
धनुषा प्रहरीले स्रोत नखुलेको ४ लाख ६ हजार ११५ रूपैयाँसहित एकजना हुण्डी कारोवारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका वडा नम्बर–७ बस्ने ३८ वर्षीय जाबिर राईन रहेको प्रहरीले जनाएको छ ।
नगराईन नगरपालिका वडा नम्बर–२ स्थित ईलाका प्रहरी कार्यालय लग्मा जटहीबाट प्रहरी बरिष्ठ नायव निरिक्षकको कमाण्डमा चेकिङमा खटिएको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा प्रदेश–२–०२–००४ प ७५३४ नम्बरको मोटरसाइकलमा राईनमाथि शंका लागि चेकजाँच गर्दा उनले बोकेको खैरो रंगको झोलाबाट स्रोत नखुलेको नेपाली ४ लाख ६ हजार ११५ रूपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेद प्रकाश गौतमले जानकारी दिए ।
प्रहरीले राईनको साथबाट मोटरसाइकल १ थान, विभिन्न कम्पनीको मोबाइल २ सहित नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरमा पठाएको डीएसपी गौतमले बताए ।