अपडेट 
२०७९ फाल्गुन ३, बुधबार ०८:२०

रौतहटको वृन्दावन नगरपालिकाका नगरप्रमुख विनोद प्रसाद कुर्मीले विपक्षी दलका नेताहरुले काम गर्न नदिने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।

आफूलाई जनताको नजरमा असफल बनाउन विपक्षीहरुले विकास निर्माणका साथै हरेक काममा बिना कारण बाधा अवरोध सिर्जना गरिरहेको मेयर कुर्मीले बताए । गौरमा पत्रकारहरुसंगको कुराकानीमा मेयर कुर्मीले पाँच वर्ष भ्रष्टाचार गरी नगरपालिकामा लुटतन्त्र मच्चाएकाहरु अब भ्रष्टाचार गर्न नपाउने भएपछि आतिएर आफूविरुद्ध कमर कसेर लागि परेको बताए । आफूले मेयरमा निर्वाचित भएको छोटो समयमै नगरमा विकास निर्माणको कार्यलाई तीव्रता दिएकोले आफ्नो जनमुखी विकासका कार्यहरु देखेर विपक्षीहरु हतोत्साहित भएको उनले बताए । आफू विकास निर्माणका काम द्रुत गतिमा अगाडि बढाएपछि आतिएर विपक्षी दलका नेताहरु विकासका कार्यहरु अवरुद्ध गर्न विभिन्न षड्यन्त्र रचेको उनले बताए । आफूलाई बदनाम गर्न नगरपालिकाका विपक्षी चार राजनीतिक दल लागि परेको उनले बताए । विपक्षीले भ्रष्टाचार गर्न जति षड् यन्त्र गरे पनि आफूले उनीहरुलाई एक रुपैयाँसमेत भ्रष्टाचार गर्न नदिने बताए । पाँच वर्षसम्म भ्रष्टाचार गरेर पल्केका नेपाली कांग्रेसका पूर्वमेयर राम स्नेही यादव, ठेक्का नपाएका नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद पटेल, जागिर र विभिन्न अस्पताल, विद्यालय मर्मतको नाममा मोटो रकम माग गरेका नेकपा एमालेका प्रेमशंकर यादव र जसपाका केही कार्यकताहरु आफूलाई बदनाम गर्ने कार्यमा लागेको नगर प्रमुख कुर्मीले आरोप लगाएका छन् ।

स्थानीय तहको निर्वाचनमा कांग्रेसका राम स्नेही, माओवादीका रामप्रसाद पटेल र एमालेका प्रेम शंकर यादव नगर प्रमुख पटेलसंग नराम्ररी पराजित भएका थिए । निर्वाचनमा पराजय भएको प्रतिशोध साध्न उनीहरु यतिवेला कार्यकर्ता उचालेर दैनिकजसो झडप हुने अवस्था सृजना गराएको नगरप्रमुख कुर्मीले बताए। गत शनिबार नदीजन्य वस्तु उत्खनन्को लागि ठेक्का गर्नुपर्ने विषयमा नेपाली कांग्रेस र सत्ता पक्ष नेकपा एकीकृत समाजवादीका समर्थकबीच भएको झड्पमा परी २ जना कांग्रेसका कार्यकर्ता र ४ जना नगरपालिकाका कर्मचारी घाइते भएका थिए ।

Comment


Related News

Latest News

Trending News