अपडेट 
२०७९ फाल्गुन ४, बिहीबार ०७:४५

सनातन धर्मका हिन्दू शास्त्रहरूमा क्षेत्रज सन्तानको उल्लेख रहेको पाइन्छ । हिन्दू धर्मशास्त्रका पुराण, रामायण, महाभारत लगायत अन्य ग्रन्थहरूमा समेत क्षेत्रज सन्तान बारे उल्लेख भएको भेटिन्छ । नेपाली बृहत् शब्दकोष अनुसार निःसन्तान वा विधवा स्त्रीले पुरुष वा गुरुजनको आज्ञाद्वारा परपुरुषबाट जन्मिएका सन्तानलाई नै क्षेत्रज सन्तान भनिन्छ । अर्को शब्दमा यस्ता प्रक्रियाबाट सन्तान उत्पन्न गराउने कामलाई नियोगप्रथा भनिन्छ । नियोगको शाब्दिक अर्थ नियोजन÷योजना हो । वैदिककालदेखि ३०० ई.पू.सम्म सतीप्रथाको चलन थिएन । पतिको मृत्युपछि स्त्रीलाई जीवन व्यतित गर्ने तीनवटा बाटाहरू थिए । (१) आजीवन वैधव्य (२) नियोगद्वारा सन्तान प्राप्ति (३) पुनर्विवाह । वैदिक कालमा आमाको स्थान निकै उँच थियो । उपनिषद् पुराणमा आमालाई देवीजतिकै स्थान प्राप्त थियो । मातृ देवो भवः अर्थात आमालाई देवता सरह मान गरिन्थ्यो । वेद र उपनिषद्मा आमालाई दिएको सम्मान पौराणिक काल हुँदै महाभारतकालसम्म पनि उतिकै उँचाइमा रहेको पाइन्छ । यसरी आमा जहिले पनि, जुनसुकै अवस्थामा पनि आमा नै हो भन्ने मान्यता शास्त्रले बारम्बार दिएकाले नियोगप्रथा अपनाएर क्षेत्रज सन्तान जन्माउने आमाको स्थान सधैं उच्च नै देखियो ।

रामले रावणको बध गरेर लङ्कामा पूर्ण विजय प्राप्त गरेपछि लक्ष्मणले रामलाई दिएका सल्लाह अनुसार सौतेनी भाइ र आमाको जगजगी भएको अयोध्या फर्कनुभन्दा त सुनैसुनबाट निर्मित लङ्कामै राजगरेर बसौं भन्दा रामले फर्काउनु भएको जबाब आज पूर्वीय देशका लागि एउटा आदर्श वाक्य नै भएको छ ः अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते, जननी जन्मभूमिश्च स्र्वगादपि यरियसि । यस श्लोकमा जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूलो हुन्छ भने भावार्थलाई अभिव्यक्त गरिएको छ । त्यसैले क्षेत्रज सन्तान पाउन नियोगप्रथा अपनाए पनि आमा, आमा नै हो भन्ने मान÷सम्मान रहिरह्यो । घुमन्ते, जंगली तथा शिकारी जीवनदेखि कृषि तथा औधोगिककालसम्म आउँदा पनि आमाको मान–सम्मानमा कमी आएको देखिँदैन । हजारौं वर्षको प्रयत्न पश्चात् मानिसहरूले समाजलाई एउटा सही रूपले सञ्चालन गर्न विभिन्न नियम÷ कानुनहरू बनाए । मानिसमा संस्कारहरू विस्तारै विकसित हुँदै आए । सनातन धर्म र दर्शनको विकास हुँदै आए । त्यसबेला विवादको मुख्य प्रयोजन सन्तान प्राप्ति मानियो । सन्तान नभएका दम्पत्तिलाई सन्तान प्राप्तिका लागि विभिन्न बाटाहरू देखाइए । नियोगप्रथाको सूक्ष्म रूप रामायण कालमै थियो । रामलगायत चारै भाइको जन्म नियोग प्रथाद्वारा नै भएको थियो अर्थात चारै भाइ क्षेत्रज सन्तानकै रूपमा जन्मिएका थिए । ऋषि ऋष्यश्रृङ्गका सल्लाह अनुसार पुत्रेष्टि यज्ञको आयोजना गरियो । ऋष्यश्रृङ्ग ऋषिले पुत्र प्राप्तिको उद्देश्यले पुत्रेष्टि नामक यज्ञ प्रारम्भ गरे र श्रौतनीधि अनुसार अग्निमा आहुति हालेछ । यस यज्ञको अग्निकुण्डबाट ठूलो शरीरका एक पुरुष उत्पन्न भए जसको हातमा चाँदीको बिर्को लगाएको सुनको गहिरो थाल थियो । त्यो थालमा खिर राखिएको थियो ।

त्यही खिर तीनै रानीलाई बाँडेर ख्वाउँदा राम, लक्ष्मण, भरत र शत्रुघ्न जन्मेका थिए । यो पनि एक प्रकारको नियोगप्रथा नै थियो । रामायणकालमा यसलाई अलिकति बंग्याएर प्रयोग गरे पनि महाभारतकालमा प्रष्टरूपले फैलिएको देखिन्छ । रामायणकालमै असुरका छोरी÷पत्नीहरू पनि प्रसिद्ध ऋषिहरूकहाँ गर्भधारणका लागि गएको प्रसङ्ग रामायणमा उल्लेख भएको देखिन्छ । प्राचीन कालमा एउटी स्त्रीलाई नियोगप्रथाद्वारा तीन पल्टसम्म क्षेत्रज सन्तान जन्माउने छुट थियो । द्वापरयुगमा पनि त्रेतायुग जस्तै नियोगप्रथाको प्रसँग आउँछ । राजा पाण्डु सन्तान जन्माउन सक्षम थिएनन् । त्यसैले त्यसबेलाको प्रचलन अनुसार आफ्नी पत्नी कुन्ती (पृथा) ले दुर्वासा ऋषिबाट बशीकरण मन्त्र प्राप्त गरेकी थिइन् । विवाह हुनुभन्दा पूवै कुन्तीले आफ्ना मन्त्रलाई जाच्न सूर्यभगवानलाई आह्वान गरेकी थिइन् । सूर्यभगवान तथा कुन्तीबाट कर्णको जन्म भएको थियो । पुनः आफ्ना पति पाण्डुको अनुरोध अनुसार कुन्तीले नियोगप्रथाद्वारा नै तीनजना प्रतापी छोराहरू क्रमशः युधिष्ठिर, भीमसेन र अर्जुनलाई जन्म दिएकी थिइन् । यस्ता बसीकरण मन्त्र आफ्नी सौतालाई समेत सिकाएकी थिइन् । सौता माद्रीले मन्त्रको प्रयोगले जुम्ल्याहा छोरा नकुल र सहदेवको जन्म दिएकी थिइन् । यसरी पाण्डुका पाँचै छोराहरूका जन्म नियोगप्रथाद्वारा नै भएको प्रमाण छ । महाभारत कै अर्को प्रसंगमा राजा सन्तनु र सत्यवतीका छोरा राजकुमार विचित्रवीर्यका दुईवटा रानीहरू अम्विका र अम्बालिकाले नियोगप्रथा अपनाएर नै घृतराष्ट्र र पाण्डुलाई जन्म दिएकी थिएन् । राजा सन्तनु र सत्यबतीका जेठा छोरा चित्राङ्गगत यक्षद्वारा मारिएका र कान्छा छोरा विचित्रवीर्य पनि विवाह भएको सात वर्षपछि निःसन्तान भै मरेका थिए ।

यसरी सत्यवतीले आफ् ना कुललाई मासिदा देखेर देवब्रत (भीष्म) लाई नियोगप्रथाद्वारा अम्बिका र अम्बालिकालाई सन्तान प्रदान गर्न अनुरोध गरिँदा आफ्नो अठोटमा दृढ देवब्रत (भीष्म) ले आमाको आज्ञालाई अस्वीकार गरेका थिए । त्यसपछि आमा र छोरा दुबै जनाको सल्लाहबाट ऋषि ब्यासलाई नियोगप्रथाद्वारा सन्तान जन्माउन सहयोग गर्ने निर्णय भयो । सत्यबती अविवाहित छँदै ऋषि परासरद्वारा गर्भवती भएकी थिइन् । यसरी सत्यबतीको कोखबाट ऋषि व्यासको जन्म भएको थियो । ऋषि परासर र सत्यवतीका छोरा ब्यासलाई हस्तिनापुरको दरबारमा बोलाइयो र ऋषि ब्यासलाई आफ्ना भाइका पत्नीहरू अम्बिका र अम्बालिकालाई नियोग प्रथाद्वारा पुत्र प्रदान गर्न राजमाता सत्यवतीले अनुरोध गर्दै आज्ञा दिइन् । ऋषि ब्यासले पनि आज्ञा शिरोपर गर्दै नियोगप्रथाद्वारा अम्बिकाले घृतराष्ट्र, अम्बालिकाले पाण्डु र दासीले बिदुरलाई जन्म दिएका थिए । यसरी हस्तिनापुरको दरबारलाई नियोगप्रथाबाट नै निरन्तरता दिएको देखिन्छ । पृथ्वीमा क्षेत्रीयहरूको अभाव भएको बेलामा ब्राह्मणहरूले क्षेत्रीय स्त्रीहरूलाई नियोग प्रथाद्वारा गर्भिणी बनाएर सन्तान जन्माएका थिए । क्षेत्रीयहरू ठूल्ठूला लडाइमा भाग लिँदा क्षेत्रीयहरू निकै संख् यामा वीरगति प्राप्त गर्ने हुँदा यसको स्थानलाई पूर्ति गर्न नियोगप्रथालाई चलनमा ल्याएका थिए । यस्तै औतथ्य नामक मुनिले पनि राजा बलिकी रानी सुदेष्णालाई नियोगप्रथाद्वारा नै गर्भिणी गराएर अङ्कनामको पुत्र जन्माउन मद्दत गरेका थिए । आपतकालमा स्त्रीहरूले नियोगप्रथाद्वारा सन्तान उत्पन्न गर्न सक्ने अधिकारका बारेमा मनुस्मृति नबौं अध्यायमा समेत उल्लेख छ । त्यहाँ उल्लेख भएअनुसार सन्तानको इच्छाले नियोगप्रथा अपनाउन तयार भएकी स्त्रीले देवर अथवा सजातीय पुरुषसँगै सहवास गरेर गर्भधारण गर्नु पर्दछ । मनुस्मृतिमा नियोगप्रथाको नियम कडाइसँग पालन गर्न दिर्देश दिएको छ । मनुस्मृति अनुसार एउटा मात्रै छोरो जन्माउने उद्देश्यले नियोगप्रथा अपनाउनु पर्दछ । कथंकदाचित् प्रथम सन् तान रोगी भएमा दोश्रो जन्माउनु धर्मोचित नै मानेको छ ।

नियोगप्रथाद्वारा जन्मिएका छोराहरूको सम्पत्तिको समान रूपमा विभाजन बारेमा पनि मनुस्मृतिमा चर्चा छ । यसरी प्राचीन समयको समाज सुचारू रूपमा सञ्चालन गर्न आफ्नो परिवारलाई मासिनबाट जोगाउन योग्य विद्वान र बुद्धिमान व्यक्तिहरूको जैविक सहयोगबाट पनि सन्तान जन्माउने प्रचलन थियो जसलाई आजपनि व्यवहारिक प्रचलनका रूपमा लिएका छन् । रामायण कालका महिलाहरूको विषयमा जान्न त्यसबेलाको समाजको स्थिति बुझ्न बाल्मीकीय रामायण प्रमुख मौलिक श्रोत हो । एउटी आदर्श पत्नीमा नैतिक गुणको अतिरिक्त शारीरिक आकर्षणको अपेक्षा गरिएको देखिन्छ । नियोगप्रथा बारे बुझ्न त्यसबेलाका सामाजिक मूल्य र मान्यता, महिलाहरूका अधिकार बारे पनि जानकारी राख्न आवश्यक देखिन्छ । त्यस बेला महिलाहरूलाई स्वदेश र विदेशका विशिष्ट पाहुनाहरूलाई उपहार दिने चलन थियो । राजा दशरथको श्राद्धक्रिया गर्दा भरतले ब्राह्मणहरूलाई दासीहरू र सवारी साधनहरू दान दिएका थिए । नियोगप्रथा बारे रामायणमा घुमाउरो पाराले उल्लेख भएपनि महाभारतमा प्रष्ट रूपले वर्णन गरिएको देखिन्छ । महाभारतमा रानीहरूले ऋषिहरूलाई प्रसन्न पारेर पाएको वरदानबाट फरक– फरक बाबुबाट सन्तान जन्माएको उल्लेख छ । यस कार्यमा घरको मूली महिलाको महत्वपूर्ण भूमिका देखिएको छ । आफ्ना खानदानलाई निरन्तरता दिन राजमाता सत्यवतीले खेलेको भूमिकालाई उदाहरणको रूपमा लिन सकिन्छ । यसरी आफ्नो बंश सञ्चालन र निरन्तरताका लागि पुरुषहरूले बनाएको नीति नियमको उदाहरण हो, नियोग प्रथा । यस लोक र परलोक दुबैबाट पार लगाउने सन्तान (छोरा) को कामना गरिन्थ्यो ।

प्रकृतिका अन्य प्राणीहरू जस्तै मानिसलाई पनि वंशबृद्धि गर्ने सूक्ष्म गुण जन्मैबाट प्राप्त छ । विभिन्न कारणले विवाहित स्त्री आफ्ना पतिद्वारा गर्भवती भइनछ भने अन्य पुरुषबाट सन्तान जन्माउन सक्ने व्यवहारिक चलन प्राचीनकालमा थियो । प्राचीनकालमा नियमबद्ध ढंगले अपनाइएको नियोगप्रथा प्रति सबैको सम्मान थियो । यसै कारणले समाजमा कसैलाई अपहेलित हुनु परेको थिएन । मध्यकालमा यस प्रथाप्रति केही कडाइ गरेको देखियो । विधवा महिलालाई पतिको मृत्युसँगै सती बनेर जानुपर्ने बाध्यता थियो । विस्तारै यस प्रथा प्रति समाजमा विरोध उठ्न थाल्यो । आधुनिक समाजसम्म आउँदा सतीप्रथा लगभग पूर्णरुपेण निस्तेज भैसकेको छ । आधुनिक समयमा सन्तानको रहर पूरा गर्न विभिन्न किसिमका आधारहरू अपनाउने गर्छन । अहिले विज्ञानको विकासले टेष्टट्यूब बैबीको अवधारणा ल्याएको छ । यसबाट पनि कतिपय पत्नी आफ्ना पतिबाट बच्चा जन्माउन असमर्थ देखिएको कुरालाई पूरा गरेको देखिन्छ । कतिपय पत्नी आफ्नै देवर वा नातामा पर्ने अन्य व्यक्तिको सहयोगमा सन्तान जन्माइ वंशलाई निरन्तरता दिएको देखिन्छ । अर्कोतिर पति बाँझो छ भने पत्निले पर पुरुषको बृज आफ्ना पाठेघरसम्म पु¥याई सन्तान जन्माएका छन् । मानिसका लागि सन्तान एउटा यस्तो प्राकृतिक इच्छा हो जसलाई जसरी पनि पूरा गर्न खोज्छ । अहिले नेपालमा आमाको नामले पनि नागरिकताको कुरो उठाउनुको अर्थ बाबुको अतोपतो नभएपनि सन्तान लिन खोजेको देखिन्छ । सन्तानले जैविक रहर मात्र पूरा गर्दैन यसका अतिरिक्त बुढेसकालको सहराको रूपमा सम्झेका हुन्छन् । सन्तान जन्मलाई शास्त्रसँग जोडेर बैध÷अवैधका कुरा उठाउने गरिन्छ तर हिन्दूधर्ममा यदि यसलाई मान्यता दिएको छ भने यसलाई शास्त्रसम्मत नै बुझ्नु पर्दछ । हुनत स्त्री पुरुष बीचको यस्ता सम्बन्धलाई विवाहले संस्थागत गरेको हुन्छ ।

विवाह पश्चात् पनि यदि कुनै यस्ता कारण देखिन्छ भने हाम्रा धर्मशास्त्रले यसको निवारण समेत देखाइ दिएको छ । पाप पुन्यका कुरा हामी शास्त्र अनुसार नै छुट्याउँने गरेका छौं । अहिलेपनि सन्तानको रहर पूरा गर्न धर्मपुत्र तथा धर्मपुत्री लिएर वंशको निरनतरता दिएका हुन्छन् तर यसभन्दा उत्तम उपाय स्त्री आफ्नै कोखबाट जन्माएका सन्तानलाई लिन सकिन्छ । इतिश्री ।

Comment


Related News

Latest News

Trending News