
मिथिला परिक्रमा जनकपुरधामको हनुमानगढीबाट भारतको कल्याणेश्वर (कलना) का लागि प्रस्थान गरेको छ ।
सोमबार धनुषाको मिथिला बिहारी कुट्टीबाट आएका भगवान मिथिलाबिहारीको डोलासहित श्रद्धालुहरु हनुमानगढीमा जम्मा भएका थिए । मंगलबार विहान हनुमानगढीबाट डोला निस्किएसँगै १५ दिने १ सय २८ किलोमिटरको लामो परिक्रमा यात्रा प्रारम्भ हुनेछ । सोमबार कचुरीस्थित मिथिला बिहारीको डोला यात्रालाई शुभारम्भ गर्न मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव कचुरी पुगेका थिए । मुख्यमन्त्री यादवले भगवान मिथिला बिहारीको डोला काँधमा बोकेर माध्यमिकी परिक्रमाको शुभारम्भ गरेका थिए । धार्मिक ग्रन्थहरुका अनुसार विगतमा वृहत्त मिथिला क्षेत्रको परिक्रमा हुने गरेको थियो । त्यसको लम्बाई ८४ कोस अर्थात २ सय ५२ किलोमिटर थियो । परिक्रमाको क्षेत्र पूर्वमा कोशी, दक्षिणमा गंगा, पश्चिममा गण्डक नदी र उत्तरमा हिमालय क्षेत्रको वृहत्त परिक्रमा गरिन्थ्यो । तर त्यो अव्यवस्थित र डरलाग्दो थियो । तर, सिद्ध सन्त मौनी बाबाले परिक्रमालाई व्यवस्थित बनाउन १५ दिने मिथिला परिक्रमा शुरु गरेका थिए ।
नेपालकै सबैभन्दा लामो १५ दिने परिक्रमाका क्रममा श्रद्धालु नेपाल र भारतका विभिन्न १५ धार्मिक स्थानमा पुग्ने गर्छन् । परिक्रमा मार्गमा रहेका सम्पूर्ण तीर्थस्थलहरु रामायणकालीन रहेका छन् । श्रद्धालुले नेपालका धार्मिक तथा ऐतिहासिक स्थलहरूको १ सय ७ र भारतको २१ गरी १ सय २८ किलोमिटर भू–भागको परिक्रमा गर्छन् । परिक्रमा यही फागुन ८ गते हनुमानगढीबाट ९ गते भारतको कल्याणेश्वर का लागि प्रस्थान गर्नेछ । परिक्रमा १० गते गिरिजास्थान, ११ गते महोत्तरीका मटिहानी, १२ गते जलेश्वर, १३ गते मडई, १४ गते ध्रुवकुण्ड, १५ गते कञ्चनवन, १६ गते धनुषाको पर्वता, १७ गते धनुषाधाम, १८ गते सतोखर र १९ गते औरही पुग्ने छन् । त्यसपछि फागुन २० गते भारतको करुणा, २१ गते विशौल पुग्ने छन् । विभिन्न धार्मिकस्थल हुँदै १४ औँ दिनमा परिक्रमा जनकपुरधाम फर्कनेछन् । त्यसपछि एक दिन जनकपुरधाममा विश्राम गरी भोलिपल्ट अन्तरगृह परिक्रमा गरे पछि यात्रा सम्पन्न हुनेछ ।
परिक्रमा सम्पन्न भएर श्रद्धालुहरु घर फर्किएको भोलि पल्ट मिथिला क्षेत्रमा होली पर्व मनाउने चलन छ ।