
सिरहाको गोलबजार स्थित सिरहा सुपरमार्केट प्रा.लि.द्वारा सञ्चालित एवीमलको गोदाममा आगलागीहुँदा करोडौं मूल्यको सामाग्री जलेर नष्ट भएको छ।
गोलबजार नपा –४ मा रहेको मलको गोदाममा आइतबार अपरान्ह विद्युत सर्किट सर्टभएर आगलागी हुँदा गोदाममा रहेको खाद्यान्न, कपडा, इलेक्ट्रोनिक्स, फर्निचर, किचेनका पाँच करोड ५० लाखभन्दा बढीको सामग्री जलेर नष्ट भएको छ। आगलागीका कारण मलमा बिक्रीका लागि ल्याइएको सवैभन्दा बढी मूल्यको कपडा, खाद्यान्न सामग्री, इलेक्ट्रोनिक्स, फर्निचर, किचेनका सामग्री, एसी मेसीनसहित पाँच करोड ५० लाखभन्दा बढीको सामग्री काम नलाग्ने भएको मलका प्रमुख कार्यकारी अधिकृत पीन्टु राउतले जानकारी दिए। उनले जनकपुर, मिर्चैयाका र गोलबजारको मलमा बिक्रीका लागि ल्याइएको सामग्री काम नलाग्ने गरी जल्नुका साथै कार्यालय प्रायोजनका लागि रहेका सर्भर कम्यूटर, सीसी टि भी क्यामरालगायतका सामानपनि जलेको राउतले बताए।
आगलागीका कारण गोदाम रहेको भवनमा पनि क्षति पुगेको राउतले बताउँदै गोदाममा रहेका सामग्रीको प्राथमिक विवरणहरु आए पनि क्षतिको विवरण अझै संकलन गर्न बाँकी रहेको जनाए। आगो नियन्त्रण पश्चात क्षतिको विवरण तत्काल भन्न नसकिने इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर राजु केसीले बताए ।