अपडेट 
२०७९ फाल्गुन ४, बिहीबार ०७:५५

मधेश प्रदेश सभाको विशेष समयमा बोल्ने प्रदेश सांसदहरुले भ्रष्टाचार र उपभोक्ता समितिमा केन्द्रित भएका छन् । विशेष समय लिएर बोल्ने सांसदहरुले मधेश प्रदेशबाट भ्रष्टाचारलाई शून्यमा झार्नुपर्ने तर्क गर्दै विगतमा उपभोक्ता समितिहरुले गरेको कामको भुक्तानी छिटो भन्दा छिटो गरेर जनतालाई राहत दिन सरकारलाई सुझाव दिएका छन् ।

प्रदेश सांसद दीपेन्द्र ठाकुरले प्रदेशमा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न प्रदेश सरकारलाई आग्रह गरेका थिए । उनले प्रदेश भित्र भइरहेको भ्रष्टाचार नियन्त्रण गर्नका लागि सबैजना आ–आफ् नो स्तरबाट लाग्नुपर्ने बताउँदै लाइसेन्स बनाउँदा बिना पैसाको काम नहुने समस्याले जनता हैरान रहेको बताए । उनले यातायात कार्यालयमा प्रदेश सरकारको तर्फबाट भएको अनुगमनलाई प्रशंसा गरेका थिए । सांसद शेषनारायण यादवले विगतका सरकारले कोल्ड स्टोरेज बनाएर भुक्तानी नदिँदा कृषकहरु समस्यामा परेको बताए । उनले कृषि प्रधान देशमा कृषकलाइ नै परेशान गर्न नहुने तर्क गरे । उनले कृषकलाई समयमा मल, बीउ बिजनलगायत सरकारबाट राहतका प्याकेज ल्याउनुपर्ने बताए । कृषकलाई अदालत र अख्तियारको बाटो नखोज्नु परोस तिर अग्रसर हुन सरकारलाई ध्यानाकर्षण गराएका थिए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधाम आउँदा एक सय करोडको प्याकेज दिए पनि प्रदेश सरकारले संघ सरकारलाई रकमकोलागि दबाव दिनुपर्नेमा जोड दिए ।

सांसद किरणकुमारी यादवले प्रदेश सरकारले जिल्ला प्रादेशिक अस्पताल नामकरण गरे पनि जनताको विश्वास भने अहिलेसम्म स्थापित हुन नसकेको गुनासो गरिन् । उनले प्रदेशको अर्थ नीतिमा सुधार नभएका कारण जनतामा आत्मदाह, आत्महत्यालगायतको भयावह अवस्था आएको बताए । उनले प्रदेश सरकारले भ्रष्टाचार नियन्त्रण गर्न तिर लाग्नुपर्ने धारणा राख्दै भौतिक संरचनाले मात्रै विकासको अनुभूति नहुने बताउँदै शिक्षा, स्वास्थ्यलगायतको क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राख्नुपर्ने बताइन् ।

सांसद चन्दनकुमार सिंहले महोत्तरीको जलेश्वरमा रहेको जलेश्वरनाथ महादेव मन्दिरमा महाशिवरात्रीको अवसरमा प्रदेश सरकारको उपस्थितिका लागि आग्रह गर्दै प्रदेश सरकार हरेक धर्म, संस्कृतिलगायतका क्षेत्रमा प्रदेश सरकारको अनुभूति जनताले गर्न पाउनुपर्ने माग गरेका थिए । उनले प्रदेशका आइटी सेक्टरलाई बलियो बनाउनुपर्ने विचार व्यक्त गरेका थिए ।

सांसद रानी शर्मा तिवारीले कृषि विश्व विद्यालयका कर्मचारी निवर्तमान मन्त्रीको कब्जामा रहेकोप्रति सरकारको ध्यानाकर्षण गराएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोबाइलको कलर ट्युनमा भ्रष्टाचार सम्बन्धी सूचना प्रशारण गरेकोप्रति उनले गीत सुनाएर भ्रष्टाचार नरुक्ने टिप्पणी गरिन् । उनले यातायात कार्यालयबाट प्रवाहित लाइसेन्स कार्ड लिनका लागि ६ महिनादेखि एक सालसम्म लाग्ने गरेका छन् । उनले भनिन्–‘प्रदेश सरकारले मेसिन आफै ल्याउनुपर्छ ।’ उनले स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि जलेश्वर अस्पताललाई ५० बेडबाट स्तरोन्नति गरी १०० बेडको बनाइ नर्सिङ्ग शिक्षालाई बढाबा दिनुपर्ने बताइन् ।

सांसद मालाकुमारी कर्णले मधेशमा समस्यानै समस्या रहेको बताउँदै आफ्नो पार्टी पनि सरकारमा रहेका कारण बोल्दा पार्टी र बोल्दा जनता रिसाउने भएका कारण संविधानको मर्यादा र मर्म विपरीत कार्य गर्न नदिन प्रदेश सरकारलाई आग्रह गर्दै निर्वाचनको बेला पार्टीहरुले घोषणा पत्रमा उल्लेख गरेका विषय बस्तुहरुलाई पालना गर्न गराउन पार्टीहरुलाई सुझाव दिए ।

सांसद रत्नेश्वर गोइत यादवले हुलाकी सडक गौरवशाली योजनामा रहे पनि अहिलेसम्म सम्पन्न हुन नसकेको र कमला पुल ३ वर्षको ठेक्कामा दिइएको र ७ वर्षमासमेत सम्पन्न हुन नसकेको भन्दै सदनलाई ध्यानाकर्षण गराउँदै प्रदेश सरकारलाई केन्द्र सरकारसंग समन्वय गर्न सुझाव दिदै पुल निर्माण भएपछि मधेश प्रदेशको लाइफलाइन मानिने हुलाकी सडक सञ्चालनमा आउँदा मधेश प्रदेशको विकासमा टेवा पुग्ने बताए । सांसद उर्मिला देवी सिंहले महिला स्वयम सेविकाहरुलाई भत्ताको भर रहेको बताउँदै उनीहरुलाई तलव प्रदान गर्न सरकारसंग आग्रह गरिन् । सांसद प्रमोद प्रसाद जयसवालले मधेश प्रदेश सरकारले युवाहरु टीम पाएको छ प्रदेशमा विद्यमान असारे विकासलाई निरुत्साहित गर्नुपर्ने बताए ।

सांसद जिवछीकुमारी यादवले शिक्षा बिनाको प्रदेश मेरुदण्ड बिनाको हुने बताउँदै गुणस्तरीय शिक्षाकोलागि १० इमान्दार शिक्षकको आवश्यक रहेको बताए । उनले प्रदेशमा ४० हजार राहत शिक्षक छन् उनीहरु आफै शंकटमा रहेको बेला गुणस्तरीय शिक्षाको अपेक्षा पनि गर्न नसकिने टिप्पणी गरिन् ।

सांसद ललिता दासले प्रदेशमा शिक्षा र स्वास्थ्य प्रमुख रहे पनि प्रदेश सरकारको ध्यानाकर्षण हुन नसकेको हो कि भनि प्रश्न गरेकी थिइन् । उनले समानुपातिक सांसदको संसदीय विकास कोषको रकममा वृद्धि गर्नुपर्ने तर्क गरिन् । सांसद उपेन्द्र महतोले जन्मसिद्धको आधारमा नागरिकता पाएका छोराछोरीले नागरिकता पाउन कठिनाइ भइरहँदा नागरिकता परित्याग गरी विदेशी नागरिकता लिएकाहरु सामान्य रुपमा फेरि नागरिकता लिनसक्ने कानूनलाई संशोधन गराउन केन्द्र सरकारलाई दबाब दिन प्रदेश सरकारलाई आग्रह गरे ।

सांसद सतिशकुमार सिंहले विगतका सरकारका गन्ध फेरि नओस भनि सरकारलाई सचेत गराएका थिए । उनले निजगढ विमान स्थल जग्गा दलाल र काठ तस्करहरुको लागि बनाउन लागेको आरोप लगाउँदै भारतको अन्तर्राष्ट्रिय विमानस्थल क्षत्रपति शिवाजी ७ सय ५० हेक्टर जग्गामा रहेको छ तर यहाँ हेक्टरका हेक्टर जग्गामा रहेको सालका २५ लाख ठूला काठ कटान गरिने योजनाप्रति सरकारको ध्यानाकर्षण गराए । उनले ३० अर्वको लगानीमा विमान स्थल नभइ मलको कारखाना खोल्नुपर्ने बताए ।

सांसद शारदा देवी थापाले सरकारलाई जनताप्रति उत्तरदायित्व भइ अगाडि बढ्न सुझाव दिदै पूर्व सरकारले बनाएको योजनालाई नरोकी कार्यान्वयनमा ल्याउन आग्रह गरिन् ।

सांसद श्यामप्रसाद पटेलले आय आर्जन, कृषि उन्मुख खादमलको समस्या झेलिरहेका मधेश प्रदेशका किसानकालाई राहतका प्याकेज ल्याउनुपर्ने बताए ।

सांसद शोभा देवीले गौर– इशनाथ नगरपालिकाका जनता पुलका लागि आन्दोलित रहेको जानकारी दिँदै हजारौं जनता पुलको प्रतीक्षामा रहेको सदनमा जानकारी गराएकी थिइन् ।

सदनमा सांसद राजेन्द्रप्रसाद चौधरीले भ्रष्टाचार कुरीति र अव्यवस्थितले बदनाम मधेश प्रदेश सरकारमाथि उठ्नुपर्ने बताए । उनले लहान क्याम्पसमा प्रदेश सरकारले १० लाखको योजना दिएको तर, निवर्तमान मन्त्री नवलकिशोर साहका छोराले सो योजनाको पत्र बुझेको र काम भन्दा पहिलानै कमिसन मागेको सदनमा जानकारी गराए ।

सदनमा सांसद मनोजकुमार सिंहले वित्तीय व्यवस्था एक रंगी विरंगी रहेको टिप्पणी गरे । उनले विकास बैंक र सरकारी बैंकको ब्याजदर सदनमा जानकारी गराउँदै दुबै बैंकहरुको ब्याजदर कसरी बराबर गर्न सकिन्छ त्यसको जवाफ माग गरेका थिए । उनले मधेश प्रदेशमा उद्योग कलकारखाना रहे पनि त्यसमा ९० प्रतिशत विदेशी र १० प्रतिशत स्वदेशी मजदुर रहेको जानकारी गराए ।

सदनको अर्को बैठक फागुन ४ गते दिनको ११ बजे बस्ने गरी स्थगित गरिएको थियो ।

प्रदेशसभाका समितिहरुलाई पूर्णता

मधेश प्रदेश सभाले सभाका समितिहरुलाई पूर्णता दिएको छ । प्रदेशसभा अन्तर्गत रहेका विभिन्न ७ समितिलाई पूर्णता दिइएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश अन्तर्गत रहेको सार्वजनिक लेखा समिति, अर्थ तथा योजना समिति, प्रदेश मामिला समिति, विकास समिति, प्राकृतिक श्रोत तथा वातावरण समिति, कृषि तथा भूमि व्यवस्था समिति र महिला बालबालिका तथा सामाजिक न्याय समितिलाई बुधवार बसेको प्रदेशसभाको बैठकले अनुमोदन गरेको प्रदेश सभाका सचिव रञ्जित यादबले जानकारी दिए ।

प्रदेशसभा सञ्चालन नियमाबली २०७५ नियम १३ बमोजिम बैठकमा पेश हुने विषयहरुको प्राथमिकता समयावधिलगायत बैठकले त्यसको व्यवस्थापन गर्ने सम्बन्धमा र सभामुखले आवश्यक ठहराइएको अन्य विषयमा परामर्शकोलागि गठन गरिने कार्य व्यवस्था परामर्श समितिमा लखन दास तत्मा, हरिनारायण महतो, कुमरकान्त झा, जिवछीकुमारी यादव, रामअशिष यादव, चन्दनकुमार सिंह, रानीकुमारी तिवारी, रत्नेश्वर गोइत यादव, कञ्चन विच्छा, विमला अन्सारी तुं, उर्मिला देवी सिंह र माओवादीबाट सदस्य आउन बाँकी रहेको जनाइएको छ । त्यस्तै, प्रदेशसभा कार्यसञ्चालन २०७५ को नियम १४६ बमोजिम सार्वजनिक लेखा समितिमा अभिराम शर्मा,उपेन्द्र महतो, कनिस पटेल, चन्दनकुमार सिंह, जनाद्र्धन सिंह क्षेत्री, मञ्जुकुमारी थापा मगर, मनिषकुमार सुमन, युवराज भट्टराई, रामअशिष यादव, रेखा ठाकुर, लखन दास तत्मा, शंकर प्रसाद चौधरी, शेषनारायण यादव र हरिनारायण महतोलाई प्रदेशसभा सदस्यहरुले अनुमोदन गरेका छन् । त्यस्तै,त्यही नियम बमोजिम अर्थ तथा योजना समितिमा जंगीलाल राय, जयनव खातुन, दीपेन्द्रकुमार ठाकुर, प्रमोदकुमार यादव, पूmलो कुमारी देवी, मालाकुमारी कर्ण, राजकुमार गुप्ता, रामबाबु यादव, श्याम प्रसाद पटेल, संजयकुमार महतो, सकिल मिया र सतिशकुमार सिंहलाई अनुमोदन गरेको छ । त्यस्तै,भूमि व्यवस्था समितिमा अनिताकुमारी साह, कौशल किशोर राय, निलमकुमारी रजक, पलटी देवी यादव, वच्चा राउत अहिर, रज्जी हैदर, मो. समिम, रमेशप्रसाद कुर्मी, लक्ष्मी देवी, सहिदा खातुन, शारदा देवी थापा, उर्मिला देवी सिंह सदस्य रहेका छन् ।

त्यस्तै,प्रदेश मामिला समितिमा कृष्णप्रसाद यादव, जिवछीकुमारी यादव, त्रिलोकी प्रसाद, भरतप्रसाद साह, रमिता प्रधान, राजपति देवी जयसवाल, लालबाबु राउत, वीरेन्द्रप्रसाद सिंह, बेची लुङ्गेली, सरोजकुमार सिंह र हसिना खातुन रहेकी छन् । त्यस्तै,प्राकृतिक श्रोत तथा वातावरण समितिमा इन्दुकुमारी साह, गोविन्दबहादुर न्यौपाने, जितेन्द्रप्रसाद सोनार, त्रिभुवन साह, देवनारायण थारु, नागेन्द्र साह, नुरुन नेसा, मनोजकुमार सिंह, विन्दुकुमारी यादव, शारदा पहाडी र ममता देवी मण्डल रहेका छन् । त्यस्तै,महिला बालबालिका तथा सामाजिक न्याय समितिमा अञ्जना पण्डित, अनिरुद्धकुमार सिंह, किरणकुमारी, किशोरी देवी, कुमरकान्त झा, जयचन्द प्रसाद पटेल, फकिरा महतो, भाग्यश्री चौधरी, मञ्जुकुमारी मण्डल, रानीकुमारी तिवारी, रुपाकुमारी यादव, ललिता दास, विना देवी शर्मा र सकुन्ती देवी रहेका छन्। त्यस्तै,विकास समितिमा शारदा शंकर प्रसाद कलवार, कञ्चन विच्छा, जयनुल राइन, जवाहरलाल कुशवाहा, प्रमोदकुमार जयसवाल, शोभा देवी, मो. समिर, मिनाकुमारी लामा, रत्नेश्वर गोइत यादव, रविन्द्र दास श्रेष्ठ, राजेन्द्र प्रसाद चौधरी थारु, राम सरोज यादव, शम्भुकुमार साह, सुनिलकुमार यादव र विमला अंसारी तरुणु रहेको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News