
बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदरका कारण रौतहटका उद्योगी–व्यवसायी तथा सर्वसाधारण नागरिक तनावमा परेका छन् ।
बैंकहरुको ब्याजदर एक्कासी अस्वभाविक वृद्धि भएपछि बैंक तथा वित्तीय संस्थाहरुबाट सहुलियत दरमा ऋण लिएकाहरु मर्कामा परेका छन् । बैंकहरुको ब्याजदर ११ प्रतिशतबाट बढेर १८ प्रतिशतसम्म पुगेपछि बैंकको किस्ता तिर्न नसकेर ऋणीहरु समस्यामा परेका छन् । बैंकको ब्याजदर उच्च विन्दुमा पुगेपछि ऋण लिएकाहरु कतिखेर घर घडेरी लिलाम हुन्छ भन्ने चिन्तामा परेका छन् । एका तर्फ देशमा बढेको महँगीको मार खेपिरहेका व्यवसायी तथा आम नागरिकहरु अहिले बढेको बैंकको चर्को ब्याजदरको मार खेप्न बाध्य भएका छन् । यही बेला अत्यासलाग्दो महँगी छ । जनताको दैनिक खर्च भने आकाशिएको छ । तर, ज्याला र पारिश्रमिक बढेको छैन् । अर्कोतर्फ विभिन्न कामका लागि नागरिकले बैंकबाट लिएको कर्जाको ब्याजदर झन–झन महँगो हुँदैछ । यसले ऋणीहरुलाई थप समस्यामा पारेको छ । उपभोग्य वस्तुको मूल्यवृद्धिका कारण चेपुवामा परेका उपभोक्ताकै काँधमा बढ्दो ब्याजदरको भार पनि थपिएको छ । कसैले त्यो आर्थिक बोझ प्रत्यक्ष उठाइरहेका छन् भने कतिपयले उत्पादनको लागतमा भएको वृद्धिले थप मूल्यवृद्धि हुँदा अप्रत्यक्ष रुपमा उपभोक्ताकै रुपमा थप भार खेपिरहेका छन् । देशको अर्थतन्त्र निकै कमजोर भएको तथा महँगी ह्वातै बढेका कारण व्यापार व्यवसाय चौपट भएको अवस्थामा बैंकको ब्याजदर उच्च बिन्दुमा पुगेका कारण बैंकको किस्ता तिर्न नसकेर व्यवसायीहरुलाई यतिखेर बाच्नै मुस्किल भएको नेपाल सुनचाँदी महासंघका मधेश प्रदेश अध्यक्ष रामजी साह सोनारले बताए । उनले भने, ‘कोही ९ प्रतिशतमा त कोही १० र ११ प्रतिशत ब्याजदरमा बैंकबाट कर्जा लिएका छन्, तर अहिले १८ प्रतिशतसम्म ब्याजदर पुगेपछि ऋणीहरुलाई किस्ता तिर्न निकै तनाव भएको छ ।’ बैंकहरुले ९, १० र ११ प्रतिशत ब्याजदरमा कर्जा दिएको भए पनि अहिले १८ प्रतिशतसम्म ब्याज लिने गरेका कारण व्यवसायी तथा सर्वसाधारण नागरिकहरु निकै समस्यामा परेको उनले बताए । ‘व्यापार छैन, सटर भाडा त्यतिकै महँगो छ,’ उनी भन्छन्, ‘भाडा तिर्ने कि बैंकको किस्ता तिर्ने भन्ने अवस्थामा व्यापारी पुगेका छन ।
’ ब्याजदर बढेकै कारण व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आएको समेत उनले बताए । केही वर्ष अघि एक बैंकबाट १०.६५ प्रतिशत ब्याजदरमा गरुडा नगरपालिका–५ का जलन्धर साहले घर बनाउन कर्जा लिए । कर्जा लिएरै भए पनि उनको सपना पूरा त भयो, तर पछिल्लो एक वर्षमा बढेको कर्जाको ब्याजदरले ‘सपनाको घर’ बैंकले लिलाम गरिदिने अवस्था हो कि भन्ने चिन्ताले उनलाई पिरोलिरहेको छ । ‘घर त बन्यो, बैंकले नै फिर्ता लै जाला जस्तो छ,’ उनी भन्छन्, ‘यत्रो महँगो ब्याज कसरी तिर्नु खै ?’ ब्याजदर वृद्धिले स्वरोजगामूलक व्यवसाय गरिरहेका युवा पनि उत्तिकै प्रभावित छन् ।
एक वर्ष अगाडि मात्रै बैंकबाट कर्जा लिएर शिवनगरमा व्यवसाय सुरु गरेका माधवनारायाण नगरपालिकाका शिवजी सिंहले व्यापार पनि घटिरहेका बेला कर्जाको ब्याजदर बढ्दा निन्द्रा नै गायब भएको गुनासो गर्छन् । ‘त्यतिबेलाको आम्दानीलाई हेरेर कर्जा लिएको थिए । ब्याज बढे पनि यति माथि जाला भन्ने सोचेको नै थिएन,’ सिंह भन्छन्, ‘महँगीले केही चिज छोइनसक्नु छ । कमाएको पैसाले परिवार चलाउनै मुस्किल छ, बालबच्चको पढाइ र औषधि उपचार खर्च गर्नै प¥यो । यस्तो अवस्थामा बैंकको किस्ता कसरी तिर्ने ?’ जिल्लाका अधिकांश व्यवसायीको व्यवसाय यतिखेर बढदो ब्याजदरको चपेटामा परेका छन् । अहिले मध्यम र निम्न मध्यम वर्गमा ऋणीलाई नियमित किस्ता तिरेर बल्ल–बल्ल जोडेको सम्पत्ति कसरी जोगाउने भन्ने चिन्ता छ । महँगीले आक्रान्त भएको विपन्न वर्गलाई दैनिक गुजारा चलाउनै सकस छ । आर्थिक मन्दीका कारण उपभोक्ताहरुको क्रय शक्ति समेत घटेको छ । बजारमा भीडभाड छ, तर व्यापार छैन । व्यापारीलाई यतिबेला सबभन्दा बढी तनाव बैंकको ब्याजदरले दिएको छ ।
कतिपय व्यापारीहरु सटर नै बन्द गरेर भनिरहेका छन्, ’व्यापारी चुस्ने गरी ब्याज बढाउने बैंकहरु मुर्दाबाद !’ केही वर्ष कारोना महामारीले थलिएका व्यवसायी अहिले बैंकको बढ्दो ब्याजदरले फेरि थलिएका छन् । व्यवसायीलाई एकातिर व्यापार नचल्नुको पीडा छ भने अर्कोतिर चर्को महंगीमा बैंकको ब्याज र किस्ता तिर्नुको पीर । तर पनि सरकार टुलुटुलु हेरेर मात्र बसेको व्यापारीहरुको गुनासो छ । उद्योगी–व्यवसायीहरुले बढ् दो ब्याजदरको विरोध गर्दै बैंकहरुले अस्वभाविक रुपमा वृद्धि गरेको ब्याजदर घटाउन सरकारसंग माग गरेका छन् । चर्को ब्याजदरका कारण व्यापार व्यवसाय नै धरासायी बनेको भन्दै उनीहरुले ब्याजदर घटाउन माग गरेका छन् । बढ्दो बैंकको ब्याजरको विरोध गर्दै जिल्लाका कतिपय व्यवसायीहरुले बैंकमै धर्ना दिने तयारी समेत गरेको बुझिएको छ ।