
वीरगन्जमा प्रतिबन्धित लागुऔषध सहित सर्लाही र धादिङका चार जना युवक पक्राउ परेका छन् ।
भारतको रक्सौलबाट लागुऔषध लिएर आएका उनिहरुलाई प्रहरीले बुधबार बेलुकी वीरगन्ज महानगरपालिका वडा नंबर १६ स्थित डाँफे होटलबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर ८ का १९ वर्षिय राज मन्सुरी , १९ वर्षका विशाल मोक्तान , वडा नम्बर ७ का २० वर्षिय राजु राना मगर र धादिङको गजुरी नगरपालिका वडा नम्बर २ का २० वर्षिय अजय तमांग रहेका छन् ।
उनिहरुको साथबाट प्रतिबन्धित लागु औषध डाइजेपाम–५० एम्पुल, नुरफिन–५० एम्पुल, फेनारगन–५० एम्पुल बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।
विशेष सुचनाको आधारमा प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले होटलमा पुगेर खानतलाशी गर्दा ती युवकहरुले प्लाष्टिकको झोलामा लुकाइ छिपाइ राखेको लागु औषध बरामद गरेको गिरिले बताए ।
उनिहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसन्धान भइरहेको गिरिले जानकारी दिए ।