अपडेट 
२०७९ फाल्गुन ४, बिहीबार ०८:०९

सिर्सिया नदी प्रदूषित गर्ने उद्योगलाई कडा कारबाही गर्ने निर्णय गरिएको छ ।

सिर्सिया नदी नियन्त्रण समितिले वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरमा रहेका उद्योगहरुले नदी प्रदूषण गरे कडा कारबाही गर्ने निर्णय गरेको छ । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको समितिको बैठकले प्रदूषित पानीलगायत उद्योगबाट निस्केको फोहोर सोझै नदीमा हाल्ने उद्योगलाई कारबाही गर्ने निर्णय गरेको छ । समितिले यसअघि पटक– पटक अनुगमन गर्दा अधिकांश उद्योगहरुले अटेरी गरी फोहोर पानी फाल्दै आएकाले अब कडा कारबाही अगाडि बढाउने निर्णय गरिएको बताइएको छ । बैठकले वीरगञ्ज उद्योग वाणिज्य संघ र बारा उधोग बाणिज्य संघलाई पत्राचार गरेर कारबाहीेबारे ध्यानाकर्षण गराउनुका साथै जरिवाना प्रक्रिया अघि बढाउने समेत निर्णय गरिएको महानगरपालिकाले जनाएको छ । अनुगमन समितिको प्रतिवेदनका आधारमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको ऐन अनुसार जरिवाना गर्ने निर्णय गरिएको महानगर प्रमुख राजेशमान सिंहले बताए । उलने भने,‘अब अटेरी गर्ने उद्योगलाई कुनै पनि हालतमा छाडिँदैन,कडा भन्दा कडा कानूनी कारबाही हुन्छ ।’

यस्तै बैठकले जरिवाना गर्दा पनि फोहोरजन्य पानी नदीमा मिसाउन नछाडे त्यस्ता उद्योगलाई कालो सूचीमा राख्न प्रदेश तथा संघ सरकारलाई सिफारिश गरिने निर्णय समेत गरिएको छ । बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले प्रक्रिया मिचेर विधि एवं कानून विपरीत सञ्चालित उद्योगलाई कारबाही नगर्दासम्म नदी प्रदूषण मुक्त नबन्ने धारणा राखे । उनले उद्योगीहरु जिम्मेवार भएर पर्यावरण जोगाउन लाग्नु पर्नेमा नदी फोहोर बनाउन उद्धत देखिएकाले त्यसलाई नियन्त्रण गर्न अब जरिवाना गर्नुपर्ने अवस्था आएको बताए । बाराको जितपुर सिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका र पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्र भएर बग्ने नदीलाई यी तीनै स्थानीय तहसँगै जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रशासन कार्यालय पर्साको सयुँक्त सहकार्यमा प्रभावकारी रुपमा काम गर्नुपर्ने बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए । बाराको जितपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारी पनि सिर्सिया नदीलाई प्रदूषण मुक्त बनाउन जितपुर सिमरा उपमहानगरले सक्दो प्रयास गरिरहेको उल्लेख गरे ।

वीरगञ्ज उद्योग वाणिज्य संघका प्रमुख प्रशासकीय अधिकृत मनोज उपाध्यायले वीरगञ्ज उद्योग वाणिज्य संघ नदीलाई स्वच्छ बनाउने विषयमा गम्भिर भएको बताए । उद्योगी व्यवसायीलाई नियम लगाएर बाध्यकारी बनाउने निकाय संघ नभएको बताउँदै ,उनले सबैसँग समन्वय गरिदिने काममा संघले कुनै कसर बाँकी नराख्ने बताए । सिर्सिया नदी मात्रै नभएर सभ्यता एवम् संस्कृतिसँग जोडिएको धरोहर भएको हुँदा यसलाई सफा बनाउन सबैले एकवद्ध भएर काम गर्नुपर्ने र गल्ती गर्नेलाई दण्ड गर्दा उद्योग वाणिज्य संघले बचाउ नगर्ने पनि उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

Comment

Related News