अपडेट 
२०७९ फाल्गुन ७, आईतवार ०७:४२

रौतहट जिल्लाको मौलापुर नगरपालिकाले हरेक वर्ष आयोजनागर्दै आएको मधानी महोत्सवमा करोडौ आर्थिक अनियमितता हुने गरेको छ ।

भारतका भोजपुरी गायक, नर्तकीहरु ल्याएर आयोजना गरिने मधानी कार्यक्रममा मोलापुर नगरपालिकाले हरेक वर्ष १० करोड भन्दा बढी खर्च गरेको लेखापरीक्षकको प्रतिवेदनबाट देखिएको छ । मधानी महोत्सव भनिए पनि त्यसको प्रमुख आकर्षण भारतीय छाडा भोजपुरी गीत र नृत्य रहेको छ । शुक्रबारदेखि सुरु भएको मधानी महोत्सव शनिबार सम्पन्न भएको छ । महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रबार गरेका थिए । शनिबार भोजपुरी कलाकारहरुको प्रदर्शनपछि सकिएको छ । नगरपालिकाले आयोजना गर्ने मधानी महोत्सवमा करोडौ खर्चेर भारतीय भोजपुरी कलाकारहरुलाई ल्याउने कार्यको स्थानीय बुद्धिजिवीहरुले तीव्र विरोध गरिरहेका छन् । प्रतिनिधिसभाका स्वतन्त्र सांसद प्रभुख साहकी पत्नी किरण साह मौलापुर नगरपालिकाकी मेयर हुन् । उनी दोस्रोपटक निर्वाचित भएकी छिन् ।

मधानी महोत्सवका लागि नगरपालिकाले गर्ने बजेट विनियोजनको भन्दा धेरै बढी खर्च हुने गरेको बताइन्छ । मधानी महोत्सवको नाममा गरिएको खर्च मध्ये लेखापरीक्षण प्रतिवेदनमा ५१ करोड बढी बेरुजु देखाइएको छ । आर्थिक नियम कानून विपरीत गरिएको सो खर्चलाई लेखा परीक्षणमा बेरुजु देखाइए पनि यस वर्ष पनि करोडौ खर्च गरिएको छ । अश्लिल भोजपुरी गीतमा नाच्ने, झुम्ने दर्शकहरुको अव्यवस्थित उपस्थितिले हरेक वर्ष झै–झगडा समेत हुने गरेको छ ।

कयौं सय दर्शकहरु उभिएर नै भोजपुरी कलाकारहरुको नाचगान हेर्ने गरेका छन् । मौलापुरमा मधानी स्थानलाई पुरातात्विक र संस्कृतिक महत्वको भएको बताइन्छ ।त्यहाँ शिवलिंग पनि रहेका छन् । मधानी महोत्सवको आयोजना राम्रो भए पनि त्यसमा हुने भोजपुरी नाचगानको खर्च अस्वभाविक रहेको मौलापुर नगरपालिका–३ का दिनेश साहले बताए । ‘महोत्सवको नाममा अनावश्यक खर्च देखाइन्छ’ उनले भने, महोत्सवमा नगरपालिकाले गर्ने खर्चमा भारी भ्रष्टाचार पनि हुने गरेको छ । मौलापुर नगरपालिका ऋणमा चलिरहेको छ । नगरपालिकाको वार्षिक बजेट भन्दा कयौं गुणा बढी खर्च अगावै हुने गरेको छ । ऋणभारमा रहेकाले आन्तरिक स्रोतबाट विकास निर्माणको काम ठप्प रहेको छ । नगरपालिकाले वार्षिक रुपमा सर्वाधिक एउटै शीर्षक मधानी महोत्सवमा खर्च गर्दै आएको छ । यस वर्ष भारतीय भोजपुरी कलाकारहरु पवन सिंह, काजल राघवानी लगायत दर्जन बढी रहेका छन् ।उनीहरुलाई दिइने पारिश्रमिकको भन्दा धेरै बढी खर्च देखाएर आर्थिक अनियमितता हुने गरेको आरोप विपक्षी दलका नेताहरुले लगाउँदै आएका छन् ।

देशका अतिविशिष्ट व्यक्तित्वहरुलाई आमन्त्रण गरी महोत्सवको उद्घाटन गराएर आर्थिक अनियमितताको ढाकछोप गर्ने गरिएको उनीहरुको आरोप छ ।

Comment


Related News