
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाललाई धार्मिक पर्यटीय गन्तव्यको रुपमा विकास गर्नु जरुरी रहेको बताएका छन् । रौतहटको मौलापुर नगरपालिका–५, पतौरास्थित पुरातात्विक महादेव मन्दिरको प्राङ्गणमा शुक्रवार मधानी महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सो कुरा बताएका छन् ।
विभिन्न प्राकृतिक र साँस्कृतिक सम्पदाहरुले नेपाल विश्वकै उत्कृष्ट पर्यटन गन्तव्य रहेको बताउँदै उनले भने,‘विश्वकै अग्ला स्थान, नदिनाला, दुर्लभ वन्यजन्तु, वनजंगल, हिमश्रृंखलाहरु, मनोरम हरियाली, विश्वमै शान्तिको प्रतिक भगवान गौतम बुद्धको जन्मभूमि, जानकी सिताको जन्मभूमि, पशुपतिनाथ जस्ता थुप्रै धार्मिक आस्थाका केन्द्रहरु नेपालमै रहेकोले नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने प्रशस्त सम्भावना बोकेको मुलुक हो ।’ पर्यटन विकासको माध्यमले देशको अर्थतन्त्रलाई सुधार गर्दै विकास र समृद्धिको जनआकांक्षा पुरा गर्न सकिने धारणा राख्दै उनले संघीय, प्रदेश र स्थानीय सरकारका साथै पर्यटन व्यवसायीहरु हातेमालो गरेर अघि बढ्नु पर्ने जरुरी रहेको बताए । नेपालमा थुप्रै पुरातात्विक, प्राकृतिक तथा ऐतिहासिक साँस्कृतिक सम्पदाहरु रहेको चर्चा गर्दै उनले नेपालको यस्ता प्राकृतिक तथा साँस्कृतिक सम्पदाहरुले विश्वभरिका पर्यटकहरुलाई नेपाल तर्फ आकर्षित गरेको उल्लेख गरे । मौलापुर पतौरा स्थित रहेको प्राचीन एवं पुरातात्विक महादेव मन्दिर देशकै उत्कृष्ट पर्यटन गन्तव्य मध्येको एक रहेको बताउँदै उपराष्ट्रपति नन्दबहादुर पुनले यस पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गराउन आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
जनकपुरको जानकी मन्दिर, गढिमाई मन्दिर, बारा सिम्रौनगढका ठूलो इतिहास बोकेको सम्पदासहित रौतहटको शिवनगर स्थितको महादेव मन्दिर, मौलापुर पतौराको हजारौ वर्ष पुरानो कर्नाटकालीन पुरातात्विक महादेव मन्दिर जस्ता ऐतिहासिक सम्पदाहरु विश्व सम्पदा सूचीमा समावेश हुनुपर्ने धारणा कार्यक्रमका वक्ताहरुले राखेका थिए ।