अपडेट 
२०७९ फाल्गुन ५, शुक्रबार ०८:०६

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले महानगरलाई हरियाली र सुन्दर बनाउने काम भइरहेको बताएका छन् ।

वीरगञ्ज महानगरपालिकाले आयोजना गरेको वन वातावरण तथा वन उद्यम सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रमको समापन समारोहमा मेयर सिंहले सो कुरा बताएका छन् । उनले वातावरण संरक्षणका लागि वृक्षरोपण गर्नुपर्ने अहिलेको घनिभूत आवश्यकता समेत औंल्याए । महानगरका विभिन्न स्थानमा रहेका खाली जग्गामा वृक्षरोपण गरेर हरियाली र स्वच्छ बनाउनेतर्फ महानगर लागिपरेको प्रमुख सिंहले बताए । वृक्षारोपण मात्र होइन बोट बिरुवाको संरक्षणका लागि समेत महानगरले योजना बनाएको उनले जानकारी दिए । अभिमुखीकरणमा प्रशिक्षण दिँदै वातावरण संरक्षण र गरिबी निवारणका लागि वनको विस्तार गर्नुपर्ने डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत फर्मान मियाँले बताए । मियाँले वनमार्फत समृद्धि हासिल गर्न सकिने धारणा राखे ।

समृद्धिका लागि वन परियोजना अन्तर्गत वीरगञ्ज महानगरपालिकाका ३२ वटै वडाका वडाअध्यक्ष एवम् सचिवहरुको लागि आयोजित अभिमुखीकरण कार्यक्रमको अवसरमा मियाँले जलवायु, मौसम र वातावरणका बारेमा प्रकाश पारेका थिए । तापक्रम, वर्षा र वायु चाप नै मौसम र जलवायुका मापदण्ड भएको उनले प्रष्ट पारे ।

हरित गृह ग्यासको उत्सर्जन र यसले पार्ने प्रभावसँगै वनमार्फत यसलाई न्यूनीकरण गर्न सकिने बारेमा पनि उनले जानकारी गराए । औद्योगिकरण, सवारी साधन, फोहोर, वन विनाश आदिका कारण हरित गृह ग्यासको उत्पादन बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले पृथ्वीको सुरक्षाका लागि रुख रोप्नुको विकल्प नरहेको स्पष्ट पारे । नेपालसँग १२ लाख मेट्रिक टन कार्बन उत्सर्जन गर्ने क्षमता रहेको समेत उनले जानकारी दिए । अभिमुखीकरणमा वन प्राविधिक दशरथ रौनियारले वनमा आधारित उद्यमका बारेमा जानकारी गराउँदै वनमा आधारित उद्यम सञ्चालनका लागि बैंक एवम् वित्तीय संस्थाबाट ऋण लिँदा ९ प्रतिशत भन्दा बढी ब्याज लिन नमिल्ने बताए ।

Comment

Related News

Latest News

Trending News