अपडेट 
२०७९ फाल्गुन ६, शनिबार ०९:१३

लक्ष्मिनियाँ गाउँपालिका–२ सोहनी स्थित सोमेश्वरनाथ महादेव मन्दिर परिसरमा महावीर झण्डा मेलाको आयोजना हुने भएको छ । शनिबार महाशिवरात्रिको अवसर पारेर महावीर झण्डा मेलाको एक समारोहबीच उद्घाटन हुने मन्दिरका मुख्य पुजारी भोला यादवले जानकारी दिएका छन् ।

झण्डा मेलाको लागि महावीरको भव्य झण्डाको साथ साथै दर्शनका लागि विभिन्न देवी देउताहरुको मूर्ति निर्माण गरिएको छ । शनिबार कलश यात्राको आयोजना गरी सोमेश्वरनाथ महादेव मन्दिरमा पूजा अर्चना प्रारम्भ गर्नुका साथै सोही दिनदेखि महावीर झण्डा मेला समेत प्रारम्भ गरिने पुजारी यादवले जानकारी दिए । त्यसैगरी शिवरात्रिको अवसरमा शनिबार राति जागरण कार्यक्रमको आयोजना गरिने भएको छ भने स्थानीय पोखरिमा गंगाआरती गर्ने जनाइएको छ । मेलाको लागि शिव मन्दिरलाई बेहुली झैं सिंगारिएको छ भने मन्दिरको छेउमै अवस्थित पोखरिलाई सजाउँदै ढुंगाले निर्माण गरिएका विभिन्न देवी देउताका मूर्तिहरुलाई रंगरोगन गरिएको छ । मेलाको सम्पूर्ण तयारी भइसकेको छ ।

त्यस्तै आइतबारदेखि सात दिन सम्म पहलवानी (कुस्ती),मिथिलाको लोक नृत्य झरी–झरी तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना गर्दै झण्डा मेलाको उत्सव मनाइने बुझिएको छ । मेलाको अन्तिम दिन फागुन ११ गते एक समारोहको आयोजना गरी मेलाको समापन कार्यक्रमको आयोजना गरिनेछ । करिब सात लाख रकम खर्च हुने अनुमान गरिएको मेला व्यवस्थापनका लागि स्थानीयवासीहरुसंग चन्दा संकलन गरिएको छ भने कुनै पनि निकायबाट सहयोग नपाएको आयोजकले बताएको छ ।

Comment

Related News