राष्ट्रपतिको चुनावसंग सत्तागठबन्धनको भविष्य जोडिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समिकरण जन्मँदै राष्ट्रपति नेकपा एमालेको हुने भनेर लेखिएको बताएका छन् ।
तर माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति खोजिने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकार सितको संक्षिप्त संवादमा ओलीले भने, ‘राष्ट्रपति को हुने भनेर पहिला नै तय छ । अहिलेको समिकरण जन्मँदै त्यसको जन्मकुण्डलीमै लेखेर आएको छ उति बेलै ।’ एमालेका नेताहरुले प्रचण्डले नै एमालेको राष्ट्रपति हुने प्रस्ताव गरेको दाबी गरिरहेका छन् ।
माओवादीका नेता जनार्दन शर्माले त सहमति भएको थाहा छैन भन्नु भएको छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष ओलीले भने, ‘सबैसँग त कहाँ सहमति हुन्छ र माओवादी कार्यकर्ता सबैसँग सहमति गर्दै हिँडेर हुन्छ त ?’ राष्ट्रपतिमा सबैको सहमति हुनु पर्छ भन्ने आवाज पनि उठेको छ नि भन्ने पत्रकारको अर्को प्रश्नको जवाफमा उनले भने, ‘सही कुरा हो, हामीले उम्मेदवार उठाउँछौं, सबैको सहमति हुनुपर्छ ।’ अहिलेको समिकरण सोच विचार गरेर नै बनाएको भन्दै ओलीले एमालेले उठाउने राष्ट्रपतिको उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले समर्थन गर्ने विश्वास व्यक्त गरे । एमालेले उठाउने उम्मेदवारको नाम आफूले १३ गते सार्वजनिक गर्ने उनले बताए । नयाँ राष्ट्रपतिको उम्मेदवारी मनोनयनका लागि १३ गतेको समय तोकिएको छ । तर राष्ट्रपतिमा माओवादीको समर्थन प्राप्त हुनेमा एमालेका अधिकांश नेताहरु सशंकित देखिएका छन् । माओवादी केन्द्रका नेताहरुले राष्ट्रिय सहमतिमा राष्ट्रपति चुनिनुपर्ने बताउँदै आएका छन् । सभामुख पाएका एमालेलाई राष्ट्रपति समेत दिए प्रधानमन्त्री प्रचण्डलाई काम गर्न अप्ठ्यारो हुने माओवादी नेताहरुको विश्वास छ । माओवादी केन्द्रकै भाषा सत्ता बाहिर रहेका नेकपा एकिकृत समाजवादी (एस) का नेताहरुले पनि बोल्न थालेका छन् ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सत्ताधारी गठन्धन कुन दिन भत्किन्छ टुंगो नभएको बताएका छन् । ‘राष्ट्रपतिको चुनावबाट सत्ता गठबन्धनको भविष्य टुङ्गो लाग्ने छ ’ उनले भने, राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार मनोनयन गर्ने समय नजिकिएकोले अबको एक साताभित्र गठबन्धनको भविष्य प्रष्ट हुने छ । ‘गठबन्धनमा संविधान विरोधीदेखि संविधानका पक्षधर सबैखाले शक्ति रहेका छन्’ नेपालले भने, त्यसकारण गठबन्धन लामो टिक्ने छैन् । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका नेकपा एस सरकारमा सहभागी छैन् । एमालेलाई गठबन्धनबाट हटाउन नेपाल लगायत जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादव लागिपरेका छन् । नेपाली कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गरी उपराष्ट्रपति लिने जसपाको अडान छ ।
त्यसमा अन्य दलहरुको सहमति पनि देखिएको छ । तर एमालेसितको गठबन्धनमा उपराष्ट्रपति पाउने संभावना भएकाले माओवादीले राष्ट्रपतिमा सत्तागठबन्धनकै पक्षमा उभिन सक्ने देखिएको बताइन्छ । एमाले अध्यक्ष ओलीले सञ्चारकर्मीहरुसितको संवादमा माओवादीसितको गठबन्धन राष्ट्रपति चुनावमा नभत्किने दावी गरेपनि उनी विश्वस्त भने देखिएको थिएनन् । राष्ट्रपतिमा माओवादीको साथ पाउने निश्चित भए एमालेको एउटा उम्मेदवार र सो निश्चित नभए एमालेले अर्को उम्मेदवार उठाउने भएको छ ।