२०७९ फाल्गुन ४, बिहीबार १६:४०

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानुन बनाउनुपर्ने बताउनुभएको छ ।

बिहीवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानुन बनाउनुपर्ने बताउनुभएको हो । उहाँले अन्तिम मतदाता नामावलीमा नाम प्रकाशित भएका मतदाताले अस्थायी बसोवास भएको ठाउँबाट पनि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान गर्न पाउनुपर्ने बताउनुभयो । उहाँले कर्मचारी र कैदीबन्दीलाई यसै पटक समानुपातिकमा मतदान गर्न दिइएको उल्लेख गर्दै आउँदा दिनमा कानुन बनाएर आम मतदातालाई मतदान गर्न दिइनुपर्ने बताउनुभयो । यस्तो व्यवस्था गर्न सकेमा मतदान गर्नेको सङ्ख्या बढ्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘तपाईँ काठमाण्डाैमा एउटा एनजीओमा काम गरिरहनुभएको छ तर तपाईँको घर चाहिँ मनाङ वा ताप्लेजुङ हो भने तपाईँले भोट नै हाल्न नपाउने भन्ने हुन्छ ? जो जहाँ छ त्यहीँबाट कम्तीमा पनि समानुपातिकतर्फबाट भोट हाल्न पाउने कुराको ग्यारेन्टी गर्ने गरी कानुन बनाउनुपर्छ । कर्मचारीलाई त दियौँ हामीले यो पल्ट । कैदीबन्दीलाई पनि दियौँ । तपाईँ कैदीबन्दीभन्दा पनि कमजोर हो र ? यसो गर्‍याे भने मत त यसै बढ्यो नि । विदेशमा बसेका मतदाताको कुरा होला । यसरी जानुपर्छ ।’

प्रमुख आयुक्त थपलियाले जनअनुमोदित राजनीतिक दलहरूलाई मात्रै सर्वदलीय बैठकमा समावेश गराउने प्रावधान राख्ने गरी आयोगले निर्णय गर्न लागेको बताउनुभयो । उहाँले जिल्लामा सर्वदलीय बैठक राख्नुपरेमा त्याे जिल्लामा पार्टीको जिल्ला समितिको विवरण पेस गरेको, प्रतिनिधि सभा, प्रदेश सभा र पालिकामा प्रतिनिधित्व गरेको दलहरूलाई मात्रै बोलाउन आफूले निर्देशन दिएको बताउनुभयो । दल दर्ता गर्नु उपलब्धि नभएर नागरिकद्वारा अनुमोदित हुनु र वैद्यता सिर्जना गर्नु ठूलो कुरा भएको उहाँकाे भनाइ छ ।

प्रमुख आयुक्त थपलियाले आयोगले समावेशिता र लैङ्गीक समानतालाई अत्यधिक समेटेर निर्वाचन कानुन तयार गरिरहेको पनि जानकारी दिनुभयाे ।

Comment


Related News

Latest News

Trending News