अपडेट 
२०७९ फाल्गुन ३, बुधबार १४:०८

काठमाण्डु गंगबु स्थित नयाँ बसपार्कमा भएको आन्दोलनको क्रममा भएको घटनालाई अमानवीय ठहर गर्दै जनकपुरधाम मोबाइल व्यवसायी संघले निन्दा गरेको छ ।

‘केही अभद्र व्यक्तिहरुको समूहले आतंकारकारी शैलीमा मोबाइल पसलहरुमा गरेको लुटपाटको घटनाले हामीलाई दुखित तुल्याएको छ ’ जनकपुरधाम मोवाइल व्यवसायी संघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सो घटना प्रति संघको गम्भीर ध्यानाकर्षण भएको जानकारी समेत विज्ञप्ति मार्फत गराइएको छ ।

संघको विज्ञप्तिमा भनिएको छ ,‘ यसप्रकार खुलेआम रुपमा एउटा अपराधी किसिमबाट समूह बनाई बन्द भएको पसलहरुमा डाका शैलीमा पसल नै तोडफोड गरी सामान लुटपाट गरी जनताको जिउ, धन प्रति गम्भिर खतरा उत्पन्न भएको छ । यसको सुरक्षाको प्रत्याभूति दिनु राज्यको दायित्व हो, यसलाई रोक्न नसक्नु दुर्भाग्यपूर्ण र अति सम्वेदनशील विषय बनेको छ ।’

‘तसर्थ यस घटनाको अविलम्ब छानविन गरी अपराधीहरु पत्ता लगाई कानूनको दायरामा ल्याई कानून वमोजिमको प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई समेत ध्यानाकर्षण गराउन चाहन्छु ।’,विज्ञप्तिमा उल्लेख छ ।

यदि सो घटनाका दोषीहरुलाई तत्काल कारबाहीको दायरामा नल्याइए संघ आन्दोलन गर्न बाध्य हुने समेत जनाइएको छ । जनकपुरधाम मोबाइल व्यवसायी संघले काठमाण्डुमा जारी व्यवसायीहरुको आन्दोलन प्रति एक्यबद्धता समेत जनाएको छ ।

लुटपाट प्रकरणमा गृह मन्त्रालयले छानबिन गरेर दोषीलाई पक्राउ गर्न प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहलाई निर्देशन दिएको छ । सोही क्रममा प्रहरीले चार जनालाई हिरासतमा राखेर सोधपुछ गरिरहेको छ भने सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो फुटेजका आधारमा अनुसन्धान सुरु भएको छ ।

 

Comment

Related News