
जनकपुरधाम साहित्य महोत्सवको चौथौं संस्करण सुरु हुने भएको छ । यहि फागुन ११ गतेदेखि तीन दिवसीय ‘जनकपुर साहित्य महोत्सव–२०२३’ हुन लागेको छ ।
नवमिथिला फाउण्डेशनको आयोजना र फ्याक्ट्स नेपालको प्रमुख प्रायोजनमा यहि साताको बिहीबारदेखि हुन लागेको महोत्सवमा २० वटा विषयमा बहश हुने आयोजक संस्थाको उपाध्यक्ष आदित्य नेपालले जानकारी दिए । उनका अनुसार ०७६ सालदेखि प्रत्येक वर्ष आयोजना हुँदै आएको महोत्सवमा यस वर्ष साहित्य, संगीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीतिसम्बन्धी विभिन्न २० वटा विषयमा समूहगत छलफल हुनेछन् । जनकपुरधाम साहित्य महोत्सवमा विद्यार्थी, राजनीतिज्ञ, कलाकार, संगीतकार, लेखक लगायतको सहभागिता रहने उनले जानकारी दिए । साहित्य महोत्सवको उद्घाटन सत्र फागुन ११ गते दिउँसो अढाइ बजेदेखि जानकीमन्दिर परिसरमा हुने कार्यक्रमको संयोजक प्रियंका झाले बताइन् । कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपालका पूर्व राष्ट्रपति रामबरण यादव र विशेष अतिथी मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव रहने उनले जानकारी दिइन् ।
त्यसैगरि, प्रबुद्ध मन्तव्य राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ र डा. विजयकुमार सिंह (दनुवार) ले दिने आयोजक संस्थाको तयारी छ । साहित्यिक क्षेत्रको प्रवद्र्धधन गर्ने उद्देश्यका साथ आयोजना हुँदै आएको महोत्सवमा देशभरिका ख्याति प्राप्त स्रष्टाहरूको सहभागिता रहने छन् । महोत्सवमा ’समावेशिता ः परिकल्पना र अभ्यास’, ’अपन समाजके घुइरक तकलापर’, ’घेघ बनल घोघ’, ’युवा ः संस्कार र परिष्कार’, ’शहीद दिलिप महतोके मोन पाडैत’, ’सञ्जालको बवाल’, ’राजनीति ः अभियान आ अवसर’, ’सम्झनामा प्रदीप दाई’, ’हामीले गुमाएको खेलकुद’ र विभिन्न अन्य विधालाई समेट्दै २० भन्दा बढि सत्रहरू राखिएको छ । उद्घाटन समारोहका दिन ‘ अमित झा साहित्य संगीत पुरस्कार’ वितरण गर्नुका साथै अन्तरविद्यालय वक्तृत्व प्रतियोगिताको निर्णायक प्रतिस्पर्धा र संगीत सन्ध्यामा (कुटुम्ब र मिनाप) को सांगीतिक प्रस्तुती हुने जनाइएको छ ।
किताबको लोकार्पणदेखि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुती पनि महोत्सवमा समेटिएको छ भने महोत्सवको अन्तिम दिन फागुन १३ गते भारतका चर्चित गायिका मैथिली ठाकुरले पनि साङ्गितिक प्रस्तुति दिने भएकी छन् ।