
रक्तदान कार्यक्रममा सहभागी भएका एम्बुलेन्स चालकहरुलाई सम्मान गरिएको छ ।
शनिबार जनकपुरधामस्थित म्याक्स अस्पतालको सभाकक्षमा संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल र ट्रेड युनियन संघ धनुषा शाखा द्वारा आयोजित आठाँैवार्षिकोत्सवको अवसरमा रक्तदान गर्ने २२ जना एम्बुलेन्स चालकहरुलाई सम्मान गरिएको छ । कार्यक्रमको अवसरमा संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल र ट्रेड युनियन संघका केन्द्रीय सदस्य महाशंकर ठाकुरले सर्वसाधारणहरुमा अझै पनि रक्तदानबारे नकारात्मक धारणा व्याप्त रहेकोले रक्तदान कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । २४ घण्टे काममा लागेका एम्बुलेन्स चालकहरुले रगतदान गरेर सराहनीय काम गरेको उनले बताए ।
सम्मान कार्यक्रममा म्याक्सलाइफका डा. कृष्णा कुमार साहले आगामी दिनमा पनि रक्तदान कार्यक्रमको लागि यो अस्पताल हरेक प्रकारले सहयोगी भूमिका निर्वहन गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा अध्यक्षता गरेका संयुक्त एम्बुलेन्स चालक संघ धनुषाका अध्यक्ष अरमान कुमार साह, नेपाल रेडक्रसका नारायण न्यौपानेलगायतले रक्तदान गर्नेहरुलाई प्रमाणपत्र वितरण एवं खादा लगाई शुभकामना समेत व्यक्त गरेका थिए ।