
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले नीजि अस्पतालले व्यवसायीमुखी भन्दा जनसेवामुखी भएर सेवाभावले काम गर्न आग्रह गरेका छन् ।
जनकपुरधाम स्थित मैक्स लाईफ होस्पिटलमा सोमबार पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडले आयोजना गरेको निःशुल्क क्यान्सर परीक्षण शिविरको उद्घाटन गर्दै सभामुख मण्डलले नीजि अस्पतालले समाजका लागि पनि सेवा देखिने गरी काम गर्न आग्रह गरे । उनले समाजमा नीजि क्षेत्रका संस्थाले समाजबाट व्यवसायिक रुपमा लाभ लिइ रहँदा समाजप्रतिको दायित्व बिर्सिदा नकारात्मक विचारको विकास हुनु दुर्भाग्यपूर्ण रहेको बताए । सभामुख मण्डलले भने, ‘अहिले समाजमा होस्पिटल, नीजि बैंक, नीजि विद्यालय, होटेललगायतका संस्थाहरु जथाभावीरुपमा खोलिए पनि समाजमा उनीहरुको लगानी नहुँदा समाजप्रतिको दायित्व भन्दा पनि नाफामूलक व्यवसायीले समाजमा नकारात्मक सोचको विकास भइरहेको छ ।’ उनले ती नीजि संस्थाहरुले समाजप्रतिको उत्तरादायित्वका लागि समाज विकासोन्मुख कार्यहरुमा लगानी लगाउनुपर्ने र सेवाभावले कम मूल्यमा जनतालाई सेवा दिन आग्रह गरे ।
पूर्वाञ्चल क्यान्सर होस्पिटलले जनकपुरधाममा आएर क्यान्सरको रोगीहरु पत्ता लगाउने कार्य सराहनीय रहेको बताउँदै उनले सेवाभावले काम गर्नु समाजप्रति कर्तव्यबोध समेत रहेको बताए । उनले यस्ता निःशुल्क शिविर महिनामा कम्तीमा एकपटक पनि सहर तथा ग्रामीण भेगमा पुगेर अस्पतालले गर्नुपर्ने सुझाव दिए । त्यस्तै, पूर्वाञ्चल क्यान्सर होस्पिटल तथा विएनसि मेडिकल कलेजका निराजन प्रसाईले क्यान्सरको उपचार ९० प्रतिशत सम्भव रहेको बेलामा आफ्नो शरीर जाँच गराई क्यान्सर लगायत रोगहरुबाट बच्न सकिने बताए । उनले तराईमा खास गरी महिलाहरुमा हुने विभिन्न क्यान्सरको उपचार समयमै नहुने गरेकोले उनीहरुको मृत्यु हुने गरेको बताए । शिविरमा ११० जना विरामीको चेकजाँच गरिएको थियो ।
शिविरमा पूर्वाञ्चल क्यान्सर होस्पिटल तथा विएनसी मेडिकल कलेजका निराजन प्रसाई, मैक्स लाईफका मेडिकल डाइरेक्टर कृष्णकुमार साह, पूर्वाञ्चल क्यान्सर होस्पिटलका मेडिकल डाइरेक्टर वीरेन्द्र यादवलगायतका रहेका थिए ।