
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले संघीयतालाई कसैले पनि समाप्त पार्न नसक्ने ठोकुवा गरेका छन् ।
जनयुद्ध दिवसको अवसरमा जनकपुरधाममा सोमबार आयोजित समारोहमा बोल्दै उनले संघीयताका लागि हजारौंको शहादत भएको स्मरण गराए । ‘अहिले स्थानीय, प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनबाट आएका केही व्यक्तिहरुले काठमाण्डुमा बसेर संघीयता चाहिँदैन भन्ने कुरा गरिरहेका छन्’ उनले भने, म उहाँहरुलाई यसै मञ्चबाट खबरदारी गर्न चाहन्छु कि संघीयता शासक वर्गले दिएको भिख होइन, हजारौं बलिदान पछि प्राप्त भएको जन उपलब्धि हो ।’ ‘जबसम्म मधेश प्रदेशका जनता रहन्छन तबसम्म यहाँ संघीयतामाथि कुनै आँच आउन सक्दैन्’ उनले भने, कसैले विरोध गर्दैमा संघीयता जानेबाला छैन ।
संघीयता प्राप्तिको लागि सबैभन्दा बढी बलिदानी दिने पार्टी माओवादी केन्द्र नै रहेको उल्लेख गर्दै उनले भने, ‘आज सोही पार्टीका प्रधानमन्त्री रहनु भएकाले संघीयताप्रति एकदमै इमान्दारीका साथ अगाडि बढनुपर्छ । ‘प्रदेशमा प्रहरी समायोजन कानून, निजामती ऐन, नागरिकता विधेयक लगायत अड्किएका कानूनहरुलाई तत्काल लागु गरेर संघीयतालाई बलियो र संस्थागत गर्ने जिम्मेवारी प्रधानमन्त्री ज्यूको हो’ उनले भने, प्रदेश सरकारलाई अधिकार सम्पन्न नबनाएसम्म संघीयता संस्थागत हुन सक्दैन् ।
मुख्यमन्त्री यादवले संघीयतालाई बलियो पार्न र देशलाई विकास र समृद्धितर्फ अगाडि बढाउन अड्किएका कानूनहरु लागु गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए । प्रधानमन्त्रीज्युले कानूनहरु तत्काल लागु हुने विश्वास व्यक्त गर्दै उनले भने, ‘तपाईको पालोमा ती अड् किएका कानूनहरु लागु भएन भने त्यो दुर्भाग्य हुने र संघीयता विरुद्धमा लागेकाहरुले मौका पाउनेछन् । कानूनहरुलाई लागु गरेर संघीयतालाई बलियो पार्न उनले प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरे ।
जनयुद्ध सुरु हुनु भन्दा पनि अगाडि बहुदल आइसकेपछि देशमा संघीयता हुनुपर्छ भन्ने नेता मधेश प्रदेशकै रहेको उल्लेख गर्दै उनले भने, ‘तर त्यो बेला शान्तिपूर्ण आन्दोलन हामीले गरेका थियौं त्यो बेलाको कुरो मलाई याद छ संघीयता भन्ने हिसाबले नै हामीले राजनीतिक सुरुवात गरेका थियौं । मधेशका नेताहरुले संघीयताको सबाल उठाउँदा काठमाण्डुमा शासकहरुले देश टुक्रयाउने विषय भएको मिथ्या तर्क गरेर बदनाम गर्न थालेपछि माओवादीले जनयुद्धको मुद्दा बनाएको उनले बताए ।