
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मैथिली भाषा सबै जातजातिको भाषा हुन नसकेमा भाषाको मुत्यु हुनसक्ने धारणा व्यक्त गरेका छन् ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा मैथिली विकास कोषको आयोजित मातृभाषामा शिक्षा विषयक अन्तरक्रिया कार्यक्रममा उनले जसरी संस्कृत भाषालाई देवमुनिहरुको भाषा मात्र भनियो र परिणाममा संस्कृत भाषा नै मृत्यु भयो, त्यसरी नै मैथिली सबै जातजातीको भाषा हुन नसके यस भाषाको पनि मुत्यु हुने गम्भीर संकट रहेको बताए । उनले मैथिली भाषा सीमित जातजातिको मात्र भाषा रहेको सन्दर्भ र हल्ला विस्तारिदै गएको बताउँदै मैथिली भाषाका लागि सो कुरा विष जस्तै भएको र सबैको अपनत्व नबढे गम्भीर संकट रहेको प्रष्ट गरे । सभामुख मण्डलले प्रदेशसभामा कुल १२ सांसदले मैथिली भाषामा शपथ लिएको बताउँदै ती सम्पूर्ण सांसदलाई बसाएर योजना पेश गर्न अभियानीहरुलाई आग्रह गरेका छन् ।
कार्यक्रममा भाषाविद् डा.रामअवतार यादवले सन १९५२ फरबरी २१ मा बंगलादेशको ढाका विश्वविद्यालयमा भएको भाषिक आन्दोलनमा पाँचजनाले शहादत दिएपछि मातृभाषा संस्थागत रुपमा अभियान भएको र पछि सोही दिनमा दिवसको रुपमा मनाउन थालिएको बताएका छन् । उनले असंख्यक आमाहरु नै आफू बोल्ने भाषाको बारेमा जानकार नरहेको बताउँदै भाषाप्रतिको अस्पष्टता र आशंकाले संस्कृति र पहिचान नै लोप हुँदै गएको बताए ।
त्यसैगरी, साहित्यकार डा. राजेन्द्र प्रसाद विमलले मैथिली भाषा सधै खुट्टाको बलमा नभइ टाउको बलमा मात्र चल्ने गरेकाले आज संकटमा रहेको भन्दै बालबालिकाहरुको प्राथमिक तहकै शिक्षामा मैथिली पढने वातावरणको निर्माण हुन आवश्यक रहेको बताए । उनले मैथिली भाषा चुनाव अघिको मुख्य एजेन्डा बन्नुपर्ने र भाषाप्रतिको माया रहेको उम्मेदवारलाई मात्र मत दिनुपर्ने बताए ।
त्यस्तै, मधेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति रामभरोस कापडि भ्रमरले स्वयम र प्रतिष्ठानको तर्फबाट मैथिली भाषाको विकास र शब्दकोष निर्माण गर्ने प्रतिबद्वता व्यक्त गरे । उनले मैथिलीलाई मधेशको कामकाजको भाषा बनाउन नसक्नु दुःखद रहेको बताए ।
कार्यक्रममा प्रदेशसभाका सांसद रामसरोज यादव, पूर्व सांसद परमेश्वर साह, जनकपुरधाम उप– महानगरपालिकाका उपमेयर किशोरी साह र साहित्यकारहरु वृषेशचन्द्र लाल, रोशन जनकपुरी, परमेश्वर कापडि, सहितकाले मैथिली भाषालाई सत्ता सरकारको सहारा नरहे पनि समाजले नै जीवन्त राखेको बताउँदै राजनीतिक दल सरकारलाई सचेत गराउन आवयश्यक रहेको बताए ।