अपडेट 
२०७९ फाल्गुन ९, मंगलवार ०७:२४

नेपालको वर्तमान सम्विधानले वर्ग, क्षेत्र वा जाति आदि जुनसुकै आधारमा गरिने छुवाछूत र भेदभावलाई दण्डनीय अपराधको श्रेणीमा राखेको छ । आाधुनिक युगमा छूवाछूत र भेदभाव कुनैपनि समाजको निम्ती कलंक र लज्जास्पद स्थिति मानिन्छ । यससम्बन्धमा संयुक्त राष्ट्र महासभाले समेत महासन्धि प्रस्ताव पारित गरिसकेको छ, र अरु देश जस्तै हाम्रो देशलेपनि यस महासन्धिमा हस्ताक्षर समेत गरेको छ ।राजनीतिक दलहरुले, सामाजिक संस्थाहरुले बेलाबेलामा दलित र गैरदलित समुदायहरुको संयुक्त सहभागितामा सहभोजको आयोजन गरेर प्रशंसासमेत पाउने गर्छन् । यति हुँदाहुँदैपनि दलितप्रतिको भेदभाव र छूवाछूतका घटनाहरु निरन्तर भैरहेकै छन् । यसको मूख्य कारक हाम्रो द्वैध चिन्तन, धार्मिक साँस्कृतिक परम्परामा आधारित मनोविज्ञान र सामाजिक संरचना हो । हाम्रो सामाजिक संरचना र चेतनामा सयौँ वर्षदेखि ढुङ्गा झैँ जमेर बसेको जातीय श्रेष्ठता र हीनताको कुविचार र कुचेतना अपेक्षाकृत भत्किन सकेको छैन । यो कुविचार आधुनिक शिक्षा पद्धतिबाट उच्चशिक्षित व्यक्तिहरुमा समेत कायम देखिन्छ । यसै कारण, दलित र निमुखाप्रति गरेको छूवाछूतका व्यवहार गर्ने अभिजात्य वर्गहरुलाई दण्डितगर्नुको साटो मेलमिलाप गराउनेतिर समाजका भरभलादमी र राज्याधिकारी समेत प्रयत्न गरिरहेको पाइन्छ । तराई मधेशमा यस्ता घटनाहरु मिडियामा प्रायः सामान्य खबर बन्ने गर्छ, जसलाई राजनीतिक, सामाजिक र राज्यसत्ताका प्रशासनिक अधिकारीहरुले सहजरुपमा पढछन् र सुन्ने गर्छन् । यो तराई मधेशमा मात्रै होइन, पहाड, हिमाल, वर्णाश्रममा आधारित जहाँसुकैको हिन्दु सामाजिक संरचनामा देखिने नियमित जटिल समस्या हो । यस श्रृंखलामा ताजा उदारहरण ओखलढुङ्गा जिल्लामा शिवरात्रीको दिन सिद्धिचरण नगरपालिकामा शिवमन्दिर प्रवेश गर्न खोज्ने दलित समुदायमाथी त्यसमन्दिरका व्यवस्थापकहरुले गरेका दुव्यवहारको घटना हो । मन्दिर पस्न रोक लगाएपनि त्यहाँ की एक जना शिक्षिका कृष्णकुमारी गजमेर जसरी भएपनि मन्दिरभित्र पस्न सफल भइन, तर व्यवस्थापकहरुले मन्दिरको ढोका थुनेर उनलाई भित्रै दुव्र्यवहार गरेका थिए । यस घटनामा दोषीहरुलाई कार्वाही गर्नुभन्दा सीडियो, नगर प्रमुख, डिएसपी र वडा अध्यक्षले दुई पक्षमा मेलमिलाप नै गराईदिए । अब यस्को विरुद्धमा विभिन्न पक्षले विरोध जनाईरहेका छन् र स्थानिय दलितसमदाय नारा, जुलूस र धर्नामा व्यस्त छ । आधुनिक राजनीतिक चेतना र कानूनी व्यवस्थाको कारण यसप्रकारका विरोध र नारा, जुलूस हुनु स्वाभिक नै हो । तर यस्ले हाम्रो सामाजिक मात्रै होइन, धरातलियस्तरमा राजनीतिक र प्रशासनिक संरचनाभित्र विद्यमान पश्चगामी चेतना उजागर गर्छ । जुन दिन सिद्धिचरण नगरपालिकामा दलितहरुसंग दुव्यवहार गरिँदै थियो, त्यसै दिन राजधानी काठमाँडौमा भारतको पुरी आश्रमका जगदगुरु शंकराचार्य निश्चलानन्द आद्य शंकराचार्यको पुर्ननिर्मित मन्दिरको उद्घाटन गरिरहेका थिए, र नेपाललाई शंकराचार्यको व्यवस्थामा आधारित हिन्दुराष्ट्रको उपदेश दिईरहेका थिए ।

निश्चलानन्द जातीय श्रेष्ठता र हीनतालाई ईश्वरीय व्यवस्थाको रुपमा मान्ने हिन्दु व्यवस्थाका कट्टर पक्षधर छन् । यसरी नै आधुनिक समाजमा मानवीय प्रवृत्तिको रुपमा मानिने प्रेम विवाह, अन्तर्जातीय विवाह तथा विधवा विवाहको कट्टर विरोध गरिएका उनका जड र पश्चगामी चिन्तनयुक्त प्रवचनहरु युट्यूब लगायत सामाजिक सञ्जालमा उपलब्ध छन् । यस सन्दर्भमा प्रसिद्ध भारतीय सामाजिक लोकतन्त्रवादी नेता डा. राममनोहर लोहियोको भनाई सान्दर्भिक छ । उनले भनेका थिए ः ‘कति लाटा छन् यी दलित (शूद्र)हरु ! जुन मन्दिरले शूद्र बनाएको छ, त्यसलाई भत्काउन जानुपर्ने ठाउँमा, त्यसै मन्दिरमा पस्न संघर्ष गरिरहेका छन् ।’ जतिबेला समाज दैवीय कानूनबाट चल्ने गथ्र्यो, त्यतिबेला राजा, महाराजा लगायत शासकहरु र शासन व्यवस्थामा धर्माधिकारी र धर्मगुरु सबैभन्दा माथी र निर्णायक हुनेगथ्र्ये । पोप, मुल्ला, इमाम, र जगद्गुरुहरु विभिन्न धर्मका यस्तै प्रतीकहरु हुन् । युरोपमा क्रिस्चियन पोप र पादरीहरुको प्रचारित भ्रमको विपरीत पृथ्वी लगायतका ग्रहहरुले सूर्यको परिक्रमा गरिरहेको सिद्धान्तको खोजी गरेपछि धार्मिक अदालत (इन्क्वीजिसन)ले उनलाई आजीवन कारावासको सजाय दिएको र त्यही उनको मृत्यु समेत भएको प्रसंङ्ग विश्व प्रसिद्ध छ । यो राज्यसत्ता र समाजमा प्रचलित दैवीय कानूनको विपरीत मानवीयता र विज्ञानको विरोधको त्रासद् प्रसंग हो । युरोपमा, हुन त अझै धार्मिक संकीर्णताहरु छन्, तरपनि त्यहाँ सामन्तवाद र दैवीय कानूनका विरुद्ध भएका अनेकौँ राजनीतिक र सामाजिक क्रान्तिको कारण राज्यसत्तामाथी चर्चको हस्तक्षेप समाप्त भयो र धर्म व्यक्तिगत आस्थाको विषयमा परिणत भयो । फ्रान्सेली क्रान्ति, युरोपेली पुनर्जागरण अभियान (रेनेसाँ), खगोलशास्त्रीय, भौतिकी, गणीत, जीवविज्ञान आदि क्षेत्रमा विज्ञानको नयाँ खोज तथा विज्ञानको खोजीहरुमा आधारित मानवीय दार्शनिक चिन्तन क्रान्तिहरुले सामाजिक मनोविज्ञानमा दैवीयताको स्थानमा मानवलाई केन्द्रमा राख्यो । शान्ति, समानता तथा स्वतन्त्रता जस्ता आधुनिक मानवीय चेतना तिनै फ्रान्सेली क्रान्ति र युरोपेली पुनर्जागणबाट स्थापित मानवीय विचारहरु हुन् । यस्ता विमर्श र प्रतिरोधहरु पूर्वीय परम्परामा नभएको होइन, तर धार्मिक राज्यसत्ताको वर्चस्वमुनि ती सबै उपेक्षित र दबिएका थिए । यी नयाँ चिन्तन र परिवर्तनहरुले विश्वभरिका पारम्परिक दार्शनिक चिन्तन पद्धतिलाईपनि प्रभावित ग¥यो र पुरातनकालदेखी उपेक्षित हुँदैआएका मानवतावादी दार्शनिकहरु पनि सुनिन थाले । विश्व बन्धुत्वको भाव सहितको आधुनिक मानवीयता तथा अनेकौ राजनीतिक क्रान्तिको कारण सत्ताच्युत हुने सामन्तवादी राज्यसत्ता र सामाजिकता मात्र थिएन, धर्माधिकारिकहरुले पनि जनसामान्यको निम्ती भेदभाव, दमन र प्रतिक्रियावादी पश्चगामी चेतना सहितको राज्यसत्ता र सामाजिकता गुमाउनु परेको थियो । त्यसैले मानवीयता र आधुनिक राजनीतिक राज्यसत्ता तथा सामाजिकताका विरुद्ध ती धर्माधिकारी तथा पुरातन र पश्चगामी चेतनाका धार्मिक राज्यका पक्षधरहरुले दुष्प्रयत्न गरि नै रहे, अहिलेपनि जारी नै छ ।यस्ता पश्चगामी र पुरातन चेतनाका राजनीतिक र सामाजिक समुहलाई दक्षिणपन्थी भनिने गरिन्छ । बीसौँ शताब्दीमा आधुनिक राजनीतिक चेतनाबाट लैस सामन्तवादविरोधी, साम्राज्यवादविरोधी, उपनिवेशवादविरोधी विश्वव्यापी लहरबाट दक्षिण एसियापनि अछूतो रहन । त्यसैले यस भूखण्डमापनि राजनीतिक वैचारिक क्रान्तिहरु भए, राज्यसत्ताका स्वरुपहरु फेरिए, लोकतन्त्र, प्रजातन्त्र, समाजवाद, साम्यवाद आदि राजनीतिक वैचारिक प्रवृत्तिहरु विमर्शका विषय बने । यी आधुनिक राजनीतिक विचारहरुको प्रभाव सामाजिक मनोविज्ञानमा पनि प¥यो ।

यसैकारण शताब्दियौँ पुरानो धार्मिक, साँस्कृतिक उत्पीडनमा परेर अस्तित्वको खोजीमा रहेका महिला, दलित, गरिब जस्ता उपेक्षित, उत्पीडित जनसमदायहरुको अस्मिता र अधिकारको विमर्श सामाजिक, राजनैतिक अधिकारका विषय बन्न थाले । बाध्यतावश धामिंक साँस्कृतिकवादीहरुले मन लागेर वा नलागेर धार्मिक सुधारका अभियानहरु सञ्चालन गरे । नयाँ मानवीय चेतना र नयाँ राज्यसत्ताको कानूनी बाध्यतालेपनि हो, धर्ममा समयानुकूल परिवर्तनहरु र व्याख्याहरु गरियो । यद्यपि धार्मिक सामाजिक संरचनाको मूलाधार यथावत राखेर यो सम्भव थिएन, भएन ।सामाजिक संघर्ष, आन्दोलन र विद्रोहको राजनीतिक संघर्षको स्तरमा सामाजिक संरचनामा आंशिक प्रभाव देखिएपनि साँस्कृतिक मनोविज्ञानको स्तरमा यो अपर्याप्त छ । आठौँ शताब्दीमा आद्य शंकराचार्यले वेदमात्र प्रमाण हो भनेर दार्शनिकक्षेत्रमा अद्वैत वेदान्त तथा सामाजिकस्तरमा हिन्दु वर्णाश्रमको पुनरोत्थान गरे । त्यसैले सनातनीभक्तहरु आद्य शंकराचार्यलाई हिन्दु वर्णाश्रमी धार्मिक व्यवस्थाको पुनरोद्धारक र शिवको अंश मान्छन् । उनले शास्त्र र शस्त्र दुबैको बलमा तत्कालीन बौद्ध, जैन र लोकधर्मी प्रकृतिपूजक राज्यहरुलाई हिन्दु वर्णाश्रम स्वीकार्न बाध्य पारे । उनको यस अभियानलाई ईतिहासमा धर्म दिग्विजय अभियानको नाम दिइएको छ । आद्य शंकराचार्यले आफ्नो धार्मिकसत्ता कायम राख्नभारतको चार दिशामा उत्तरमा बद्रिकाश्रमा ज्यातिर्मठ, पश्चिममा द्वारिका शारदामठ, दक्षिणमा श्रृङ्गेरीमठ र पूर्वमा उडिसा जगन्नाथपुरीमा गोबद्र्धनमठ गरि चारवटा मठहरु( पीठ) निर्माण गरेर आफ्ना धार्मिक प्रतिनिधिलाई प्रमुखको रुपमा नियुक्त गरे । मठका प्रमुखहरुलाई जगद्गुरु शंकराचार्य भन्ने गरिन्छ । वर्तमानमा यी मठहरुको प्रत्यक्ष राजनीतिक प्रभाव छैन, तरपनि धार्मिक दण्डसहित राजसी तामझाममा रहने यी जगद्गुरु शंकराचार्यहरुले आद्य शंकराचार्यको अद्वैत वेदान्त र पुनस्र्थापित पुरातन हिन्दू वर्णाश्रमलाई ईश्वरीय व्यवस्थाको रुपमा प्रस्तुत गर्छन् । हाम्रो समाजमा अहिलेपनि धार्मिक अन्धभक्तिको व्यापक प्रभाव छ, त्यसैले सामाजिक राजनीतिमा उनको प्रभाव उल्लेखनीय नै हुनेगर्छ र यसैकारण यी जगद्गुरु शंकराचार्यहरुप्रति शासकहरु समेत श्रद्धानत् मुद्रामा नै देखिने गरेका छन् । धेर थोर निश्चलानन्दको यसपटकको काठमाँडौँ भ्रमणमा पनि यस्तो देखिएकै हो । अब त शंकराचार्यको अतिरिक्तपनि राजनीति प्रभावित अनेकौँ नयाँ धार्मिक सम्प्रदाय र स्वयंभू जगद्गुरु, धर्मगुरुर प्रवचकहरु व्यापकरुपमा देखिएका छन्, जस्ले पुरातन हिन्दू वर्णाश्रमलाई नयाँ किसिमले स्थापित गर्ने प्रयत्न गरिरहेका छन् । सारमा यस नयाँ विस्तारले पुरातन पश्चगामी चेतनालाई झन् बलियो बनाउँदै लगिरहेको छ । वर्तमान युगमा उच्चशिक्षित धर्मभीडू समुदायको एउटा हिस्सापनि छ, जस्ले यस चेतनालाई बौद्धिकरुपमा पस्किरहेको छ । समग्रमा यी गडबडझालाहरुले सामाजिक मनोविज्ञानलाई विकृत पारीरहेको छ । सिद्धिचरण नगरपालिकामा दलितहरुले मन्दिर प्रवेशगर्न खोज्दा यस आधुनिक युगमापनि उनिहरुलाई रोक्न खोज्नु तथा सिडियो लगायतले कार्वाहीको साटो मेलमिलाप गराउन खोज्नु यस्तै विकृत मनोविज्ञानको परिणाम हो । त्यसैले समाजमा विद्यमान छुवाछूत, जातिय भेदभाव र उत्पीडनबाट मुक्तिको निम्ती धर्म, सामाजिक संरचना, सामाजिक मनोविज्ञान आदि समस्त सामुदायिक साँस्कृतिकता बारे नयाँ परिप्रेक्ष्यमा व्यावहारिक विमर्शको आवश्यकता छ ।

दलितप्रतिको उपेक्षाभाव र यस्को विरोध, दुबैस्तरमा सामाजिक उदाहरण अहिले मात्र हो, भन्ने पनि होइन । यस्तो, धार्मिक समुदायभित्र इतिहासमापनि देखिएको हो । जनकपुरमा धार्मिक साँस्कृतिक परम्पराको रुपमा प्रतिवर्ष हुने प्रसिद्ध पन्द्रदिने मिथिला परिक्रमाको इतिहासपनि यस्तै विभेद र विरोधसंग जोडिएको छ । साक्ष्यहरुले सन् १८१४मा यस परिक्रमाको नेतृत्व जनकपुरको सीता कुन्डको वैरागी कुटीले गरेको देखिन्छ । त्यतिबेलाका महन्थ रामदास आचार्यको मृत्युपछि उनका प्रथम शिष्य कुञ्जबिहारी दासले छोरा र श्रीमतिलाई मन्दिरमा राखेपछि अर्का शिष्य लाडली शरणले यस्को विरोध गरे र आफूलाई उत्तराधिकारी दावी गरे । तर उनि शुद्रकुलको भएको हुनाले उनको दावी लागेन र असन्तुष्ट भएर उनि धनुषाको कचुरी कुटीमा गएर बस्न थाले । त्यसवर्षको परिक्रमाको नेतृत्व गर्न सीता कुन्डको कुञ्जबिहारी दास र कचुरी कुटीमा बस्न गएका लाडली शरणको नेतृत्वको गरी दुईवटा डोला देखियो । त्यतिबेला जनकपुरका बाउन्नकुटी भनिने साधु समाज लाडली शरणको मिथिला बिहारीको डोलाको पछाडी लामबद्ध भयो । अहिलेपनि परिक्रमाको आधिकारिक नेतृत्व कचुरीको मिथिलाबिहारीको डोलाले नै गर्नेगर्छ । तर यी सबै सकारात्मक उदाहरणहरु हिन्दु वर्णाश्रमको मूलाधारलाई प्रभावित गर्दैन । त्यसैले सामाजिकस्तरमा दलितमाथीको भेदभावका घटनाहरु, कानून भएरपनि सामान्य हुनेगरेका छन् । वस्तूतः यस अमानवीय परम्परा तथा सामाजिक कलंकबाट मुक्तिको निम्ती कानूनहरुको दृढतापूर्वक पालन गर्नुपर्ने, नगर्ने अधिकारीहरुलाई समेत दण्डित गर्नुपर्ने जस्ता कठोर पाइला चाल्नुपर्ने आवश्यकता त छँदैछ । यसभन्दापनि पुरातन जडतालाई प्रोत्साहित गर्ने तत्वहरुलाई राजनीतिक र सामाजिकस्तरमा उजागर गरेर र आलोचना गरेर सामाजिक विमर्शको माध्यमबाट निरुत्साहित गर्नुपर्छ । दलित समुदायको निम्ती राज्य र सामाजिकस्तरमा दिइएका आर्थिक र राजनीतिक समावेशी सुविधा र समानता कयौँ अर्थमा नाममात्रका छन् । यस अर्थमा बहुआयामिक स्तरमा दलित समुदायलाई समृद्ध र अग्रपंक्तिको बराबर बसाल्न सबैतिरबाट प्रयत्नको आवश्यकता छ । वस्तुतः राजनीतिकस्तरमा मात्र होइन, सामाजिकस्तरमा समेत अधिकारप्राप्त समुदायले दलित समुदायप्रति गरेको ऐतिहासिक शोषण र उत्पीडनको निम्ती अपराधबोध अनुभूत गर्नु आवश्यक छ । अनिमात्र समृद्ध अभिजात्यवर्गले दलित समुदायप्रति समानताको बोध स्वाभाविकरुपमा गर्न सक्छ र उनिहरुको नेतृत्वमा भएको संघर्षलाई जायज ठानेर, त्यसमा सामेल हुन प्रेरित हुनसक्छ । अन्यथाअधिकतम् दलितप्रति सहानुभूति र समर्थन दयाभावमात्र प्रकट गरेको हुनेछ । र, यो पनि अमानवीयताको अर्को नरम रुप हुनेछ । तर यी सबैभन्दा पहिले अहिले दलित समुदायप्रतिको भेदभाव र उत्पीडनमा सामेल जोसुकै भएपनि त्यस विरुद्ध कठोरतापूर्वक राज्य प्रस्तुत हुनु आवश्यक छ । यस्का साथै दलित समुदायप्रति भेदभाव र छुवाछूतको भाव झल्कने सबै चलन र मनोभावको विरुद्ध राज्य उभिनु आवश्यक छ ।

Comment

Related News