अपडेट 
२०७९ फाल्गुन ११, बिहीबार ०७:२५

शिक्षा मानव जातिका लागि नभइ नहुने कुरा रहेछ । यसको जन्म मानव समाज सँगसँगै भएको देखिन्छ । यसरी मानवको अस्तित्व कायम रहुन्जेलसम्म शिक्षा पनि मानवको जीवनसँगै क्रियाशील रहिरहन्छ । यसैले शिक्षालाई सीमित घेराभित्र राख्न सकिँदैन । शिक्षाबारे विभिन्न दार्शनिक, समाजशास्त्री र शिक्षाशास्त्रीहरूले विभिन्न परिवर्तित समय र अवस्था अनुसार विभिन्न रूपबाट परिभाषित गरेका छन् । प्रत्येक व्यक्तिले एउटा अबोध शिशुको रूपमा असहाय अवस्थामा पृथ्वीमा जन्म लिन्छ । त्यस्तो शिशुलाई राम्रो मार्गदर्शन दिइ असल सामाजिक प्राणी बनाउने काम शिक्षाले गर्दछ । संस्कृति तथा सभ्यताको आधार शिक्षा नै हो । सृष्टिको प्रारम्भदेखि वर्तमानसम्म शिक्षाको महत्वलाई पूरै जगतले स्वीकार्दै आएका छन् । आजसम्म यी विद्वानहरूले यतिसम्म आफ्ना परिभाषाले प्रमाणित गरिसकेका छन् कि शिक्षाले नै सर्वाङ्गिण विकास गराउँदछ अर्थात् एउटा मान्छेलाई जे जति विकास हुन्छ सबैमा शिक्षाको सहयोग उतिकै देखिन्छ । यसैलाई हेरेर मानिसहरू शिक्षालाई एउटा जीवनको अभिन्न क्रियाकलापको रूपमा स्वीकार्दै आएका छन् । यस प्रकार समष्टि रूपमा हेर्दा व्यक्ति र समाज दुबैको सर्वाङ्गिण विकासका लागि शिक्षाको आवश्यकता पर्दछ । शिक्षा मानिसको लागि सदैब सहयोगी बनेर सहयोग गरिरहेको हुन्छ । यसैले शिक्षालाई मानव जीवनको गहनाको रूपमा स्वीकार गरेका छन् । शिक्षा विनाको व्यक्ति पशुसरह मानिन्छ । शिक्षाले मानवलाई आदर्श नागरिकको रूपमा तयार गर्दछ । शिक्षा मानव विकासको सर्वोत्तम साधन हो । शिक्षा प्राप्त गरेका मानिस सत्यसंग साक्षात्कार हुन्छ र कर्मठतासँग असत्यको विरूद्धमा लड्न सक्छ । त्यसैले विद्वानहरूका के भनाइ छ भने शिक्षा मानव जीवनलाई सार्थक बनाउँछ । शिक्षा विना समाज र राष्ट्र विकासका कल्पना गर्न सकिँदैन । त्यसैले भागवत गीताको शिक्षा सम्बन्धी सारतत्वलाई हेर्ने हो भने ‘शिक्षा पृथ्वीमा ज्ञानभन्दा शुद्ध चीज अरू कुनै हुँदैन’ । जाँन डेवीले त शिक्षालाई मानिसको जीवन भनेका छन् । शिक्षा जीवनभर निरन्तर चलिरहने प्रक्रिया हो । शिक्षाको उद्देश्यतिर जाँदा मूलतः दुई प्रकारका हुन्छन् । पहिलो साधारण र दोश्रो विशेष रहेका छन् । साधारण उद्देश्य विश्वका प्रत्येक देशका लागि एकै नासका हुन्छन् भने विशिष्ट उद्देश्य देशहरूले आ– आफ्ना राष्ट्रका आवश्यकता अनुसार निर्धारण गरेका हुन्छन् । प्रत्येक देशको आफ्नो राष्ट्रिय, देशप्रेम तथा राष्ट्रभक्ति फरक–फरक हुने हुनाले विशिष्ट उद्देश्यमा यी कुराहरू समाविष्ट भएका हुन्छन् । हाम्रो देश नेपाल पनि आफ्नो संस्कृति, सभ्यता, माँग, तथा आवश्यकता अनुसार शिक्षालाई लागु गर्नु पर्दछ । सही शिक्षाले देशलाई प्रगतितिर बढाइ सबैको रोजगारीको ग्यारेन्टी लिएको हुन्छ भने राष्ट्र अनुसार सही रूपले शिक्षालाई लागु गर्न सकिएन भने विभिन्न गलत प्रवृतिहरू ठाउँ लिन्छन् र देशलाई अधोगतितिर धकेल्ने काम गरेको हुन्छ ।

हाम्रो देशको शैक्षिक जगतलाई नियालेर हेर्दा अहिलेसम्म राष्ट्रिय माँग र आवश्यकता अनुसार शिक्षा लागू गर्न चुकेकै हो । सही शिक्षाको प्रतिफल देखिएको छैन् । देशमा गरिबी, भ्रष्टाचारी, बेरोजगारी, छाडापन, अचेतना, गलत संस्कृति तथा सभ्यता आदिले ठाउँ लिएको देखिन्छ । यी असल शिक्षाका नकारात्मक पक्ष हुन् । आजसम्म हाम्रो देशले सही बाटोमा नआउनु भनेको कारणतिर हेर्दा सुहाउँदो शिक्षाको जहिले पनि अभाव देखियो । विश्वका कुनै पनि देशमा शिक्षा जगतमा भएको यति बढी उथल पुथल कहि भएको देखिदैन । यसलाई शिक्षाविद्हरूका बीचबाट छलफल गराइ एउटा ठोस नीतिको आवश्यकता देखिन्छ । देशले अनुदान दिँदैमा उसको अनुकूल शिक्षामा परिवर्तन गर्नु भनेको त्यहीबाट हामी बाटो बिराएको कुरालाई बिर्सनु हुँदैन । हाम्रो देशको शिक्षा इतिहासतिर फर्केर हेर्दा यसको थालनी अनौपचारिक शिक्षा प्रणालीबाट शुरू भएको हो । यस क्रममा पिताले आफ्ना पेशागत काम छोरालाई र आमाले छोरीलाई सिकाउने प्रक्रियाको थालनी भएको थियो । नेपालको प्राचीन कालमा ब्राह्मणलाई बौद्धिकसंहिता, धर्मशास्त्र र शस्त्रज्ञान जस्ता शिक्षा दिने चलन थियो । यस्तो शिक्षाका शिक्षालयहरूमा गुरुआश्रम, मठ, मन्दिर, बौद्धगुम्बा रहेका थिए । ऐतिहासिक रेकर्डलाई आधार मानेर हेर्दा लिच्छवीकालीन शिक्षा, कला, संस्कृतमा आधारित थियो भने मल्लकालीन शिक्षा जातजातिको विभाजन गरी आ–आफ्ना व्यवसायमा आधारित थियो । मल्लकालीन शिक्षा बौद्ध शिक्षामा आधारित थियो । नेपालको एकीकृत पूर्व संस्कृत शिक्षाको विकास भएको थियो । त्यसबेला काठमाण्डौ, पाटन, भक्तपुर लगायत बाइसे चौविसे राज्यहरू डोटी, जुम्ला, पाल्पा, तनहुँ, कास्की र तराईका महोत्तरी र धनुषामा संस्कृत स्कूल (पाठशाला) हरू चलेका थिए । यस अवधिमा खास गरि हिन्दू धर्मावलम्बीहरू आर्यवंशका पक्षधर संस्कृत शिक्षामा लागेका थिए भने बौद्धहरू बौद्धशिक्षामा लागेका देखिन्थे । गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाललाई एकीकृत राज्य निर्माण गरेपछि खासै शिक्षाको विकास भएको पाइँदैन । यस पछि तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणा बेलायतबाट फर्केपछि अंग्रजी शिक्षाबाट प्रभावित भइ १९१० सालमा आफ्ना भाइभारदारका छोराछोरीका लागि खोलेका प्राथमिक विद्यालय नेपाली इतिहासमा पहिलो अंग्रेजी प्राथमिक औपचारिक विद्यालयका रूपमा बुझेका छन् । यसै विद्यालयलाई १९४८ सालमा वीर शम्शेरले भवन बनाइ दरबार स्कूलका नामबाट रानी पोखरीको पश्चिमडीलमा स्थापित गराए । यसै गरी १९२७ सालमा जंगबहादुरकै पालामा खोलिएको नारायणहिटी संस्कृत पाठशाला नेपालको पहिलो संस्कृत पाठशाला मानिन्छ । यस पछि विद्यालयको संख्या बढ्दै आए र १९५८ सालसम्म विद्यालयको संख्या १५० पुग्न गयो । यसरी शिक्षाको क्रमिक रूपमा विकास हुँदै राणा प्रधानमन्त्री चन्द्र शम्शेरका पालामा उच्च शैक्षिक संस्थाको रूपमा त्रिचन्द्र कलेज स्थापित भयो । नेपालमा २००७ सालमा प्रजातन्त्रको उदय पश्चात् शिक्षामा एउटा नवक्रान्ति आएको देखिन्छ । प्रत्येक क्षेत्रहरूमा निकै संख्यामा विद्यालयहरूको स्थापना भयो । यस्तै उच्च शिक्षातिर पनि विभिन्न क्षेत्रहरूमा कलेजहरू खोलिए । २०१६ सालमा त्रिविको स्थापना गरी सबै उच्च शैक्षिक संस्थाहरूलाई त्रिविबाट नै संचालित हुने गरी नियम कानुन बनाइए । अहिलेसम्म आइपुग्दा विभिन्न विश्वविद्यालयहरू स्थापित भैसकेका छन् । जसले विज्ञान, चिकित्सा, कृषि, वन, लगायत विभिन्न किसिमका प्राविधिक शिक्षालाई समेत समेटेर व्यवस्थापन गरेका छन् ।

शुरूमा संचालित विज्ञान, मानविकी, व्यवस्थापनलाई समय अनुसार परिमार्जन गरी संचालन गरेका छन् । अहिले नेपालको कुनै यस्ता वडा छैन जहाँ शैक्षिक संस्था स्थापित भएको छैन । यसरी शिक्षामा जे जस्तो विकास आएको भए पनि राणाकाल, प्रजातान्त्रिककाल तथा गणतान्त्रिककालसम्म आउँदा शिक्षामा क्रमशः प्रगति भएको देखिए पनि राज्यले चाहेको शिक्षा सरकारले दिएको देखिँदैन । आजभन्दा ५०–६० वर्ष पहिलेको शिक्षामा देखिएका गुणस्तरीयतालाई हेर्दा वर्तमान शिक्षामा रहेको पार्इंदैन । हुनत त्यस बेलाका शिक्षकहरू शैक्षिक प्रमाणपत्रमा कमजोर देखिए पनि उनीसँग गुणस्तरीयता थियो । आजको शिक्षकहरू शैक्षिक प्रमाणपत्रमा उच्च देखिए पनि गुणस्तरीयतामा कमजोर देखिन्छ । शिक्षामा गहिरो रूपले समय र राष्ट्रको माँगलाई सधैं उपेक्षा गरेको देखिन्छ । शिक्षामा यसबारे कहिले पनि गहिराइ रूपले चिन्तन मनन् भएको देखिँदैन । नेपाल कृषि प्रधान देश भए पनि कृषिको हाल बेहाल छ । अन्नको उत्पादन जनसंख्याको अनुपातमा सालसालै घट्दै गएको छ । नेपालको मूल सम्पदाको रूपमा रहेका हरियो वन अहिले लगभग सकिसकेको छ । नदी नालाको अवस्था दिन प्रतिदिन खस्ँिकदै गएको छ । बन्य जन्तुहरू दिनप्रतिदिन बिलुप्त अवस्थामा देखिन्छ । राजनीतिमा स्थिरता छैन । राजतन्त्र, कुलिनतन्त्र (राणातन्त्र), प्रजातन्त्र हुँदै अहिले गणतन्त्रसम्म आइपुग्दा पनि राजनीतिक प्रणालीमा स्थिरता आएको देखिँदैन । यसबाट देशले सोझो रूपमा निकै ठूलो नोक्सानी बेहोर्नु परेको देखिन्छ । देश बचाउने खालका त्यागी राजनेताहरूको अभाव छ । अहिले पनि देशहरू सोझै रूपमा यहाँ आफ्ना स्वार्थलाई पूरा गर्न खोजेका छन् । यी गणतन्त्रपक्षीय नेताहरू पनि राष्ट्रिय सम्पत्तिलाई आफ्नै सम्पत्ति सम्झेर देश–विदेशमा खर्च गरिरहेका छन् । शिक्षा, स्वास्थ्य, सुरक्षा, खानेपानी जस्ता आधारभूत कुराहरू मानिसको नैसर्गिक अधिकार हो । यस्तो कुराहरूलाई पूरा गर्नु सरकारको पहिलो दायित्व हो । यस्ता कुराहरूमा समानता हुनु पर्दछ । तर दुर्भाग्य यी आधारभूत कुराहरूमा कहिले पनि समानता भएको देखिँदैन । खासगरि शिक्षा यी सबैमध्ये मूल कुरो रहेछ । शिक्षामा भेदभाव हुनु भनेको देशलाई अधोगतितिर धकेल्नु हो । नेपालमा मूल रूपले शिक्षालाई धनी र गरिबका लागि बेग्ला बेग्लै रूपमा बाँटेर शिक्षा दिइरहेका छन् । खासगरी धनीवर्गका लागि अंग्रेजी बोर्डिग स्कूल र गरिब तथा निसहायका लागि सामुदायिक विद्यालय रहेका छन् । गाउँमा अलिकति पनि आर्थिक रूपले प्रगति गरेपछि तुरन्त शहरतिर पलायन भएका परिवारहरू आफ् ना छोरा छोरीलाई निजी बोर्डिग स्कूलहरूमा पठाउने गर्छन् । यता गाउँमा अति विपन्न, दलित, पिछडावर्ग तथा गाउँका असहाय परिवारका छोराछोरीहरू गाउँ स्कूलहरूमा पढ्ने गर्छन । आवासीय विद्यालयहरूबाट उत्पादन भएका विद्यार्थी र सामुदायिक विद्यालयहरूमा कहिले पनि एकरूपता रहन सक्दैन । यसको असर सोझो रूपमा सरकारको सबै क्षेत्रलाई प्रभावित गरेका हुन्छन् । देशले माँग गरेका जनशक्ति उत्पादन नगरेकाले अन्नको भण्डार मानिने तराई प्रदेशका बासिन्दा पनि अन्न बाहिरबाट आयात गर्नु कति लाज लाग्दो कुरा रहेछ । वर्षाको मूल स्रोत रहेको चुरे श्रृंखला अहिले नांगो अवस्थामा आइसकेको छ । नेपाल पानीमा ब्राजिल पछिको दोश्रो देश भए पनि नदी, नाला, पोखरी, तलाउ, कुण्ड जस्ता जलाशयहरूको अवस्था दिनप्रतिदिन बिग्रिदै गएको देखिन्छ । बनजंगल सखाप भएपछि त्यसमा रहेका महुमूल्य जडीबुटी, काठपात, बन्यजन्तु, चराचुरंगी सबै बिलीन अवस्थामा आइसकेका छन् ।

हाम्रो देश विश्वलाई दिने निर्देस÷उपदेस आज हामी अरूदेशसँग प्रभाबित भएर के गरेका छन्, विचारणीय पक्ष रहेको छ । राष्ट्र अनुकूल शिक्षा भएको भए यस्ता कुरालाई जोगाउने जनशक्ति उत्पादन हुने थिए । आफ्ना वातावरणलाई बुझ्ने खालका बैज्ञानिक हुन्थे । प्राचीन कालदेखि मध्यकालसम्म नेपाल आफ्नै खुट्टामा आश्रित थिए तर वर्तमान कालसम्म आउँदा हामी पूर्णरुपेण अरूमाथि आश्रित बन्न बाध्य भएका छौं । यो कसको देन हो त ! यदि देश, काल अनुसार शैक्षिक उत्पादन भएको भए यस्तो अवस्था आउने नै थिएन । अहिले देशका युवाहरू आफ्ना श्रमलाई विदेशमा बेच्न बाध्य भएका छन् । के यस्तो कामलाई रोक्ने जिम्मेवारी राष्ट्रलाई छैन त ! सरकारको दायित्व के हो ? जनतालाई आधारभूत कुराहरू पूर्ति गर्न सकिएन भने यस्तो सरकार लिएर के गर्ने ? त्यसर्थ अब पनि देश चलाउने नेतृत्ववर्गमा चेतना आओस् र असमान शिक्षालाई समानतामा ल्याउन एकै किसिमको शिक्षा देशमा बहाल गरियोस् । जनताका छोरा छोरीलाई शिक्षामा भेदभाव नगरियोस् । यदि यसलाई रोक्न सकिएन भने निकट भविष्यमा यसको परिणाम निकै भयावह हुनेमा कसैको पनि दुईमत हुन सक्दैन । अस्तु ।

Comment


Related News

Latest News

Trending News