
सप्तरीको खडक नगरपालिका र कञ्चनरुप नगरपालिकामा दुई महिला झुण्डिएको अवस्थामा मृत फेला परेको छ । खडक नगरपालिका– ९ लालपट्टिका ४५ वर्षीया मीना कुमारी चौधरी आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेको घटना सेलाउन नपाउँदै सप्तरीको कञ्चनरुप नगरपालिका– ९ की ५८ वर्षीया शान्ता कुमारी भुजेलले लघुवित्तहरु तथा साहु महाजनले ऋण तिर्न दिएको दबाबका कारण आत्महत्या गरेकी छन् । आइतबार मध्यराति चार घण्टाको अवधिमा सोमबार एकाबिहानै सप्तरीको कञ्चनरुप नगरपालिका–९ स्थित आँप बगैँचामा सोही वडाका ५८ वर्षीया शान्ता भुजेल आँपको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
आत्महत्या गरेकी भुजेल इन्फिनिटी लघुवित्तीय संस्था लिमिटेडको महुलीमा २०७७ साल कार्तिक १६ गतेदेखि र स्वावलम्बन लघुवित्त विकास बैंकको शाखा महुलीमा २०७३ साल चैत्र १२ गतेदेखि नै आवद्ध रहेको देखिन्छ । स्थानीयका अनुसार बितेको असार महिनामा महुली स्थित लघुवित्तका कर्मचारीहरु भुजेलको घरको सबै समान लागेपछि उनी निकै तनावमा थिइन् । सम्पतिका नाममा रहेको १० धुर जग्गा पनि अर्कैको नाममा पास गरेकी थिइन् । लघुवित्तीय र स्थानीय साहु महाजनको चर्को ब्याजको बोझले कञ्चनरुप नपामै थुप्रै गरिब पीडित छन् । घटनाबारे अनुसंधान भइरहेको सप्तरीका प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले बताए । यस्तै मीनाका श्रीमान भोटे चौधरीले पनि श्रीमती सुत्ने कोठामा बाँसको बलोमा प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मिनाले पनि ऋणको बोझकै कारण आत्महत्या गरेको स्थानीयवासीहरुले बताएका छन् । उनी ऋणको बोझका कारण केहीदिन अघि देखि निक्कै तनावमा रहँदै आएको बताइएको छ । दुबै शव प्रहरीले नियन्त्रण लिई पोष्टमार्टमका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पठाएको छ ।
सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले दुबै जनाले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको बताए । जिल्लामा तीन साता अघि मात्र छोराको विवाह गर्दा लागेको ऋण तिर्न नसक्दा सप्तरीको छिन्नमस्ता गाउँपालिका– २ का ४५ वर्षीय रामदेव मरिक रुखमा झुण्डिएर आत्महत्या गरेका थिए । त्यसको सात दिनपछि सोही गाउँपालिकाका–६ का २१ वर्षीय महेन्द्र मण्डलले पनि घरायसी तनावमा रुखमा झुण्डिएर आत्महत्या गरेका थिए । जीविकोपार्जनका धेरै प्रयास असफल भएपछि जिल्लामा आत्महत्याका एकपछि अर्को घटनामा वृद्धि भएर गएको छ । जिल्लामा गत आ.व. २०७७/०७८ मा झुण्डिएर, विष सेवन गरेर र आगो लगाएर १ सय १५ जनाले ज्यान गुमाएका थिए भने २०७८/०७९ मा १ सय ३६ जनाले आत्महत्या गरेको पाइएको छ । यस्तै चालु आ.व. २०७९/०८० को हालसम्मको अवधिमा विषसेवन र झुण्डिएर ६० जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्यांकमा उल्लेख छ ।