अपडेट 
२०७९ फाल्गुन ३, बुधबार १२:१४

भारतीय भन्सार विभागले बिहार अररियाको मीरगञ्ज पुल नेपालीका लागि पूर्ण रूपमा खुला गरेको छ । विभागले चार लेन सडकसहित मीरगञ्जको परमान नदीमाथि पक्की पुल बनेपछि पुलबाट आवतजावत गर्न सकिने अनुमति दिएको हो ।

पुल सञ्चालन गर्न मोरङ व्यापार संघले दबाब दिँदै आएको थियो । यो पुल दुई महिना अघि नै सञ्चालनमा आएको थियो । तर, नेपालतर्फ भित्रने मालबाहक गाडी भण्टाबारी नाकाबाटै आउने गरेका थिए । भारतीय भन्सार विभागले अब मालबाहक गाडीलाई आवतजावतको अनुमति दिएको हो । यो अनुमतिपछि भारतलगायत तेस्रो देशबाट नेपाल आउने कच्चा पदार्थलगायतको सामग्री बोकेका मालबाहक गाडी १ सय १६ किलोमिटर दुरी पार गर्दै सुनसरीको भण्टाबारी नाकाबाट घुमेर आउनु पर्ने झन्झट अन्त्य भएको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताउनुभयो ।

अब ४ किलोमिटर दुरी पार गर्नासाथ नेपालको आइसिपी आइपुग्ने सुविधा प्राप्त भएको छ । विभागले आफ्ना मातहतका सबै निकायलाई बोधार्थ दिँदै तत्काल कार्यान्वयन गराउन निर्देशन दिएको छ । साथै विराटनगरको आइसिपीबाटै आयात र निर्यात औपचारिक सुरूआत भएको छ । मीरगञ्ज पुल भासिँदा एक वर्षमा २२ अर्ब ५० करोड रुपैयाँले विराटनगर भन्सारबाट हुने कारोबारमा गिरावट आएको थियो ।

जोगवनी नाकाबाट मालबाहक जान नसकेपछि सुनसरीको भण्टाबारी नाकाबाट रिरुट भएर आउँदा एउटा कण्टेनरको १६ हजार अतिरिक्त ढुवानी भाडा व्यवसायीले बुझाउँदै आएका थिए । जसको कारण एक वर्षमा व्यवसायीहरूले ११ करोड ५२ लाख रुपैयाँ बराबरको अतिरिक्त ढुवानी भाडा तिरेका छन् ।

Comment


Related News