अपडेट 
२०७९ फाल्गुन ७, आईतवार ०८:१९

धार्मिक तथा सांस्कृतिक नगरी जनकपुरधामसहित धनुषा जिल्लाका विभिन्न ठाउँमा अवस्थित शिव मन्दिर हरूमा शनिबार बिहानैदेखि भक्तजनहरूको ठूलो भीड लागेको थियो ।

महाशिवरात्रिका दिन बिहानैदेखि जनकपुरधामको शिव चोकमा रहेको चतुर्भुज महादेव मन्दिर, स्वर्गद्वार स्मशानघाट, जनकपुरधामको चार कुनामा रहेको प्राचीन शिव मन्दिरहरू कपिलेश्वर महादेव, कुशेश्वर महादेव, धनुषाधामको धनुष मन्दिर, क्षीरेश्वरनाथ मन्दिरमा पूजा आराधना गर्ने भक्तजनहरूको ठूलो भीड लागेको थियो । त्यस्तै महोत्तरीको जलेश्वरमा रहेको शिव मन्दिरमा पनि भक्तजनहरूको बिहानैदेखि घुँइचो लागेको थियो । जलभित्र विराजमान भएका जलेश्वरनाथ मन्दिरको पानी महाशिवरात्रिमा बाहिर निकालेर शिवलिङ्गको दर्शनको व्यवस्था महाशिवरात्रिमा पनि हुने गरेको छ । जलेश्वर महादेवको दर्शन गर्नका लागि भारतबाट पनि ठूलो संख्यामा भक्तजनहरू नेपाल आउने गरेका छन् । जनकपुरधामको प्राचीन शिव मन्दिरहरूमा बिहानैदेखि भक्तजनहरूको अत्यधिक भीडलाई ध्यानमा राखेर प्रहरीले भक्तजनहरूलाई व्यवस्थित रुपमा पूजा आराधनाको लागि सहज बनाइनुका साथै ठाउँ ठाउँमा ट्राफिकको व्यवस्थापनलाई सहज बनाइएको छ । भक्तजनहरुले शिवलाई चढाउन पवित्र मानिएको भाङ, धतुरो, बेलपत्र, फूल माला, दूध तथा जल अर्पण गर्दै देखिएका थिए ।

आजको दिन मिथिलाञ्चलमा महिला पुरुष मात्र होइन स साना बालबालिकाहरु पनि दिनभर व्रत बस्ने गरेका छन् । भगवान् शिवको पूजा आराधना जुनसुकै वर्ग तथा उमेरका व्यक्तिहरूले गर्न मिल्ने भएकाले सबै उमेर समूहका शिवभक्तहरू शिवालयमा दर्शन गर्न आएका छन् महाशिवरात्रिको दिन सच्चा मनले आदि देव महादेवको पूजा आराधना गर्दा सबै प्रकारको इच्छा आकाँक्षा पूरा हुने धार्मिक जनविश्वास रहेको छ ।

Comment

Related News