अपडेट 
२०७९ फाल्गुन २, मंगलवार ०८:१०

सप्तरीको रुपनी गाउँपालिकामा भएको आगलागीमा परेर आधा दर्जन घर जलेर खरानी भएको छ ।

आइतबार मध्यराति रुपनी गाउँपालिका– १ रायपुर स्थित अनिल नारायण यादवको गाईगोठबाट लामखुट्टे भगाउन जलाइएको घुरबाट सल्केको आगो समयमा नियन्त्रण गर्न नसक्दा ६ वटा घर नष्ट भएका छन् । आगलागीबाट लाखौको धनमाल नष्ट भएको छ । आगोले अनिल नारायण यादवका साथै छिमेकी मायाराम यादव, रोज नारायण यादव, गंगाराम यादव र नागेन्द्र यादवलगायतका ६ परिवारलाई बेघर बनाएको छ । आगलागी पीडित अहिले कोही आफन्तकहाँ त कोही खुला चउरमा बस्न बाध्य बनेका छन् । आगलागी २ घण्टाको प्रयासपछि मात्र नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए । राजविराज नगरपालिका, शम्भुनाथ नगरपालिका र मधेश प्रदेश तालिम केन्द्र जनकपुरको वारुण यन्त्र, स्थानीयवासी, इलाका प्रहरी कार्यालय रुपनी र जिल्ला प्रहरी कार्यालयको टोलीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा आएको थियो ।

डिएसपी सिंहका अनुसार आगलागीबाट १५ लाख ५२ हजार मूल्य बराबरको सम्पत्ति जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीय बासिन्दाका अनुसार अनिलनारायण यादवको गाईगोठमा लामखुट्टे धपाउन बालेको घुरबाट अचानक आगो सल्केको तथा तत्काल नियन्त्रणको उपाय हुन नसक्दा ठूलो क्षति भएको छ ।

Comment

Related News

Latest News

Trending News