अपडेट 
२०७९ फाल्गुन ८, सोमबार ०६:१२

जनता समाजवादी पार्टी(जसपा) नेपालले पार्टीको विधान अधिवेशन चैतको २७, २८ र २९ गते गर्ने निर्णय गरेको छ ।

आइतबारदेखि पार्टी मुख्यालय बालकुमारीमा सुरु भएको पार्टीको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको कार्यकारिणी सदस्य राजकिशोर यादवले बताए । पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकमा विधान अधिवेशनकालागि गठित विधान मस्यौदा समितिले काम गरिरहेको र अधिवेशन अगावै प्रतिवेदन तयार हुने जानकारी दिइएको छ । विधान संशोधन मस्यौदा समितिको संयोजक पार्टी अध्यक्ष यादव नै रहेका छन् । संशोधित विधानमा जसपामा एकल अध्यक्षको प्रावधान रहनेछ । हाल दुई जना अध्यक्षको प्रावधान रहेको छ । ‘राष्ट्रपति राष्ट्रिय सहमतिमा नै बनोस् भन्ने पक्षमा जसपा रहेको छ ’ यादवले भने, तर उपराष्ट्रपति जसपालाई दिएर शासकीय संरचनालाई समावेशी बनाउनु पर्छ । फागुन २५ गते हुने राष्ट्रपतिको चुनावको विषयमा पनि बैठकमा छलफल भएको बताउँदै उनले भने, बैठकमा राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिको आधारमा हुनुपर्ने र सोही लाइनमा जसपा पनि जाने विषयमा छलफल भएको छ । ‘सत्ता गठबन्धन दलकै बीचमा राष्ट्रपतिका लागि कुरा मिलेको छैन ’ कार्यकारिणी सदस्य यादवले भने, यस अवस्थामा दलहरुको बीचमा सहमति बनाएर जाने अवस्था रहेको कुरा छलफलमा उठ्यो । जसपाले उपराष्ट्रपतिको दाबी नछाड्ने पनि उनले बताए ।

प्रधानमन्त्री प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष यादव सहमतीय राष्ट्रपतिको पक्षमा छन् । कार्यकारिणी समितिको बैठकमा चुनावमा पार्टीभित्र भएको अन्तर्घातको विषयमा भइरहेको छानविन प्रतिवेदन चाँडै पेश गर्नुपर्ने विषयमा छलफल भएको छ । पालिका, प्रदेश र क्षेत्र स्तरमा छानबिन समितिले अझै काम गरिरहेको भए पनि केन्द्रीय स्तरका नेताहरुको छानबिनका लागि गठित केन्द्रीय समितिले प्रतिवेदन बुझाइसकेको छैन् । चुनावपछि कमजोर देखिएको क्षेत्रमा जसपाका अध्यक्ष यादव स्वयं नै अगुवा कार्यकर्ता भेलाहरुमा सहभागी हुने भएका छन् । पार्टी कार्यालयका अनुसार अध्यक्ष यादव धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ मा हुने भेलामा फागुन १३ गते सहभागी हुने छन् । त्यसका लागि उनी ११ गते नै धनुषा जाने कार्यक्रम रहेकोछ ।

Comment

Related News