
मधेश प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले लहान क्याम्पसको भवन निर्माणका लागि विनियोजन गरेको ५० लाख बजेट अलपत्र परेको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले भवन निर्माणको लागि क्याम्पसलाई ५० लाख बजेट भवन निर्माणका लागि रेडबुकमा उल्लेख गरेको छ । तर, निवर्तमान सामाजिक विकास मन्त्री नवल किशोर साहका पुत्र सुमित साहले सो योजनाको कार्यादेश आफ्नो ड्राइभरबाट बुझेपछि निर्माण अलपत्र परेको छ ।
लहान क्याम्पसका निमित प्रमुख संजय चौधरीले सो बजेटको कार्यादेश लिन मन्त्रालयमा पुगेपछि चिठ्ठी सामाजिक विकास मन्त्रीका छोरा सुमितका ड्राइभरले बुझेको जवाफ पाएको बताए । मन्त्रालयबाट सक्कल कापी माँग गर्दा दिन नमिल्ने कर्मचारीहरुको भनाई उल्लेख गर्दै निमित्त प्रमुख चौधरीले भने, ‘यस भन्दा पहिलाका बजेटहरु क्याम्पस सञ्चालक समितिले चलाएको भए पनि यसपटक सुमितले उपभोक्ता समिति बनाउनुपर्ने बताएको र आफ्नो मान्छेहरुलाई राख्नुपर्ने अडान लिएका छन् । ’ निवर्तमान मन्त्री साहका छोराले अधिकांश योजनाहरु आफूखुशी चलाएको र त्यहाँ पनि आफ्नो अनुकूल गर्न चाहेको उनले आरोप लगाए । माघ २९ गते आफूहरुलाई छलफलको लागि बोलाइए पनि कुनै छलफल नभएको र पछि सदन चल्न थालेपछि अहिले सम्म सो बजेट क्याम्पसलाई अझै प्राप्त नभएको चौधरीले बताए । ‘सामाजिक विकास मन्त्रालयको राजविराज स्थित कार्यालयका प्रमुख दुनियालाल यादवले दुबै पक्षलाई बोलाएर छलफल गर्न पहल गरे पनि निवर्तमान मन्त्री साहका पुत्र सुमितले कुनै चासो लिएका छैनन्’ उनले भने, सो बजेट आफूले बनाउने उपभोक्ता समितिबाट नै खर्च हुनुपर्ने उनको अडान छ । क्याम्पसको रकम निवर्तमान मन्त्री साहका छोराले अग्रिम कमिसनको माग गर्दै कार्यादेश रोकेको आरोप एमालेका सभासद राजेन्द्र प्रसाद चौधरीले प्रदेश सभाको बैठकमा लगाएका हुन् । कमिसनकै लागि कार्यादेश रोकिएको उल्लेख गर्दै उनले सम्बन्धित मन्त्रालयले तत्काल कारबाही अगाडि बढाउनुपर्ने माग गरे ।
सामाजिक विकास मन्त्रालयको कतिपय योजनाहरुको अग्रिम कमिसन सम्बन्धित पक्षले नबुझाएको कारण कार्यादेश साहले नै रोकेको आरोप छ । मधेश प्रदेश सामाजिक विकास मन्त्रालयको कारण गन्हाएको आरोप प्रदेश सभाको बैठकमा लाग्ने गरेको छ । रातो किताबमा उल्लेख भएका सबै योजनाको कार्यादेश जारी भइसके पनि सम्बन्धित पक्षको हातमा परेको छैन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयवाट छुट्टयाइएको अधिकांश बजेट सुमितले नै चलाएको विगतमा पनि आरोप लागेको थियो ।
निवर्तमान मन्त्री साह सप्तरी १ बाट प्रतिनिधिसभामा चुनाव लड्ने तयारी गरिरहेकै बेला सुमितले सो मन्त्रालय अन्तरगतका अधिकांश योजनाहरुको कार्यादेश ड्राइभर देखि आफ्ना आसेपासेको नाममा बुझेका छन् । सबैसंग बार्गेनिङ्ग गरिरहेका छन् तर, कुरा नमिलेका कारण सो बजेटहरु कार्यान्वयन हुन ढिला भइरहेको मन्त्रालय स्रोतले जनाए ।