
जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समितिमा मधेश प्रदेशका मुख्यमन्त्री (सीएम) सरोजकुमार यादवलाई मनोनित गरिएको छ ।
पार्टी कार्यालयमा दुई दिनसम्म चलेको कार्यकारिणी समितिको बैठकले सीएम सरोजकुमार यादव (बारा) र सुरेन्द्र कुर्मी (पर्सा) लाई राजनीतिक समितिमा, ओमप्रकाश यादव (गुल्जारी) र सोमबहादर नेपाली (कास्की) लाई केन्द्रीय समितिमा र दलबहादुर लावती (पाँचथर) कर्णबहादुर लावती (पाँचथर) र बलराम महतो (धनुषा) लाई संघीय परिषद् सदस्यमा मनोनयन गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जनाएका छन् । सीएम यादव मधेश प्रदेशका सभामुखमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट चुनिएका थिए । प्रदेशको निर्वाचनमा उनी जसपाको टिकट लिएर निर्वाचित भएका हुन् ।
बस्नेतका अनुसार केन्द्रीय सदस्यहरू जोगीलाल यादव र प्रचण्डकुमार पौडेललाई ट्रेड युनियन तथा बौद्धिक पेशाकर्मी महासंघ संयुक्त संयन्त्रको उपप्रमुखको जिम्मेवारी दिइएको छ । बैठकले विधान अधिवेशनका लागि पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा विधान अधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्यहरूमा विजय यादव, सुशीला श्रेष्ठ, लालबहादुर तामाङ, अर्जुन थापा, विद्युत् बज्राचार्य र न्हुच्छेलाल महर्जन रहेका छन् ।
विधान अधिवेशन चैत २७, २८ र २९ गते काठमाण्डुमा गर्ने निर्णय गरेको छ । मूल व्यवस्थापन समितिले आवश्यकता अनुसार उपसमिति बनाउन सक्ने अधिकार दिएको बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । विधान अधिवेशनको स्थान तोकिन बाँकी रहेको कार्यकारिणी समितिका सदस्य विजय यादवले बताए ।