
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरधामका कर्मचारीहरुले दुई महिनादेखि तलब नपाएको बुझिएको छ । रकम अभावका कारण गत मंसिर महिनापछि अहिलेसम्म अस्पतालका चार सय भन्दा बढी कर्मचारीहरुले तलब पाउन नसकेको कर्मचारीहरुले बताएका छन् ।
तलब नपाएर घर खर्च चलाउनसमेत समस्या उत्पन्न भएको कर्मचारीहरुको गुनासो रहेको छ । अस्पतालमा चार सय भन्दा बढी कर्मचारी कार्यरत रहेका छन् भने सो मध्ये करिब तीन सय कर्मचारीहरुको तलब अस्पतालकै आम्दानीबाट दिइने गरिएको छ । मधेश स्वास्थ्य बिज्ञान प्रतिष्ठान र नेपाल सरकारबाट तलब पाउने कर्मचारीहरुले तलब पाइसके पनि अस्पताल विकास समितिद्वार नियुक्त गरिएका चिकित्सक एवम् कर्मचारीहरु तलबबाट बञ्चित रहेका छन् । अस्पतालका रजिष्टार डा. विनोद कुमार यादवले प्रतिष्ठानले नियुक्त गरेको ८५ जना कर्मचारीको तलब वापत मधेश प्रदेश सरकारले तलबको लागि बजेट दिए पनि अस्पतालकै आम्दानीबाट तलब पाउने कर्मचारीहरुले भने तलब नपाएको जानकारी दिए । रजिष्टार डा.यादवले अस्पतालमा आम्दानी भन्दा बढी खर्च हुने गरेको बताउँदै भने,‘अस्पतालबाट करिब तीन सय कर्मचारीहरुको तलब ६५ लाख भन्दा बढी मासिक दिनुपर्छ जब कि अस्पतालको मासिक आम्दानी लगभग एक करोड छ भने एक्सरे,ल्याबलगायतको खर्च हेर्ने हो भने करोड भन्दामाथि रहेको छ ,समयमै कहाँबाट तलब दिने ।’ आम्दानी भन्दा बढी खर्च नै हुने गरेकोले अस्पतालमा कार्यरत कर्मचारीहरु समस्यामा परेको र यसबारे प्रदेश सरकारलाई जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको डा.यादवले बताए ।
अस्पतालको आन्तरिक स्रोतबाटै अहिलेको अवस्थामा रहेका कर्मचारीहरुको लागि नियमित रुपमा तलब दिने अवस्था नै नरहेको उनले स्विकार गरे । प्रदेश सरकारले यसप्रति गम्भीर रुपमा चासो लिनुपर्ने बताउँदै उनले भने,‘प्रदेश सरकारका सम्बन्धित मन्त्रालयहरु गम्भीर हुनै पर्छ अन्यथा तलब मात्र होइन, मसलन्द खर्चमा पनि देखिएको समस्याको समाधान गर्नै सकिन्न।’ अस्पतालमा प्रत्येक दिन तीन लाख भन्दा बढीको बिल काटिने गरिए पनि सो रकम दिनहँु हुने खर्चमै जाने गरेको लेखाका कर्मचारीहरुले दाबी गरे पनि सर्वसाधारण नागरिकहरुलाई निःशुल्क रुपमै उपलब्ध गराउनुपर्ने सुइ,कटन लगायतको सामान पनि बिरामीहरुले आफै किन्ने गरेका छन् । यता,अस्पतालका उप–निर्देशक कृष्णदेव दासलाई तलबबारे सोध्दा उनले भने ,‘यो काम लेखाको हो,कर्मचारीहरुले तलब नपाएर समस्यामा छन् मैले पनि तलब पाएको छैन ।’