राप्त भएकाले त्यसको विस्तृत अध्ययनको काम भइरहेको बताउनुभयो । उहाँले सडक विभागले स्वीकृत गरेपछि यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने गरी पुलको बाँकी काम सुरु हुने बताउनुभयो ।
निर्देशक झाले दिएको जानकारी अनुसार पुलका चार वटा स्पान नयाँ बनाउने र बाँकी पिलरलाई संरक्षण गर्ने गरी निर्माण कम्पनीले प्रतिवद्धता जाहेर गरी प्रस्ताव पेश गरेको छ । “ठेकेदारकै लगानीमा चार स्पान निर्माण गर्ने र बाँकी पिलरमा पुग्नसक्ने क्षतिलाई मध्यनजर गरी संरक्षणको काम हुनेछ”, झाले भन्नुभयो, “यस कार्यमा राज्यको थप लगानी नलाग्ने भए पनि नागरिकले दुःख पाउनुभयो, अब एक वर्षभित्रै पुल तयार हुने गरी हामीले निर्माण कम्पनीलाई निर्देशन दिन्छाँै, सोहीअनुसार कुरा भइरहेको छ ।” राष्ट्रिय गौरवको आयोजनामा सुचिकृत हुलाकी सडकको सप्तर ी–सिरहा– धनुषा खण्डमा कालोपत्रको काम अन्तिम चरणमा भए पनि कमला नदीमाथिको पुल भाँसिएपछि सडक सञ्चालन हुन सकेको छैन । समयमै काम भएमा अबको एक वर्षमा पुल सञ्चालनका लागि तयार हुने बताइन्छ । साढे तीन वर्षमा बन्ने भनेको पुल १२ वर्षमा समेत निर्माण हुन नसकेकामा भाँसिएको पुल समयमै बन्नेमा यहाँका नागरिक आश्वस्त हुन सकेका छैनन् । निर्माण कम्पनीले भने आगामी आवको असार मसान्तसम्म पुल निर्माण गरिसक्ने गरी समय माग गरेको छ । सिराहा–धनुषाको सीमा जोड्ने कमला नदीमा रु २४ करोड ९१ लाख लागतमा चार सय ७० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल बनाउने ठेक्का पप्पु लुम्बिनी बिल्डर्स जेभी कन्स्ट्रक्सनले पाएको थियो । विसं २०६८ जेठ ३१ गते २०७१ कार्तिक २८ गतेभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता भएकामा पटकपटक म्याद थप गर्दा पनि पुल निर्माण हुन सकेन । त्यसै कारण पप्पु कन्स्ट्रक्सनलाई हटाएर २०७६ असोजमा लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनलाई जिम्मेवारी दिइएको थियो । लुम्बिनी बिल्डर्सले काम गरिरहेकै बेला गत वर्ष असार र कात्तिकमा पुलको पाया (पायर) भाँसिए । त्यसले सिरहा र धनुषालाई छोटो दूरीमा जोड्ने सपना तत्कालका लागि तुहिएको छ । पुल पुनःनिर्माणका लागि हुलाकी सडक संघर्ष समिति बनाएर पटक पटक आन्दोलन र दबाबका कार्यक्रम भइरहेका छन् । संघर्ष समितिका संयोजक प्राध्यापक रामरिझन यादवले भाँसिएको पुल बनाउन दबाब स्वरुप रिले अनसन, हुलाकी सडकमा पैदल यात्रा, अन्तरक्रिया, प्रर्दशनलगायतका दबाबमूलक कार्यक्रम भए पनि सुनुवाइ नभएकोमा आपत्ति जनाउनुभयो ।
“वर्ष दिन हुँदा पनि अध्ययन प्रतिवेदन नै आएको छैन”, उहाँले भन्नुभयो, “काम सुरु कहिले हुन्छ, सम्पन्न हुन फेरि कति वर्ष लाग्छ ? अत्तोपत्तो छैन, यसले हामीलाई निरास बनाएको छ ।” एकातर्फ पूर्वपश्चिम महेन्द्र राजमार्गको विकल्पका रुपमा लिइएको हुलाकी राजमार्ग समयमा निर्माण हुनेगरी द्रुतगतिमा काम भइरहेको छैन । अर्कोतर्फ निर्माण सम्पन्न नहुँदै बिग्रिने, भत्किने र भाँसिने कमला पुल जस्ता संरचनाले राष्ट्रिय गौरवको आयोजनालाई नै गिँज्याइरहेको टिप्पणी भइरहेको छ । रासस

