अपडेट 
२०७९ फाल्गुन २, मंगलवार ०८:१५

नेपालको राजनीतिमा अत्यन्त विवादास्पद मानिएका व्यवसायी दुर्गा प्रसाईले ‘ नागरिक बचाऊ महाअभियान’ को सोमबारबाट सुरु गरेका छन् ।

गणतन्त्र स्थापनाका लागि प्रारम्भ भएको जनयुद्धकै दिन पारेर प्रसाईले झापास्थित मेची पुलमा पूर्वराजा ज्ञानेन्द्र शाहको प्रमुख आतिथ्यमा महाअभियानको सोमबार सुरुवात गरेका छन् । प्रसाईको ‘नागरिक बचाउ महाअभियान’ को भित्री उद्देश्य देशमा पुनःराजतन्त्र र हिन्दू धर्मको स्थापना, संघीयताको समाप्ति रहेको बताइन्छ । तत्कालीन माआवादीले माघ १ गते गणतन्त्र, संघीयता, संविधान सभाको निर्वाचन, धर्मनिरपेक्षताका लागि जनयुद्ध प्रारम्भ गरेका थिए । सभामा पूर्व राजपरिवारका अन्य सदस्य पनि सहभागी भएका थिए । पूर्वयुवराज पारस शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाह समेत सभामा थिईन् । प्रसाईको मेची–महाकाली महाअभियानको प्रमुख उदेश्य संघीयता खारेजी रहेको छ । देशका व्यवसायीहरु आर्थिक संकटमा परेका बेला उनीहरुलाई उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण नरहेकाले व्यवसायीमैत्री वातावरण बनाउन प्रसाईले माग गरेका छन् । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली गत पुस महिनामा झापा गएका बेला प्रसाईको गाडी प्रयोग गरेका थिए । व्यवसायी प्रसाई ओली निकट मानिन्छ । प्रसाईले दलका अध्यक्ष सहित पूर्व राजालाई महाअभियानमा सहभागी हुन अपिल गरेका थिए । उनले जारी गरेको विज्ञप्तिमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउने महाअभियान भएको उल्लेख गरेका थिए । देशको संरचना पुनः एकीकरण र विदेशमा रहेका नेपाली स्वदेश फर्केर उद्यम गर्ने वातावरण निर्माणका लागि महाअभियान गरिएको प्रसाईले कार्यक्रममा बताएका थिए । व्यवसायी प्रसाईको महाअभियानमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले एक्यबद्धता जनाएका छन् । थापा पनि राजावादी मानिन्छन् । गत मंसिरमा सम्पन्न भएको आमनिर्वाचनमा थापा नेकपा एमालेसित तालमेल गरी चुनाव लडेका थिए । पछिल्लो समयमा राजसंस्थाका पक्षमा बोल्दै आएका प्रसाईको कार्यक्रममा राजावादीहरुको अत्यधिक सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News